बरफ भनेपछि रमेश हुरूक्कै हुन्थ्यो।
तराईमा चैत महिनाको उखरमाउलो गर्मी खप्न भर्खरै पहाडबाट झरेको ठिटोलाई हम्मे-हम्मे परेको थियो।
पाँचथरबाट झापा झर्दा उसलाई तराईमा गर्मी र लामखुट्टेले यसरी सताउला भन्ने कल्पनासम्म थिएन।
ऊ लामखुट्टेसँग अभ्यस्त हुँदै गयो। गर्मी पचाउन भने उसलाई हम्मेहम्मे परेको थियो। असाध्यै गर्मी भएको बेला बरफ चुस्न पाए ऊ मख्ख पर्थ्यो।
तर, चार आनाको बरफ पनि उसका लागि महँगो हुन्थ्यो।
पहाडमा झोसिएको विद्रोहको आगोमा रमेशको गाउँ पनि अछुतो रहेन। एकरात अनुहारमा मुखुण्डो लगाएका विद्रोहीहरू रमेशको घरमा आए र उनीहरूको विद्रोहमा रमेशलाई सामेल गराईदिन धम्कीपूर्ण आग्रह गरेर गए। रमेशका बाले आफूलाई सोच्न एक-दुई दिनको समय मागे र त्यसको भोलिपल्टै सबै अचल सम्पत्ति छोडेर तराई झरेका थिए।
रमेशका बा सानो हुँदा पनि देशमा विद्रोह भएको थियो रे। व्यवस्था बदल्ने नारा लिएर हिँडेकाहरूले भन्थे रे ‘हामीले सोचेको शासन प्रणाली देशमा आएपछि जनताको जीवनमा आमूल परिवर्तन आउने छ।’
पहाडका कुना काप्चामा बाटो पुग्नेछ, घरघरमा पानीका धारा हुनेछन्। विभेदको खाल्डो कम हुनेछ। रमेशका बाले आफ्नो समयमा पनि क्रान्ति देखे। क्रान्तिका बाछिटाले निर्दोषहरूको ज्यान त्यो बेला पनि लिएको थियो। रमेशका हजुरबा भन्थे क्रान्तिका नाम भैंसी-बाख्राका थुनमात्र काटिएन, निर्दोष मानिसहरू पनि मारिए।
देशले कालान्तरमा परिवर्तन देख्यो। तर, देशमा आएको परिवर्तन रमेशका बाको गाउँसम्म कहिल्यै पुगेन।
रमेशले आफ्नो समयमा पनि विद्रोह भएको देख्यो, विद्रोहमा निर्दोष मानिसहरू हताहती भएको देख्यो।
तराई झरेपछि रमेशका बा-आमाले शून्यबाट सुरू गरे। शून्यबाट सुरू गर्नुपर्ने भएपछि चार आना पनि महँगो हुँदोरहेछ।
रमेशका बाले आफ्नो स्वच्छ आर्थिक अनुशासन, तराईमा भएका आफन्तको दर्बिलो साथ लिएर तराईमा सानो धर्तीको टुक्रो जोडे, छाप्रो हाले। रमेशका बा र आमाले सायदै आराम गरे। बा-आमा, दुई दाजुभाइ र तीन दिदीबहिनीसहित सात जनाको परिवार नयाँ ठाउँमा टिकेर खानु सजिलो थिएन।
एकदिन ख्याल-ख्यालमा रमेशले आफ्ना बालाई सोधेको थियो, 'बा यति धेरै सन्तान किन जन्माएको?'
