कत्ति समयपश्चात आज मज्जाले निदाएछु। बिहानको आठ बजेछ। आमाले बिस्तरामै चिया लेराइदिनुभयो। पुस माघकाे जाडोमा आमाको हातको चिया त्यो पनि विस्तरामै, मज्जै अर्कै। चिया पिएर फेरि पल्टिएँ। धेरैपछि माइत आएकी छोरी भएर होला आमाले उठ्न भन्नुभएन। निदाउन खोजें तर पटक्कै सकिनँ।
आफ्नो बाल्यकाल, बाबा आमा, सबै सम्झेर निकै खुसी लाग्यो। तर छोरीको जात, एकैछिनमा मन श्रीमानको घरमा पुग्यो अनि मन छट्पटाउन लाग्यो।
मेरो एक्कासि मलिन भएको मुहार देखेर आमाले 'के भयो' भनेर सोध्नु भयो।
'आमा, यो बिहे भन्ने कुरा नखाऊँ त दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार भने जस्तै रहेछ। आफू जिन्दगीमा यति लाचार हुन्छु भन्ने कल्पनासम्म पनि गरेकी थिइनँ। मेरो वैवाहिक जीवन राम्रो छैन। म बाहिर जति हाँसिखुसी देखिन्छु भित्र उत्ति नै पीडा छ। कहिलेकाहीँ त आत्महत्या नै गरूँम कि जस्तो मनमा आउँछ,' भनें।
मेरो कुरा सुनेर आमाले भन्नुभयो, 'हैन के भन्छे यो एकाबिहानै? तँलाई कसले के भन्यो र यस्तो विरक्तिएको कुरा गरेको? घरमा सब ठिकैछ नि? अनि उतिबेला त मैले मन पराएको केटा, राम्रो छ, मलाई एकदम माया गर्छ, आमा बुबा पनि मजाको हुनुहुन्छ भनेकी हैन? आज आएर के भयाे तँलाई? यस्तो मर्ने कुरा गर्छन्? मलाई आज सबै कुरा खुलेर भन्न मैले केही मद्धत गर्नसक्छु कि?'
म विगत कोट्याउन थालें।
'आमा, बिहे गरेको केही समयसम्म हाम्रो सम्बन्ध राम्रो थियो। छोरी नभएको घर, तिमी त मेरी छोरीजस्तै हो भन्थे अनि माया पनि गर्थे। बिस्तारै हजुरको ज्वाइँ चुरोट र रक्सी खान थाल्नुभो। थाल्नुभो के भन्नु पहिलेदेखि खाने रहेछन् मलाई ढाँटेको रहेछ। अनि सधैं बेलुका मसँग झगडा गर्ने, नखानु भने कुट्न आउने। मेरो भाग्यमा यस्तै रहेछ भनेर सहन थालें। घरमा बुवा-आमालाई सम्झाउन भन्दा उल्टै मलाई नै हप्काउनु भयो। छोरा मान्छे हो, कहिलेकाहीँ जाँड रक्सी खाने, ढिला घर आउने भइहाल्छ। श्रीमती भएसी खपेर बस्न सिक्नपर्छ भन्नुहुन्थ्यो। बिस्तारै श्रीमानको शारीरिक र मानसिक यातना बढ्न थाल्यो। आमाले झन् आगोमा घ्यू हालेजस्तै नभएको कुरा लगाएर सधैं हाम्रो झगडा पार्न थाल्नुभयो। यही क्रममा नानी पेटमा आई। केही समय घरमा फेरि राम्रो हुनथाल्यो। म खुसी भएँ, जीवनमा राम्रो दिन आयो भनेर, तर मेरो यो खुसी धेरै समय रहेन।'
'किन? के भयो र फेरि?', आमाले सोध्नुभयो।
'उनीहरूले मलाई हैन मेरो पेटको बच्चालाई माया गरेका रहेछन्। छोरी जन्मिएपछि फेरि यातना सुरू भयो। अब त अरू केटीसँग लागेको जस्तो शंका लाग्छ। मोबाइलमा के के मेसेज आउँछ, राति राति लुकेर कुरा गर्छन्। एकचोटि सोधेको झण्डै ढाड खुस्किने गरी कुटे। अनि त सोध्नै छोडें। म त मेरो जिन्दगी यस्तै रहेछ भनेर सही रहेथें। तर विस्तारै घरमा नानुलाई पनि गाली गर्ने, माया नगर्ने, अलक्षिनी जस्ता अपशब्द प्रयोग गर्न थालियो। श्रीमानलाई नानीमाथि हुने दुर्व्यवहार भनेको, वास्तै गर्नु भएन। मलाई, तँ र तेरो छोरी जे गरेनी मतलब छैन भन्नुभयो अनि हामी दुवै साह्रै रोयौं।'
'यत्रो भइसक्दा पनि हामीलाई किन केही नभनेको? हामी सम्झाउँथेऊ होला।'
'यहाँ बुवा बितेर हजुरलाई छुट्टै तनाव थियो। फेरि हजुरहरूले पहिले बिहे नगर यो केटा भन्दा, मायामा अन्धो भएर केटो र परिवार सब राम्रा छन् भनेर बिहे गरें। यस्तरी छेपारोको जस्तो रंग फेरलान भन्ने के थाहा?'
