‘पर्सि शुक्रबार उहाँ काकाको घरमा मासु लिन जा है’ स्कुल जान ठिक्क परेको मलाई त्यो बिहान बुबाले भनेको यही हो।
त्यसै पनि घरको भान्सामा तीन महिनाभन्दा बढि समयदेखि नै मासु पाकेको थिएन। सधैँको गुन्द्रुक र लट्टेको तरकारीले वाक्क भइसकेका म र मेरा बहिनीहरूका लागि बुबाको मुखबाट निस्किएको यो खबर मिठो धुनजस्तै दोहोर्याएर सुनिरहुँजस्तो थियो।
भर्खर सात वटा बारको नाम जानेको कान्छी बहिनीले औंला भाँच्दै किताब-कपिको झोला बोकेर मेरो पछि लागेर अगाडि हिँडिरहेको मैले थाहा पाइरहेको थिएँ। त्यो एउटा त्यस्तो खबर थियो जसले हामी भुराहरूको शरीरमा बेग्लै फूर्ति उमारेको थियो।
हाम्रो भान्सामा मासु एकदमै कम्ती पाक्ने खान्कीमा पर्दथ्यो। सानो कोठेबारीमा आमाले रोपेका लट्टे, रायो, पालुङ्गो, गोलभेडा आदिले कयौं महिना ठेल्थे। पाँच/छ सिमी र एक दर्जन जति बोडीका लहराले अर्का दुई महिना जति धान्थे। रायोको साग सुकाएर बनाएको गुन्द्रुक र मुलाको सिन्कीले पनि धेरै समय ठेलिहाल्थ्यो।
सुक्खा हिँउदमा पनि हाम्रो कोठेबारी प्रायः हरियो नै हुन्थ्यो। त्यसमा केराका थाम काटेर त्यसका बोक्रा उधारी चापाकल पेटका लुम्सा बटारिने गरी मच्चिएर चलाएपछि आएको पानीले काम गरेको हुन्थ्यो। बारीका पानी पटाउने काम चाँहि मेरो भागमा पर्ने। मासु खान आजको ताजा खबर हाम्रा कानले भन्दा छिटो जिब्रोले ज्यादा सुनेको थियो।
ठ्याक्कै सम्झना छ, साउनको बेला थियो। घरबाट स्कुल पुगुन्जेल तीन ठाउँमा साना खोल्सा तर्नु पर्दथ्यो। अरुबेला कमिला कुद्ने खोल्सा वर्षा याममा बहुलाएका हुन्थे। तीन दिन मात्र अघि यिनै मध्येको एउटा खोल्साले बगाएर गाउँका गौतम बाको ज्यान गयो।
आँठ-पाँच रक्सी पिएर चर्को स्वरमा कराँउदै रातविरात दौडिने गौतम बुढा त्यो रात पनि मातेकै थिए। थोरै पिए पनि त्यसको तुजुक उनमा ज्यादा सवार हुने। मातेपछि रातो फेटावाल याक सिगरेट तान्थे।
धुँवाको सर्को हिन्दी फिल्मको खलनायकले झैं आकाशतिर मुन्टो उचालेर जोडले फाल्थे। लेसवाला सेता सफा जुत्ता लगाएर बिहान चिया पसलमा गफिएको देखिने उनी साँझ किन रौद्र रुपमा बद्लिएका होलान्, गाउँ नै छक्क पर्दथ्यो।
सफा लुगा लगाउने र संस्कृतका श्लोक पनि जोडले भट्याउने उनको बानी थियो। नमातेको बेलामा भने यति भलाद्मी कि गाउँका हरेक सामाजिक छलफल, बैठक आदिमा उनी गज्जबसँग प्रस्तुत हुने। न्याय अन्याय पर्गेलेर साँध सिमानाका घरेलु झगडा मिलाउन पनि उनी सिपालु थिए।
पुरोहितको र रेडियो बजिरहने हाम्रो घरमा उनी बिहान र बेलुका ७ बजेको समाचार सुन्न वा कतै जानुपरे साइत हेराउन आइपुग्थे। उनी यति नियमित थिए कि कुनै दिन त्यो समयमा उनी आएनन् भने हामी लख काट्थ्यौं, आज पक्कै पनि बुढा बिमारी छन्।
