बसन्त ऋतुको वैशाख महिना नयाँ वर्षसँगै नयाँ पालुवाले छपक्क ढाकिएका वनका रूख पातहरूलाई चिर्दै आइपुगेका बिहानीको सुनौला किरणले नदीका मोती दानाहरूलाई गज्जबसँगले टल्काइरहेका थिए। शितल हावाको सुस्केरासँग ताल मिलाउँदै चराचुरूंगीहरू खुला आकाशमाथि सामूहिक नृत्य गरिरहेका थिए।
वृन्दा नदीको दुई किनार जोड्ने त्यो झोलुंगे पुल पनि यसरी हल्लिरहेको थियो कि मानौं प्रकृतिको सुमधुर संगीतमा मन्त्रमुग्ध भई एउटी सुन्दर परीले आफ्ना पातला र लचिला कम्मर मर्काइरहेकी छे।
पूर्वी तराईको चुरे क्षेत्रमा प्राकृतिक सौन्दर्यताको बीचमा अवस्थित बाह्र घर परिवारको बसोबास भएको एकमात्र त्यो सानो गाउँको नाम थियो: डाँडागाउँ।
तराईको अधिकांश भूभाग विकसित नै भए पनि त्यस गाउँ भने अझै पनि विकासका पूर्वाधारहरूमा पछि नै परेको थियो।
यद्यपि प्राकृतिक सौन्दर्यताले भने सम्पन्न थियो। त्यहाँका प्राय: सबै मानिसहरूको जीविकोपार्जन खेती किसानी नै थियो। त्यहाँका मानिसहरूलाई बिहान बेलुकाको छाक टार्न पाए र आफ्ना बाल बच्चाहरूलाई पढाउन पाए सबै थोक पुगेकै थियो।सुख दु:खमा खुलेर एक अर्काको साथ दिन्थे, सानो भए पनि आपसी सद्भाव र मेलमिलापको त पर्याय नै थियो डाँडागाउँ।
बिहानीको पहिलो घामको किरणसँगै कान्छाकी जहान कान्छी उठेर नुहाईधुहाई गरी आँगन अगाडिको तुलसीको मोठमा पूजा गरेर ‘ए सानेका बा! आज खेतमा जान अबेला भएन? कति सुतेको ?’ भन्दै भित्र पसिन्।
अझै पनि कान्छा नउठेको देखेर उनले कान्छाको बिछ्यौनानेर गएर छेउमा बस्दै आफ्नो भिजेको केश कान्छाको अनुहार नेरी लाँदै मायाले दबिएको स्वरमा साउती मार्दै भनिन्, ‘ए! सानेका बा कति सुतेको, आज खेत नजाने?’ कान्छाले कान्छीको हात आफूतिर तान्दै भन्यो, ‘आज तिमीसँगै मायाको खेती गर्दै बस्छु नि हुन्न?’
कान्छी लाजले भुतुक्कै हुँदै ‘थैट! तपाईं पनि’भन्दै जुरूक्क उठिन् र ‘म बाबुलाई उठाउन गएकी तपाईं पनि उठ्नुस है अब’ भन्दै सानेलाई उठाउन गइन्।
साने उनीहरूको ९ वर्षको छोरा हो।
उनीहरू त्यो गाउँमा १० वर्षअघि ताप्लेजुंङबाट आएका बाह्रौं परिवार हुन्। त्यहाँ छँदा कान्छी अर्कैकी श्रीमती थिइन्| जड्याहा पतिको अत्याचार सहँदै बसेकी कान्छी रूपकी बिछट्टै राम्री। त्यसबखत उमेरले ३२ वर्ष पुगे पनि जड्याहा पतिबाट कुनै बाल बच्चा नभएकाले शरीर पनि सुगठित अनि कशिलो नै थियो। कान्छा पनि उमेरदार जवान केटो हट्टाकट्टा हुनुको साथै रूपको पनि राम्रै थियो र मिठो बोलीबचन, असल स्वभावको आफ्नो उमेरका अरू अल्लारे ठिटाहरूभन्दा फरक किसिमको थियो।
मेलापातमा जाँदाजाँदै कसोकसो आफूभन्दा ६ वर्ष सानो कान्छाले उनको सबै कुरा थाहा हुँदाहुँदै पनि मन पराउन पुगेछ। त्यसपछि उनीहरू भागेर डाँडागाउँ आइपुगेका थिए। करिब एक वर्षको संघर्षपछि त्यहाँ उनीहरू काठको २ तले टाँडे घर बनाएर बसेका थिए। त्यहाँ आएको एक वर्षमै उनीहरूको जीवनमा सानेको रूपमा थप खुसी अनि प्रेमको आगमन भयो। उनीहरू एक अर्कालाई असाध्यै माया गर्थे। समग्रमा तीन जनाको सानो सुखी परिवार थियो।