बाले फिस्स हाँस्दै भनेका थिएँ, 'तँ गधालाई पर्खेर बसेको नि। मर्दा मेरो लासलाई दुई तिरबाट काँध हाल्न अरूका छोरा आउन नपरोस् भनेर।'
रमेशकी आमाले पनि थपिन्, 'पशुपतिमा गएर भाकल गरेपछि मात्र तँ जन्मेको होस्। मैले पशुपतिका प्रत्येक ढुंगामा टाउको राखेर तँलाई मागेकी हुँ।'
सानो हुँदा रमेशलाई बा-आमाको कुरामा कहिल्यै विश्वास भएन। ठूलो भएपछि मात्र उसलाई लाग्यो बा-आमाले ठट्टा गरेका थिएनन्।
अहिले पनि छोराको मोहले परिवारमा गहिरो जरा गाडेको छ। बीसौं वर्ष पहिले रमेशका बा-आमाले छोराको मोह गर्नु अचम्मको कुरै थिएन।
हड्डी घोटेर रमेशका बा-आमाले सबैलाई पढाए। सबैले आ-आफ्नो क्षमता अनुसार शैक्षिक उन्नयन गरे। रमेशले पनि रसायन शास्त्रमा स्नातकोत्तर गर्यो। देशमा द्वन्द्व चलिरहेकै थियो। युवा-युवतीहरू गाउँमा जानु दोहोरो मारमा पर्नु हुन्थ्यो।
कहिले विद्रोहीहरू आएर आफ्नो पक्षमा लड्न धम्कीपूर्ण आग्रह गर्थे। कहिले सेना पुलिस आएर दुश्मन पक्षको लडाकूलाई झैं व्यवहार गर्थे।
एकदिन सेनाको हुल रमेशको घर छिर्यो। सिपाहीले रमेशका बालाई यसरी केरकार गर्यो मानौं उसको परिवार राज्यविरूद्ध लडेको छ। सेनाले बाको उमेर ख्यालै नगरी अभद्र शैलीमा प्रस्तुत भएको थियो।
आत्मसम्मानको ख्याल गर्ने रमेशका बा सेनाको शैलीले उत्तेजित भए। उनले सेनालाई नै प्रतिप्रश्न गरे, 'भाइ तिमी अहिले कहाँ छौ? तिम्रा बा-आमा कहाँ छन्? के तिमी आफ्ना बा-आमासँग यसरी नै कुरा गर्छौ?'
त्यो दिन रमेशका बाको कञ्चटमा गोली लाग्न सक्थ्यो। छेउमा भएको मेजरले स्थिति नियन्त्रणमा लिँदै भन्यो, 'बुवा माफ गर्नुहोला हाम्रो उद्देश्य हजुरलाई अपमानित गर्ने हुँदै होइन। हामी तपाईंहरूकै सेवामा खटिएका छौं। हामी चाहन्छौं हजुरको परिवार राज्यविरूद्ध नजाओस्। हजुरका छोराहरू आंतककारीको मतियार नहुन्।'
'तपाईंहरू नोकरीमा भएजस्तै हाम्रा छोरा-छोरीहरू पनि नोकरीमा छन्। उनी काठमाडौँतिरै बस्छन्, कोही सरकारी सेवामा छन्, कोही कलेज पढाउँछन्। तपाईंहरूका आँखाले सबैलाई आतंककारी ठान्नुभएन।'
रमेशका बाले कुन आँटले जवाफ दिए थाहा भएन तर त्यो दिन उनी सेनाको निशानाबाट बाँचे। खुसीको कुरा त्यो दिन बाट सेनाको टुकुडीले रमेशका बा-आमाको आँगन टेकेन।
सेना आँगनबाट फर्किएलगत्तै रमेशका बालाई लाग्यो बढेका छोराछोरी गाउँघर आउनु सुरक्षित छैन।
गाउँमा द्वन्द्वसँगै विदेशिनेको संख्या दिनदिनै बढ्न थालेको थियो। धेरैजसो खाडीतिर लागे। केही पश्चिमा मुलुकतिर लागे। अमेरिका जानेहरू या त अमेरिकाको आप्रवासी चिठ्ठामार्फत् जान्थे या त उच्च शिक्षा हासिल गर्न आफ्नै खर्चमा वा छात्रवृत्तिमार्फत जान्थे।
विज्ञान विषयमा स्नातकोत्तर गरेकाहरू छात्रवृत्तिमार्फत अमेरिका जान पाउने कुरा औपचारिक शिक्षा नलिएका रमेशका बालाई पनि थाहा थियो।
बालाई अमेरिका जान आवेदन दिनुअघि टोफेलमा राम्रो अंक ल्याउनु पर्छसम्म थाहा थियो। यो कुरा उनले आफ्नै गाउँबाट अमेरिका गएको छिमेकीको छोराबाट थाहा पाएका थिए।
बालाई पनि लाग्यो मेरो केटो अमेरिका जाओस् र उच्च शिक्षा हासिल गरोस्। पढ्न सकेन भने पनि यो द्वन्द्वबाट चाहिँ भागोस्।
रमेशमाथि परिवारबाटै देश छोड्न दबाब आउन थाल्यो। रमेश चाहन्थ्यो देशमै बसौं, केही गरौं।
परिवारको दबाब, राजनीतिक द्वन्द्व र साथी समूहको दबाबले रमेशलाई अछुतो राखेन। अन्तत: उसले अमेरिका जाने निर्णय गर्यो।
रमेशले अमेरिकाको प्रवेशाज्ञा पाएको दिन बाको छाती तराईको फाँटझैं भएको थियो रे।
रमेशले देश छोड्यो। देशका लागि फगत एक नागरिक बाहिरिएको थियो। रमेशकी आमालाई लाग्यो मुटु नै छाती छेडेर निस्किएको छ। मुटु नै नभएपछि ज्यानले के अनुभूत गर्दो हो!
