स्वस्तीश्री एकश्री आगे गाउँमा राज गरी बसिरहेकी तिमी श्रीमतीलाई इत म आफूको शिरको स्वामीको तर्फबाट कोटीकोटी माया र आशीर्वाद पुगोस्। देउता पितृको आशीर्वादले म यहाँ निकानन्दै छु र त्यहाँ तिम्रो गाथमा आराम रहोस् भनी उनै दयालु भगवानसँग गङ्गाजल स्नान गरी, शिर नुगाई, पाउ परी, ढोग गरी प्रार्थना गर्दैछु।
अहिले तिमी राजधानीबाट धेरै टाढा रहेको हाम्रो गाउँको हाम्रै प्यारो घरमा छौ। म यता राजधानीकै सानो बुकुराको कोठामा बसी यी अक्षरहरू कोर्दैछु। चिठी नलेखेको पनि धेरै भयो। चिठीको व्यहोरा पनि बिर्सिइन लाग्यो र आज उहिलेको जमानाको चिठीको ढाँचाको स्मरण गर्दै यी हरफहरू कोर्दै छु।
तिमीले यो पत्र भने उहिले उहिलेजस्तै गरेर भौतिक तवरले हुलाकबाट प्राप्त गरी पढ्न पाउने छैनौ किनकि मैले कागजमा कोरेर खाममा गाभी, टिकट टाँसी हुलाकको रातो ढ्वाङमा खसाउने छैन। सम्भवतः तिमीले साङ्ख्यिक (डिजिटल) स्वरूपमा यो चिठी पढ्ने छौ।
उहिले चिठी लेख्ने बेहोरा सिक्दा छोरा र श्रीमतीलाई एक श्री, आफू मातहत रहेर काम गर्नेलाई दुई श्री, निकटतम मित्रलाई तीन श्री (राणाकालमा भने श्री ३ को पदवीले राणा प्रधानमन्त्रीलाई जनाउँथ्यो), शत्रुलाई चार श्री, राजालाई पाँच श्री, आमाबुबा र गुरुहरूलाई छ श्री, महन्त योगी र सन्यासीहरुलाई १०८ श्री र शङ्कराचार्यलाई १००८ श्रीले सम्बोधन गर्नुपर्छ भनेर मैले र मेरो पुस्ताकाले सँगसँगै सिकेका थियौँ।
अरूलाई त मैले चिठी लेख्नु परेन। आमा र तिमीलाई भने चिठी लेखेँ र पठाएँ पनि। सोही सिकाइअनुसारको श्रीले यहाँ तिमीलाई सम्बोधन गरेको हुँ।
हामी केटाकेटी छँदा चिठी र तमसुक लेख्ने सीप र सामर्थ्य हासिल गरेको मान्छेलाई उपयोगी र न्यूनतम योग्यता पुगेको मान्छेको दर्जा दिइन्थ्यो। चिठी बाँच्न पढेर सुनाउन सक्ने सामर्थ्यलाई समेत कदर गर्ने गरिन्थ्यो।
९/१० वर्षकै उमेरमा मैले हाम्रो गाउँबाट मुग्लान गएका लाहुरे बाहरूले पठाएका चिठीहरू लाहुरेनी आमाहरूका लागि वाचन गरिदिने गर्थेँ। खास गरी चौरापाटे आँबैका छोराले पठाएका पत्रहरू कहिले रातिको बेला टुकीको उज्यालोमा त कहिले दिनमा वाचिदिनु पर्थ्यो।
जेठा बाले पठाएको चिठी गोल्लाउनी आमाको लागि, बुढाघरे माइलाबा र दलाने माइलाबाहरूले पठाएका चिठीहरू सम्बन्धित माइली आमाहरूका लागि कहिलेकाहीँ मैले वाचिदिएको थिएँ। पछि उहाँहरूकै घरमा भाइबहिनीहरू चिठी वाचन गर्न सक्ने भए अनि मैले त्यो जिम्मेवारी बहन गर्नु परेन।
चिठीका लवज पढेर सुनाउँदा आनन्दातिरेकले गर्दा चौरापाटे आँबैका एकातिर गाला खुसीले फक्रन्थे भने अर्कोतिर आँखाबाट आँसुका ढिका खस्थे। छोरोको न्यास्रो मेट्न आँबैले उही चिठी पटक पटक वाचन गर्न लगाउनु हुन्थ्यो। परदेशी छोराको चिठी वाचन हुँदा हरेक आमाको यही दशा हुने गर्थ्यो।
तिम्रा दाइ र बुबा पनि त कुनै समयमा मुगलानियाँ हुनुहुन्थ्यो। उहाँहरूको चिठी आउँदा र त्यस चिठीको वाचन हुँदा तिम्री आमा र हजुरआमाको हाउभाउ कस्तो हुन्थ्यो भन्ने सम्झना तिमीलाई पनि त ताजै छ नि, होइन र?