कान्छा हातमुख धोएर बिहानीको चिया पिएर काँधमा हलो र जुवा बोकी तल्ला घरे काइँला बा र माथ्ला घरे गोरे दाईसँग सदाझैं खेततिर लाग्यो। साने पनि हात मुख धोएर चिया खाजा खाँदै विद्यालयमा दिएको होमवर्क गर्न थाल्यो। कान्छी भान्छातिर आफ्नो काम गर्न थाली।
करिब ११ बजे हलो जोति सकेर खाना पर्खेर बसेका तीन जना आपसमा गफ गर्दै काइँला बाले भने, ‘केटा हो यसपालि पनि बेलामा वर्षा भएन भने त फेरि पनि मेहनत जति सबै खेरै जान्छ।’
‘फेरि धेरै वर्षा हुँदा पनि वृन्दा रिसाएर बिगार गर्ली भन्ने पिर छ’ कान्छाले भन्यो।
काइँला बाले भने, ‘त्यो पनि हो। ईश्वरले सबै देखेकै छन्। मापन गरेरै कृपा गर्लान् कि भन्ने आशसम्म राखौं क्या रे!’
‘अस्ति चुनावका बेला त बाँध बाँधिदिन्छौं भनेका थिए, एकचोटि फेरी गाउँ अध्यक्षलाई निवेदन गर्ने कि? एकचोटि कोसिस गरौं न, मलाई हुन्छ भन्ने विश्वास छ’, गोरेले भन्यो।
कान्छाले भन्यो, ‘त्यो त हो, गोरे दाइले भने जस्तो सबै जना भएर एक पटक फेरि निवेदन गरौं न त काइँला बा।’
काइँला बाले भने, ‘मलाई हामी निमुखाको कुरा सुन्लान् भनेर विश्वास त छैन तर पनि तिमीहरूको प्रयासमा सहयोगसम्म गर्छु।’
अर्को दिन गाउँका सबै उमेरदार पुरूषहरू भेला भएर गाउँ अध्यक्ष समक्ष आफ्नो समस्या लिएर गए। अध्यक्षले ‘यसपालिको त सबै बजेट सडक स्तरोन्नति र कालोपत्रेमा विनियोजन भइसक्यो। तिमीहरूको त्यो गाउँमा मान्छेको बस्ती छ भन्नेसम्म पनि हामीलाई थाहा थिएन। अर्को पटक चाहिँ बेलैमा सम्झाउनु पक्का बनाइदिउँला बाँध अहिलेलाई जाओ’ भन्दै रूखो स्वरमा पठाए।
निराश भएर फर्किंदै गरेको हुलको शून्यतालाई तोड्दै बिर्खेले भन्यो, ‘कस्तो चाहिँ लाज पचेको बेशरम रहेछ काइँला बा यो अध्यक्ष त, अस्ति चुनावका बेला हरेक घरघरमा दुई हात जोडेर सबैलाई भोट माग्दै हिँडेको थियो अहिले त बस्ती छ भन्ने पनि थाहा छैन भन्छ।’
‘यस्तै हो बिर्खे मन सानो नपार, कहाँ सुन्छन् र यिनले हाम्रा कुरा। अत्तरको खुश्बु हिलोको गन्धसँग घिनाउँछ।’ काइँला बा ले भने। (निराश उनीहरू यस्तै यस्तै गफ गर्दै घर फर्किए।)
भौगोलिक दृष्टिकोण र स्रोत साधनको उपलब्धताको हिसाबले कुनै पनि समस्या छैन। तर त्यो गाउँमा अझै पनि बिजुली बत्ती पुगेको छैन। बेलुकीको खाना सबैले खाइसकेर धन्दा सकेपछि तल भान्छा कोठाको दैलो लाएर हातमा टुकी बत्ती लिएर माथि कोठातिर चढ्दै गरेकी कान्छीलाई छेउमा आइनपुग्दै बिहानको घटनाले चिन्तित भएर बिछ्यौनामा पल्टिएको कान्छाले त्यस दिनको घटना सविस्तार वर्णन गरिसकेर कान्छीलाई भन्यो, ‘कान्छी! हाम्रो सानेलाई हामी खुब पढाएर ठूलो मान्छे बनाउनुपर्छ। हाम्रो नसुने पनि पछि हाम्रो छोराको कुरा सबले सुन्नेछन्।’