रमेशका बालाई लाग्यो उनको छाती सगरमाथाझैं चौडा भएको छ।
देश छोडेर गएपछि दसैं-तिहारमा रमेश आएन, रमेशसँगै दायाँ-बायाँ हिँड्दै आँगन टेक्ने सुधा पनि देखा परिन। भर्खंरै तोते बोली बोल्दै गरेकी नातिनी ऋचा पनि आइन।
देश छोडेको पहिलो वर्ष रमेशका परिवारले आँसुको ढिक्कासँग दसैं मनाए। रमेशकी आमाले साडीको सप्कोले आँसु पुछेर दसैं मनाइन्।
तिहारमा दिदी बहिनीले रमेशको फोटोमा सप्तरंगी टीका लगाएर भाइटीका मनाए। रमेशले विश्वविद्यालयमा दसैं-तिहार सम्झँदै गृहकार्य गरेर दिन बितायो।
नौलो देश, फरक परिवेश र फेरि सुरू भएको औपचारिक विद्यार्थी जीवन। परिवारको आशा, पारिवारिक दायित्व, आर्थिक व्यवस्थापन। सबै कुराले एकैचोटि छोपेको थियो रमेशलाई।परिवारको खर्च धान्न रमेश राती-राती मोटेलमा काम गर्थ्यो। सुधा काखको दूधे छोरी छोडेर शनिबार र आइतबार अरूकै बच्चा हेर्न जान्थी। अमेरिकामा अवैधानिक काम गर्दा पुलिसको फेला परे देश निकालामा परिने डर र आफ्नो छोरीलाई छोडेर अरूकै बच्चा हेर्नुपर्दा परेको मानसिक दबाबले सुधा विक्षिप्त भएकी थिई। नेपाल छँदा आफ्नो घरमा काम गर्ने मान्छे राखेर बसेकी सुधाका लागि अमेरिका आफैंले सोचेजस्तो स्वर्ग भएन।
तर, अमेरिकाले सुधालाई काम सिकायो। कामप्रति सम्मान गर्ने बानी सिकायो। नेपाल छँदा बाहिर निस्केर कहिल्यै काम नगरेकी सुधालाई पैसाको मूल्य अमेरिकाले नै चिनायो।
नेपाल छँदा कहिल्यै छोरी नहेरेको रमेशलाई बच्चा हेर्न, हुर्काउन, खाना खुवाउन, बच्चाको डाइपर बदल्न, भान्सा घरको पूरै जिम्मा लिनसक्ने अमेरिकाले नै बनायो। घरभित्र नदेखिने कामको थुप्रो कति हुँदो रहेछ रमेशले अमेरिका आएपछि मात्र थाहा पाएको हो।
यही बीचमा रमेशले आफ्ना बा-आमालाई अमेरिका बोलायो। दूतावासले पनि सजिलै भिसा दियो।
बा-आमा न्यूयोर्कमा उत्रनु भयो।
विश्वकै शक्तिशाली देशको प्रमुख सहर, विकासको अद्भुत चमत्कार देखिने सहर। गगनचुम्बी महल र तराईको फाँटझैं लाग्ने राजमार्ग। धुँवा ननिकाली तीव्र गतिमा चल्ने सवारी साधन। यी सबै देखेर बा-आमा चकित त्यसरी नै चकित हुनु भयो जसरी पहिलो पटक यी सब देखेर रमेश र सुधा अचम्मित भएका थिए।
जाडो मौसममा घुँडासम्म हिउँ पर्दा पनि निरन्तर सक्रिय हुने सहर देखेर त झन् रमेशका बा-आमा दंग परेका थिए। तर, त्योभन्दा ज्यादा दंग त्यति खेर खाए जब दिनभरि विश्वविद्यालय गएर आएको छोराले राती-राती मोटेल गएर काम गर्ने कुरा सुनायो। बुहारी सुधाले आफ्नी नातिनीलाई दूध खुवाउन छोडेर अरूकै बच्चा हेर्न जाने कुरा सुनाइन्।
अमेरिका आएको केही हप्तामै बा-आमाको मन यसरी भाँचियो, मानौं यसको कुनै उपचार सम्भव छैन।
बा-आमालाई रमेशले राती पनि नसुती नसुती कमाएर ल्याएको पैसाले धानेको कोठामा बस्न मन भएन। सुधाले पनि आफ्नै नातिनीलाई दूध नचुसाई-नचुसाई अरूकै बच्चाको हेरचाह गर्न गएको झनै चित्त बुझेन। तर, उनीहरूलाई यो पनि थाहा भयो कि यी सब काम उनीहरू बाध्यताले गरिरहेका छन्।