चिठीपत्र वाचन गर्ने मानिस सिङ्गो गाउँमै नहुँदा परेका अप्ठ्यारामध्येको एउटा यस्तो किस्सा मैले पाका पुस्ताबाट सुनेको थिएँ- एउटा माझी गाउँमा अदालतबाट तामेलदार कुनै मुद्दाको तामेली टाँस्न आएछ। तामेलदार निम्न तहको निरक्षर कर्मचारी परेछ। त्यसैले तामेली पत्रमा लेखिएको कुरा उसले पढेर बताउन सकेनछ। गाउँलेहरूका बीचमा यसमा के लेखिएको होला भन्ने ठूलो खुलदुली पैदा भएछ। अड्डा अदालतका कर्मचारीका आनीबानी राम्ररी बुझेको गाउँका अगुवा नाइकेले उनीहरूको खुल्दुली यसरी मेटाएछन् -
किरिमिरी काँकरी, उखु लाँकरी
माझकी धर्की, माछा पेरुङ्गी
अर्थात् किरिमिरी अक्षर र तिनका मात्राले कोसेर उखुका मुठा र डिकोले माछा भरिएको पेरुङ्गो बुझाउँछन्। उखु र माछा लिएर अड्डामा फाँटवालालाई भेट्न आउनु भन्ने सन्देश नै यस तामेली पत्रमा छ भन्ने ठोकुवा अगुवाले गरेछन्। नभन्दै अगुवाले भनेअनुसार उखुका बिटा, माछाका पेरुङ्गा फाँटवालाकहाँ पटक पटक पुर्याएपछि उनीहरू विरुद्धको मुद्दामामिला पनि टुङ्गिएछ।
चिठीपत्र ओसारपसार गर्ने काम हुलाकीले गर्थे। निश्चित समयमा उनीहरू थैलामा डाँक बोकेर ओहोरदोहोर गर्ने गर्थे। तिनीहरू आएको वा फर्केको देखेर स्थानीय बासिन्दाले समयको अन्दाजा लगाउने गर्थे। दिन कति बित्यो वा कति बाँकी छ भन्ने भेउ हुलाकीको आवागमनले दिने गर्दथ्यो।
हुलाकीहरू लौरो टेकेर छिनभर पनि नरोकिई तडातड हिँड्ने गर्थे। उनीहरूको लौरोमा सिरानतिर फलामको भाला हुन्थ्यो भने एउटा घुँगुरा पनि जडिएको हुन्थ्यो। घुँगराको छर्लङ छर्लङ आवाज सुनेपछि अगाडि वा सामुन्नेका जोसुकैले हुलाकीलाई बाटो छोडिदिनु पर्थ्यो। बाटो नछोड्ने, छेकथुन गर्ने वा अवरोध गर्ने जोसुकैलाई हुलाकीले लौरोमा भएको भाला रोपिदिए पनि खतबात लाग्दैन भन्ने मान्यता थियो।
मैले पहिलो मेरो नामको चिठी कहिले पाएँ भन्ने कुरा त बताउनै बाँकी छ। किशोरावस्थामै म लाहुरेहरूको जीवनबाट लोभिएर भारतको देहरादुन पुगेको थिएँ। त्यहीँ नै २, हरिद्वार रोड, देहरादुन, उत्तर प्रदेश, भारत ठेगाना लेखिएको मेरो नामको पहिलो चिठी हवाईपत्रको रूपमा मेरो पोल्टामा परेको थियो। मेरी आमाले गाउँकै बाबुदाइबाट लेखाएर २०३३ सालमा त्यो चिठी पठाउनु भएको थियो।
घरतिरको हालखबर पढ्न पाउने भएँ भनेर चिठी पाउँदा म औधी प्रसन्न भएको थिएँ, भुइँ न भाँडामा भएको थिएँ। त्यति बेला पनि देहरादुनमा त टेलिफोनको सुविधा थियो। तर हाम्रो जिल्ला वा गाउँको लागि भने त्यो सपनाजस्तै थियो। तिमीले पठाएको चिठी भने क-१- ५८६, गणबहाल, काठमाडौँ ठेगानामा मैले पहिलो पटक पाएको थिएँ। त्यति बेला पनि म देहरादुनमा पहिलो पटक चिठी पाउँदा जस्तै रमाएको थिएँ।