कान्छीले टुकी निभाउँदै बाबुको छेउमा सुतेको सानेको केश सुम्सुम्याउँदै आफू पनि बिछ्यौनामा पल्टिँदै भनि, ‘हुन्छ नि सानेका बा! पिर नमान्नु न हाम्रो छोरो खुब मेहनती छ। यसले पछि हाम्रो नाक राख्छ।’
त्यस रात निकैबेर यस्तै यस्तै गफ गर्दै उनीहरू सुते। भोलिपल्ट सबेरै सदाझैं सबै जना आफ्नो आफ्नो दैनिक कामकाजमा लागे। डाँडागाउँका मानिसहरूको दिनचर्या यसरी नै चलिरहेकै थियो।
भदौ १३ गतेको दिन थियो।
लगभग दश दिनदेखि अविरल भिषण वर्षा भइरहेको थियो। घर, आँगन, खेत, बाटो जता हेरे पनि चारैतिर पानी नै पानी थियो। वृन्दा नदी बढेर निकै माथि आइसकेको थियो। नदी छेउको जमिन कटानी भएर झोलुंगे पुल भत्किसकेको थियो। पानी कटाउने उचित व्यवस्थापन हुन नसक्दा त्यत्रो मेहनतले लगाएको फसल समेत सबै बर्बाद भइसकेको थिय। फसल त गयो गयो अब यो वृन्दा नदीको बाढी घरसम्म आइपुग्दा परिवार नै सबै जोखिममा पर्छ भन्ने पिरले डाँडागाउँका सबै मानिसहरु त्रसित भइरहेका थिए।
यता अघिल्लो हप्ता विद्यालयबाट घर फर्किंदा पानीमा भिजेर सानेलाई ज्वरो आएको अहिलेसम्म ठिक भइरहेको थिएन। बाहिर एकैछिन नरोकिई ठूलो पानी परेको र आवतजावत गर्ने झोलुंगे पुल समेत भत्किएकाले अस्पतालसम्म पनि जाने उपाय थिएन।
कान्छा कान्छीको अथाह प्रेमको निशानी त्यो एक्लो छोरो सानेको ऐंया आत्थाको कारूणिक चित्कार सुन्न नसकेर कान्छीले भगवानको नाम जप्दै सक्दो घरायसी उपचार गरिरहेकी थिइन्।
‘ए हजुर! हेर्नुस् न बाबुलाई त झन् साह्रो पारेजस्तो छ, त्यति मजाले हाँस्ने खेल्ने हाम्रो छोरो आज ६ दिन भइसक्यो उठ्नै सकिराको छैन। केही गर्नुस् न हजुर।’ भरिएका आँखाका आँसु छ्चल्काउँदै दुखेको कण्ठबाट आवाज निकाल्दै कान्छीले भनि।
विवश कान्छाले सान्त्वनाको स्वरमा भन्यो, ‘नआत्तेऊ न कान्छी तिमी, केही हुँदैन ठिक भइहाल्छ नि हाम्रो छोरोलाई। पाथीभरा माताको कृपाले सबै ठिक हुन्छ।’
दिउँसोको १२:३० बजेको थियो।
भित्रभित्रै असह्य छटपटी र अशान्तिले आक्रान्त भएको कान्छाले बाहिर बार्दलीबाट हेर्दा पानी अझै मुसलधारे परिरहेकै थियो। आँगनै तलको खाल्डो समेत पानीले भरिसकेर जमिन कटान गर्न थालिसकेको थियो। उता घरबाट करिब दुई सय मिटर जति मात्रको दूरीमा रहेको वृन्दा खोलाको आवाज पनि झनझन ठूलो हुँदै गइरहेको थियो। मुसलधारे वर्षा, खोलाको स्वाँ.... को ठूलो आवाज, सानेको दबिएको ऐंया आमा ऐंया बाबाको कारूणिक पुकार अनि कान्छा कान्छीको मलिन अनुहार भित्र मडारीएको डरको कालो बादलसँगै निर्विकल्प र लाचारिताले एक किसिमको शून्यता छाएको थियो। डाँडागाउँको हरेक घरमा यस्तै दृश्य थियो। भगवानको नाम जप्न शिवाय अरू कुनै विकल्प थिएन उनीहरूको सामुन्ने। २:३० भइसकेको थियो, अवस्था झन् भयाभह बन्दै गइरहेको थियो, लाचार कान्छा छटपटिँदै भित्र बाहिर गरिरहेको थियो।