बा-आमालाई लामो समय अमेरिका बस्न मन भएन। उनीहरू ढिप्पी गरेर योजना गरेको समयभन्दा धेरै अगाडि देश फर्किएँ।
‘तँभन्दा अगाडि म यो देश आएको भए तँलाई मरेकाटे पनि यो देश आउन दिने थिइनँ।’
देश फर्कने दिन यत्ति भनेर रमेशका बाले शिरमा लगाएको टोपी निकालेर अनुहार छोप्दै डाँको छोडेर रोएका थिए।
‘तँ त यो देशमा पढ्न आएको होस्। पढिसकेर देश फर्की रमेश, केही काम पाइनस् भने पनि हामीले जोडेको जमिनले तिमीहरूको जिन्दगी राम्रै चल्छ।’
रमेशकी आमाले यत्ति भनेर मजेत्रोको सप्कोले आँसु पुछेकी थिइन्।
रमेशले बा-आमा यसरी रोएको कहिल्यै देखेको थिएन। बा-आमालाई सम्झाउन ऊसँग कुनै शब्द थिएन। ऊ लाचार भएर त्यो दृश्य हेरिरहेको थियो।
एयरपोर्टमा बा-आमालाई छोडेर आउँदा रमेश बाटैभरि रोयो। धेरै दिनसम्म रमेशका आँखामा बाले टोपीले अनुहार छोपेर रोएको, आमाले मजेत्रोको सप्कोले आँसु पुछेको दृश्य झल्झल्ती आइरह्यो।
समय बित्दै गयो। रमेश र सुधा अमेरिकी जीवन शैलीसँग अभ्यस्त हुँदै गए। रमेशलाई बिस्तारै आफ्नै पढाइको चाप बढ्न थाल्यो। उसले प्रोफेसरको निगरानीमा अनुसन्धान पनि सुरू गर्यो। विद्यावारिधिका लागि गहन खोज अनुसन्धान गर्ने, प्रयोगशालामा गरिएका प्रयोग/परीक्षणबाट प्राप्त नतिजाहरूलाई विश्व प्रसिद्ध जर्नलहरूमा प्रकाशित गर्ने उसको खास दायित्व थियो।
छालाको संसर्गमा एक थोपामात्र रसायन परे मान्छेको जीवन सकिने कैयन् रसायनहरूको बारेमा उसले प्रयोगशालामा काम गर्दागर्दै सिकेको हो। रसायनले मानव जीवन र वातावरणमा पार्न सक्ने गम्भीर असरको बारेमा गहिरो जानकारी पाएपछि केन्द्रीय क्याम्पसको प्रयोगशालामा प्रयोगात्मक कक्षामा गरिएका असावधानी सम्झेर ऊ झस्किएको थियो।
रमेशले देश छोडेर अमेरिका छिरेको पनि चार वर्ष बितिसकेको थियो। सामान्यतया अनुसन्धान सुरू गरेको दोस्रो वा तेस्रो वर्षपछि विद्यार्थीबाट जर्नलमा लेखहरू प्रकाशित हुन् भन्ने प्रोफेसरहरू चाहन्छन्। चौथो वर्षको आधा वा पाँचौं वर्षपछि विद्यार्थीलाई थप वैज्ञानिक लेखहरू छाप्ने, आफ्नो थेसिस लेख्ने, थेसिसको प्रस्तुतिको लागि थप गहन अध्ययन गर्नुपर्ने र जागिर पनि खोज्नुपर्ने बाध्यता हुन्छ।
एकै साथ आउने यति धेरै कामको चाप थेग्ने बानी पनि रमेशले अमेरिका आएपछि नै सिकेको हो।
समयको लय आफ्नै हिसाबमा चल्दै थियो। अकस्मात रमेशका बा बिरामी भएको खबर आयो। उच्च रक्तचाप भएका रमेशका बा खेत घुम्न गएका बेला आलीबाट चिप्लेर लडेपछि टाउकोमा रक्तस्राव भएछ। नजिकैको बारीमा काम गर्दै गरेकी रमेशकी आमाले बा चिप्लेर लडेको करिब बीस फिटको दूरीबाट देखेकी थिइन्। उनले छिमेकी भतिजलाई बोलाएर हत्तपत्त श्रीमान अस्पताल पुर्याउँदा डाक्टरले खासै केही गर्न नसकिने बताएछन्।