'हेर सीता, केटीलाई घर गरिखान गाह्रो हुन्छ। बुहारी भएसी सहन सिक्न पर्दछ। माइत जस्तो कहाँ हुन्छ र? लोग्ने स्वास्नीको झगडा परालको आगो हो। अब त छोरीको लागि पनि सहन पर्छ। यसरी रोएर हिम्मत हारेर कहाँ हुन्छ?'
'आमा हजुरलाई के लाग्छ मैले सहिनँ होला? बिहान उठेदेखि आधा रातसम्म लगातार काम गर्दा पनि शान्तिले खान पाइनँ। हरेक रात आँसुले तकिया भिज्थ्यो, नानुकाे अगाडि रून पनि भएन। सात वर्षसम्म मैले कति दुःख भोगें मलाई नै थाहा छ। परिवारका सबैले हरपल वचनका वाणले घोचेको घाउ कसरी मल्हमपट्टी गरेछु मलाई मात्र थाहा छ। बेला बेलामा त डिप्रेसनमा गएको पनि थिएँ। यस्ता यातना ममा मात्र सीमित हुँदा म चुप लागें, अब सक्दिनँ। एकदिन छोरीले मामु म त बिहे गर्दिनँ है भनी। मेरो मन सारै रोयो। यो कलिलो बच्चीलाई म झगडा र घृणामा हुर्काउन सक्दिनँ।'
'अब के गर्ने सोच बनाइस् त? जे गरेनी भोलि सम्मलाई सोच्नु अनि आजको निर्णयले भोलि पछुताउनु नपरोस्।'
'सम्बन्ध विच्छेद! अन्तिम उपाय यही हो। मानसिक रोगी हुनु, आत्महत्या गर्नुभन्दा यही ठीक लाग्यो मलाई। सात वर्षअघि अल्लारे उमेरमा गरेको गल्ती सच्याउनी।'
'तैंले भने जस्तो सजिलो छ सम्बन्ध विच्छेद? दुनियाँले के भन्ला? छोरीको भोलि के हुन्छ? पढाइ लेखाइ, खर्च? उसलाई बाबुको माया चाहिँदैन? बिहे गर्ने उमेरमा बाबु र आमा त छुट्टिएका रे, राम्रो घरमा बिहे हुँदैन। कति अप्ठ्यारो हुन्छ? जिन्दगी धेरै लामो छ, तँलाई पनि एक्लै काट्न गाह्रो होला। म त सहेरै बसेको राम्रो भन्छु।'
'आमा म कलियुगको सीता हुँ। सीता माताले जस्तो आफू पवित्र छु भनेर अग्नि परीक्षा दिन पनि सक्दिनँ, अनि जरूरी पनि मान्दिनँ। दुई छाक खान पाउनु, एक सरो लाउन पाउनुमात्र जिन्दगी हो? हाम्रो भावनाको, आत्मसम्मानकाे केही महत्व हुँदैन। जाबो एकबारको जिन्दगी, हाँस्न पाइन्न, खुसीले खान र बाँच्न पाइन्न भने के बाँच्नु? सम्बन्धमा कुनै इज्जत छैन, मान्छेलाई वस्तु जस्तो व्यवहार गर्नेसँग कसरी बाँच्नु? म मेरो र मेरो छोरीको जिन्दगी बर्बाद गर्न चाहन्नँ। त्यो केटा र त्यसको परिवारसँग बिहे गर्नु अनि झुटो जालमा फस्नु मेरो जिन्दगीको सबभन्दा ठूलो गल्ती भएछ। अब म त्यो गल्ती सच्याउन चाहन्छु।'
आमाले फेरि सम्झाउन थाल्नुभयो।
'नानी, अझै समय बितेको छैन। ज्वाइँलाई यता बोला, हामी पनि सम्झाउला। विवाह दुई परिवारको सम्बन्ध हो। छोरी धेरै पढेर सम्बन्ध विच्छेद बढेको भनेर सबैले खिसी गरेको सुनेको छैन? समाजमा सधैं केटीकै गल्ती देखाउँछन्। कसैले तेरो पीडा बुझ्दैनन्। हामीलाई समेत अनेक अपहेलना सहन पर्छ।'
'सम्झाएर केही काम छैन। अझ मैले २-४ झाप्पु खाने मात्र हो। यो समाजले कहिले पो नारीलाई राम्रो भन्छ र? पोथी बासेको राम्रो हुन्न भन्ने समाजको मलाई मतलब छैन। अचेल बुबाआमाले छोरीलाई पनि छोरा सरह पढाउने लेखाउने गर्नुहुन्छ। आफ्नो सपनाको आकाशमा खुला पंख लगाएर उठ्न सिकाउनुहुन्छ अनि अचानक बिहेपछि अर्काको परिवारमा गएर नोकरजस्तो बन्नु पर्छ। हरेक पल रोएर बाँच्नुपर्छ। छोरीलाई खुसी दिन सिक्नेले बुहारी र श्रीमतीलाई किन दिन नसक्ने? पंख लगाएर अन्त्यमा किन पिँजडामा थुनिदिने? आखिर किन र कहिलेसम्म? अनि के छोरीको बिहे गरिदिएसी बाबु-आमाको कर्तव्य सकिन्छ?