‘साने....सानेको बा....!’अचानक घन्टौंको मौनतालाई तोड्दै बडो कष्टका साथ काँपेको ठूलो स्वरमा कान्छीले कराइन्। बार्दलीमा पुगेको कान्छाको मन चिसो भयो, त्यसै हात खुट्टा सबै गलेर आए। उसलाई दौडेर कोठाभित्र पस्न पाँच सेकेण्ड भित्रमा पाँच पाइला सार्न समेत पाँच पहाड चढेकोभन्दा बढी संघर्ष गर्नुपर्यो। कलिलो कोपिला फक्रिन नपाउँदै ओइलायो। साने चुपचाप भइसकेको थियो। उसले न आमा खोज्दैथियो न बाबा। एकाएक धर्ती थरथर गर्दै काँप्न थाल्यो।
छानो, भित्ता, टुकी, सानेका किताब कापी, सानेलाई पढाउन भनि पैसा जम्मा गर्न राखेको खुत्रुके, तख्तामा राखेका कान्छीका सिन्दुरको बट्टा, लाली, मुन्द्री, फुली, ऐना, काँटीमा झुण्डिएको मंगलसुत्र, भुइँमा लोती छिन्न लागेको कान्छाको चप्पल सबै एकाएक थरथर गर्दै काँप्न थाल्यो।
पछाडिबाट कानैमा आएर आकाशवाणी गर्ने यन्त्रबाट ठूलो आवाजले स्वाँ........ गर्दै कराए जस्तो भयो, फर्केर हेर्न टाउको मात्र के फर्काउन लागेको घरै सहितलाई वृन्दाले अँगालोमा बेरिन्। एकाएक हेर्दाहेर्दै सबै बगायो, सबै भत्कायो, पूरा गाउँ नै रित्यायो। बाह्र घर कता बिलायो बिलायो। कोसौं दूर सानेको कक्षा ४ को मेरो सेरोफेरो किताब र मयूरको प्वाँखसँगै चेपेर राखेको ‘हिजो राति म निदाएजस्तो मात्र गरेर बा आमाको कुरा सुनिरहेको थिए। बाले भन्नु भाको मलाई ठूलो मान्छे बन्नु छ रे, आमाले भन्नु भाको मैले बा आमाको नाक राख्छु रे। म मेहनत गरेर ठूलो मान्छे बन्छु अनि मेरो बा आमाको नाक राख्छु।’भनी लेखेको एउटा कापीको बीच पाना सँगसँगै तैरिरहेको थियो।
सानेको सुनौलो भविष्य तैरिरहेको थियो, कान्छा कान्छीको अगाध प्रेम र सपना तैरिरहेको थियो, काइँला बाको बुढेसकाल तैरिरहेको थियो, गोरे दाइको विश्वास तैरिरहेको थियो, बाह्र घरको बाह्र वटा कहानी तैरिरहेको थियो।
‘१७ वर्षअघि घटेको यही घटनाको सम्झानामा यस क्षेत्रको नाम बाह्रघरे सिमसार तथा पर्यटकीय स्थल रहन गयो बाबुुु’ भन्दै म चिया पिउन पसेको पसलको ती बुढा बाले कथाको अन्त्य गर्नुभयो।
नयाँ नयाँ ठाउँ घुम्न र नयाँ नयाँ मान्छेहरूका कथा सुन्न मन पराउने मलाई यस क्षेत्रको कथाले असाध्यै मन छोयो र लेख्न बाध्य बनायो।
उक्त घटनापश्चात त्यस ठाउँमा फेरि कहिल्यै बस्ती बसेनछ। अहिले त्यहाँ बाँध बनिसकेको छ, बिजुली बत्ती र सडकको पनि राम्रो सुबिधा पुगेको छ। स्थानीय सरकारले त्यस ठाउँलाई आफ्नो स्वामित्वमा लिई सुन्दर पर्यटकीय स्थलको रूपमा विकास गरेको रहेछ। मान्छेको राम्रै आवतजावत हुँदोरहेछ। त्यसबेलाका गाउँ अध्यक्षले अहिले त्यहाँ सुविधा सम्पन्न बाह्रघरे रिसोर्ट एण्ड लज खोल्नुभएको रहेछ, व्यापार राम्रै हुँदोरहेछ। तपाईंहरू पनि एकपटक अवश्य घुम्न जानुहोला।