चिठी खास गरी हाते र हुलाकी गरी दुई थरी हुने गर्थे। घर वा परदेश मान्छे आउजाउ गर्दा केही मालमत्तासहित हाते चिठी पठाउने गरिन्थ्यो। मालमत्तामा मसला (जिरा), चिनी, चियापत्ती, साबुन, लुगाफाटो आदि परदेशीका तर्फबाट पठाइने गर्दथे भने घरवासीका तर्फबाट रोटी वा कुराउनी चिठीका साथमा पठाइन्थे।
खबर आदानप्रदानका लागि हुलाकबाट चिठी पठाउने गरिन्थ्यो। हुलाकबाट पठाइएका चिठी पनि थरिथरिका हुने गर्थे। कुनै खाममा खामेर, टिकट टाँसेर (वा टिकट खाममै प्रिन्ट भएका खाममै खामेर ) पठाइन्थे। कुनै भने निलो रङका कागजमा प्रिन्ट भएको दुई पटक पट्टाएर टाँस्नुपर्ने ठाउँमा टाँसेपछि खाम जस्तै देखिने हवाईपत्रमा लेखेर पठाइन्थे। हवाइपत्रमा लेख्नका लागि छुट्टै कागज, बन्द गर्नका लागि खाम र टाँस्नका लागि टिकटको आवश्यकता पर्दैनथ्यो। हवाईजहाजको सुविधा भएको ठाउँमा हवाईपत्रहरू ढुवानी गर्ने गरिन्थ्यो, त्यसैले हवाइपत्र छिटो गन्तव्यमा पुग्छन् भन्ने विश्वास गरिन्थ्यो।
अर्को थरी एउटा पोस्ट कार्ड भन्ने ढाँचाको पत्र पनि हुने गर्थ्यो। सार्वजनिक गर्न मिल्ने थोरै विषयवस्तु लेखेर पठाउनको लागि पोस्ट कार्डको प्रयोग गरिन्थ्यो। जोसुकैले पढे पनि केही फरक नपर्ने खालका कुराहरू लेखेर पठाउनको लागि यस खालको ढाँचा प्रयोग गरिन्थ्यो। यसको हुलाक दस्तुर सबैभन्दा सस्तो हुने गर्थ्यो। खाममा एक रूपैयाँको टिकट टाँस्नुपर्दा त्यसमा सुका (२५ पैसा) को टिकट टाँसे पुग्थ्यो। सुका मूल्यको टिकट प्रिन्ट भएको तयारी पोस्ट कार्ड पनि खाम र हवाईपत्र सरह उपलब्ध हुने गर्दथ्यो।
अलि बढी महत्त्वका कागजातहरू खामेर पठाउनको लागि दर्तावाला (रजिस्ट्री) पत्र पठाइने गरिन्थ्यो। यस्तो पत्र प्रापककहाँ पुर्याउने प्रत्याभूति वा भनौँ कबोल हुलाक अड्डाले गर्ने गर्थ्यो। त्यसो त पत्रबाटै रकम पनि पठाउन सकिन्थ्यो जसलाई धनादेश (मनी अर्डर) भन्ने गरिन्थ्यो। अहिलेको जस्तो विद्युतीय भुक्तानी त्यस समयमा अकल्पनीय वा भनौँ सपनाजस्तै थियो।
एनि ब्रान्च बैंकिङ सिस्टम पनि त्यसबेला प्रचलनमा थिएन। उही बैंकिङ संस्थाले जारी गरेको चेक त्यसै बैंकका अन्य शाखाबाट भुक्तानी हुन सक्दैन थ्यो। भुक्तानीको अलि छिटो माध्यमको लागि टेलिग्राफिक ट्रान्सफर (एक बैंकको शाखाले आफूजस्तै अर्को शाखालाई आवा (आकाशवाणी/टेलिग्राम) बाट भुक्तानीको लागि दिने आदेशलाई टिटि वा टेलिग्राफिक ट्रान्सफर भन्ने गरिन्थ्यो। यो पनि अलि पछि प्रचलनमा आएको प्रविधि थियो।