छोरी अर्काको घरमा खुसी छ/छैन? तिमीलाई जस्तो समस्या पर्दा पनि हाम्रो घर सधैं खुला रहनेछ भनेर प्रतिबद्धता दिन सकिँदैन? यदि माइतीले विवाहपश्चात् पनि छोरीलाई पहिले जस्तै माया र आड भरोसा दिने होभने पराई घरमा त्यत्रो यातना दिने हिम्मत गर्दैनन्।
म केही वर्ष पढाइ पूरा गर्छु, त्यतिन्जेल मेरी छोरी र मलाई सुरक्षित आश्रय दिनुस्। मेरो खर्च म आफैं धान्ने छु। हजुरले साथ दिए ममा एक्लै लड्ने हिम्मत आउँथ्यो। म केही वर्ष अझै पढाइ पूरा गर्ने थिएँ अनि छोरीलाई उज्ज्वल भविष्य दिने थिएँ। मलाई साथ दिनुहुन्छ नि आमा?'
'मैले के साथ दिने नदिने भन्नु आफैं डाँडा माथिको जुन भइसकें। मलाई त दुवै मिलेर बसेको राम्रो लाग्छ। भोलि तेरो दाइ भाउजूसँग पनि सल्लाह गरौं, के भन्छन्! अनि निर्णय गरौंला हुन्न? अब धेरै नसोची खान आइजो।'
'आमा मैले वैदेशिक रोजगारीमा जानेको परिवार जस्तो पैसो खाएर, बुढालाई धोका दिएको हैन अनि छोरीलाई छोडेर अन्तै बिहे गर्न लागेको पनि त हैन। किन यस्तो दुविधामा रहनुभएको?
आमा हजुरले त मलाई आँट दिनुपर्ने हैन र? म जिउँदै छु, समाजले, परिवारले जे भने पनि तेरो हरेक पाइलामा साथ दिनेछु। हुन त हजुर आफैं दाइ भाउजूको रेखदेखमा हुनुहुन्छ, त्यही भएर डराउनु भएको होला। ठिकै छ आमा। म अब यो सम्बन्ध टुंग्याउने निर्णयमा पुगिसकेको छु। मेरो छोरीलाई त्यो नर्कबाट निकाल्छु। पढेलेखेको छु। केही न केही काम कसो नभेटिएला? दाइले मेरो कुरा बुझे केही वर्ष यतै बस्छु, नानी हुर्काउन सजिलो हुन्छ नत्र अर्कै जिल्लामा गएर बस्छु। म हजुलाई बोझ बन्दिनँ आमा। तर जिउँदै सधैं तिलतिल मरेर बाँच्न सक्दिनँ।
अनि यो केटी पढ्नाले सम्बन्ध विच्छेद बढेको भन्नेलाई केही भन्न चाहन्छु, 'केटी पढेर सम्बन्ध विच्छेद बढेको हैन, शिक्षाले महिलालाई आत्मनिर्भर बनाएको हो, सही र गलत छुट्याउन सिकाएको हो, अन्यायसँग लड्न सिकाएको हो, खुला आकाशमा उड्न सिकाएको हो, नारी पुरूष एक रथका दुई पाङ्ग्रा भएसी समझदारीमा अघि बढ्न सिकाएको हो। जस्तो सुकै परिस्थितिमा पनि जीवन खुसीले बिताउन सिकाएको हो, खुला आकाशमा उड्न सिकाएको हो।'