रमेशलाई तुरून्तै नेपाल आउन भनियो। उसलाई बा अकस्मात लडेर अवस्था चिन्ताजनक भएपछि इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार हुँदै गरेको भनियो। रमेशले आफ्नी आमासँग कुरा गर्न खोज्थ्यो। तर, यो वा त्यो बहानामा आमासँग पनि कसैले कुरा गराएन। दिदी-बहिनी र आफन्तले पनि बाको अवस्था गम्भीर भएको मात्र बताए।
रमेश तुरून्तै नेपाल फर्कियो। उसले सबैभन्दा छोटो समयमा नेपाल पुग्ने टिकट लिएको थियो। तर, बाइस घण्टाको उडान पनि उसका लागि बाइस महिनाको झैं भएको थियो।
नेपाल घर पुग्दा रमेशका बाको ज्यान थियो, जीवन थिएन। बाको ज्यानलाई डिप फ्रिजमा राखिएको थियो। रमेशका बाले फेर्ने सास हावामा विलीन भइसकेको थियो। आफ्नो जीवनकालमा भोगेका सुख र दु:ख छोडेर रमेशका बा जीवनको अन्तिम सत्यमा समाहित भइसकेका थिए। महाप्रस्थानको तयारीमा थिए रमेशका बा। रमेशका बालाई न अब आफ्नै श्रीमतीको चिन्ता थियो, न त आफ्नै सन्तानले दिएको सुखद् अनुभूति वा सन्तापको आगो। उनले साथीभाइ, छरछिमेकी र आफ्नै परिवारको माया र घृणा दुवैलाई यही लोकमा छोडेर ब्रम्हलोकको यात्रा तय गरिसकेका थिए।
बासँग रमेशले भौतिक साथ बिताएको पछिल्लो स्थान जे एफ के अन्तर्राष्ट्रिय एयरपोर्ट थियो। रमेशले एयरपोर्ट जाँदै गर्दा बाटोमा रूँदै गरेका आफ्ना बा सम्झियो। उसले सोचेको थियो जुन दिन मैले विधावारिधिले दीक्षित भएको टोपी लगाउने छु, त्यो दिन टोपी खोलेर बाको शिरमा लगाइदिने छु र भन्ने छु बा यो टोपीमा तपाईंको पनि हक त्यति नै छ जति मेरो हक छ। तिमीले रात दिन रगत पसिना बगाएर मलाई स्कूल कलेज नपठाएको भए, जबरजस्ती नै किन नहोस् अमेरिका पढ्न जा नभनेको भए कसरी घुँडा फाटेको सुरूवाल लगाएर हिँड्ने किसानको छोरो यो उपाधिबाट विभूषित हुने थियो र? म त फगत एउटा हाँगोमा फुलेको फूल हुँ बा, तिमी मलाई फुलाउन चुपचाप जमिनमा गाडिएका थियौ। मैले भर्खरै पाएको विद्यावारिधिको सर्टिफिकेटमा हामी सबैको सपना मिसिएको छ।
तर, उसले विद्यावारिधि नसक्दै रमेशका बाले संसार छोडेर गए। रमेशले आफ्ना बालाई केही भन्नै पाएन।
बाको अन्तिम संस्कार सकेर आफ्नो पढाइ पूरा गर्न फेरि अमेरिका लाग्यो।
देश गएको तीन हप्तापछि रमेश अमेरिका फर्किएको थियो। यति लामो समय उसले आफ्नी छोरी ऋचालाई कहिल्यै छोडेको थिएन। बा गुमाउनुको पीडा र सन्तान छोडेर बस्नुको पीडा रमेशले पहिलोपल्ट एकै साथ अनुभव गर्यो।
अपार्टमेन्ट पुग्ने बित्तिकै ऋचाले रमेशलाई अंकमाल गर्दैं भनी, 'मिस यु ड्याड।'
'मिस यू टु बेबी', रमेशले छोरीलाई छातीमा च्याप्दै भन्यो।
एकछिन छोरीसँग खेलेपछि रमेशले सोध्यो, 'मेरो बेबीलाई के दिऊ त छोरी?'
'मलाई फ्रिजबाट एउटा पपसिकल दिनुस् न।'
रमेशले पपसिकल झिक्नलाई डिप फ्रिज खोल्यो।
डिप फ्रिजमा उसले पपसिकल देखेन, आफ्ना पिताजीको चिसो शरीर निष्प्राण लम्पसार परेको देख्यो। ऊ आफ्नै पिताजीलाई सम्झिएर भक्कानियो। ऋचा आफ्नो ड्याडी बच्चाजस्तो रोएको देखेर अलमलमा परिन्।