खाममा बाहिर रातो मसीले लेखेर वा काँचो सेतो धागो खाममा बेरेर पठाइएको चिठीले कसैको मृत्युको दुखद सन्देश बोकेर ल्याएको छ भन्ने बुझिन्थ्यो। मेरो साहिँलो बुबाको जेठो छोराको मृत्यु भारतको देहरादुनमा हुँदा सो मृत्युको खबर धागोले बेरेको खाममा आएको गाइँगुइँको परिचर्चा पाकाहरूबीच भएको मैले सुनेको थिएँ तर त्यो शोक सन्देश बोकेको खाम भने मेरो दृष्टिमा पर्न सकेन।
चिठी सम्बन्धित मानिसले नै खोलोस्, अरूले खोलेर पढ्ने हिम्मत नगरोस् भनी खोल्ने ठाउँमा ७४ लेखिन्थ्यो। यो ७४ अङ्कसित एउटा प्रसङ्ग जोडिएको रहेछ भन्ने कुरा मैले अलि पछि मात्रै थाहा पाएको थिएँ। भारतका मुगल वंशका हिन्दू विरोधी मुसलमान शासकहरूले हिन्दुमाथि क्रुर अत्याचार गर्दै लाखौँ जनैधारीको हत्या गरेका थिए। हत्या गरिएका मानिसहरूको जनै संकलन गर्दा ७४ वटा गाडा भरिएका थिए रे। त्यही पातक असम्बन्धित हुँदाहुँदै पनि चिठी खोल्ने पापिष्टलाई लाग्छ भनेर सावधान गराउँदै चिठीको गोप्यता कायम राख्ने धेयले ७४ अङ्कले संकेत गर्ने चलन चलेको रहेछ।
खामबाहिर ‘लैजा चरी हावा सरी, यो चिठीको जवाफ छिट्टै आउने गरी’ भन्ने तुक्का पनि कसैकसैले लेख्ने गर्थे। उहिले उहिले तालिम पाएका परेवाले चिठीलाई गन्तव्यमा पुर्याउँथे भन्ने इतिहास कतै कतै पढ्न पाइन्छ। त्यसैले पनि चरीलाई सम्बोधन गरी त्यस्ता लवज लेखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
पहिले पहिले खामलाई बन्दी गर्दा फोस्रो/भिमलको सानो डाली थिचेपछि निस्कने चिपचिपे द्रव दलिन्थ्यो। पछि स्टेपलरले पिन पच्काएर खामबन्दी गरी पठाउने अभ्यास पनि प्रचलनमा आयो। गोप्यता कायम गर्नका लागि बाक्लै स्टेपलर पिन पच्काउने गरिन्थ्यो।
चिठीको सिरानमा र कहिलेकाहीँ खाम बाहिर पनि आरामी पत्र भन्ने उल्लेख गरिएको हुन्थ्यो। यस लेखाइले सामान्य सन्देश भएको पत्र हो जभन्ने जानकारी गराउँथ्यो।
जीवनसंगिनी, तिमीलाई चिठी लेख्न भनेर बसेको थिएँ, चिठीकै बारेमा पो लेख्न पुगेछु। ठिकै भयो। यो पढेर तिमीलाई पुरानो कुरा याद आउनेछ भने अरू पुरानो पुस्ताकालाई त्यति बेलाको चिठीको झल्को आउनेछ। नयाँ पुस्तालाई भने उदेक नै लाग्नेछ भन्ने अनुमान गर्दै यस चिठीको यहीँ बिट मारेँ ल।
भवदीय
तिम्रै पति।