फिका चिया कहिल्यै नपिउने उनको बानी। बुबालाई शिर निहुर्याएर नमस्ते गरेपछि उनी हाम्री आमातिर हेर्दै भन्थे, ‘गुरुआमा, म कडा रंग हालेको दूध चिया मात्र पिउँछु।’
वरिपरि कसैका घरमा खसी काट्ने भए कपिको पन्नामा मासु खानेहरूको नाम टिपिन्थ्यो। एक केजी, आधा केजी र एकपाउको हिसाबमा विलो लाग्थ्यो। एक पाउको सूचीमा उनको नाम चढ्ने गरेको सम्झन्छु।
बिहान बुबाले जुन सूचना सुनाउनु भएको थियो, त्यसमा उनै गौतमका लागि पनि एक पाउ लेखेको रहेछ। मत्लब मैले त्यो दिन पोलिथिनका दुई वटा झोला लिएर जानु थियो मासु लिनको लागि।
बिट नउठाएको कलभर्टको छेउबाट चिप्लिएर खोल्सामा खसेका उनी दुई किलोमिटर टाढा भेटिए। रक्सीको तेज तुजुकमा खुट्टा उचाल्दै ठमठमी हिँडेका उनको खुट्टोले कलभर्टको छेउ छोडेको उनले पत्तै पाएनन्। सोझैँ पुलमुनि झरे।
तीन घण्टापछि भेटिँदा उनको शरीर पानीले ढाडिएको थियो। मुख र नाक फोहोर बालुवाले टालिएका। ठाँउ-ठाँउमा चोके बिझेर हुनसक्छ, शरीरबाट अझैं आलो रगत बगिरहेको। कस्तो भयानक रात! कति नजिक मडारिरहेको हुन्छ है कालको कालो बादल। म अवाक् भएँ।
आजै बिहान पनि उनले पिएको चियाको गिलास हाम्रो घरको जुठेल्नोमा म स्कुल जाउन्जेलसम्म थियो। उनी छैनन्, उनको शरीर मात्र छ, त्यो पनि भोलि चितामा चढेपछि पञ्चतत्वमा विलीन हुनपुग्छ।
त्यस दिनदेखि मलाई गीत कवितामा भनिएजस्तै लाग्छ मान्छेको चोला। कहाँ पुगेर दम सकिएको घडीको काँटाजस्तै टक्क अडिने हो, अन्दाज गर्न पनि गाह्रो। नजिकैबाट लाश देखेको त्यो कालो रात सम्झिँदा ऐठन होलाजस्तै हुन्छ अझै पनि।
भर्खर प्रजातन्त्र आएको याम। राजनीतिमा चाख राख्ने गौतम बाले साँझ ७ बजे प्रविण गिरीले रेडियो नेपालबाट समाचार टुङ्ग्याएपछि सिगरेट सल्काउँदै अदवको भाषामा भनेका थिए, ‘पर्सि मेरो लागि पनि एक पाउ मासु लेखाएको छु, ल्याइदेऊ है बाबु, म यहीँबाट लैजान्छु।’
घाँटीमा बसेको थोरै कफ सफा गर्दै खकारेर त्यसपछि भट्टीमा पसेका उनको रवाफ त्यसपछि रमितालाग्दो भएको थियो। विचराको यो नै अन्तिम दिन रहेछ। मैले सधैँ स्कुल जाँदा तर्ने खोल्साले बगाएर उनको प्राण लियो।
एक पाउ मासुका अगाडि लेखिएको उनको नाम गह्रौं हातले कसैले केरमेट गरिदियो। खसी काट्नेले दुई दिनअघि गाउँलाई सधैँ चाहिरहने एकजना व्यक्ति यसरी लामो निद्रामा गए।
पर्सि मासु पाक्ने निधो भइसकेपछि ध्यान अन्त जाँदै गएन। बहिनीहरूलाई जतनसँग कुनैलाई बोकेर र कुनैलाई हातमा दह्रोसँग समातेर हतेरिँदै स्कुल जाने बाटोमा पार गर्नु पर्ने त्यो खोल्सो पारिबाट थोरै छड्के परेर देब्रेतिर हेर्दा पर्सि खसी काट्ने काकाको घरको जस्ता टल्कन्थ्यो।
उनको करेसामा कतै आक्कल झुक्कल देखिने कालो खसीमा पुगेर आँखा अडिए। लाग्यो, हाम्रो भागमा पर्सि अलिकति यसैको अंश आइपुग्छ।
मान्छेको जात कस्तो जब्बर है! मलामी गएर फर्किएको अर्को घण्टा नबित्दै गृहस्थको गोलचक्करमा सबै उसैगरी लागिहालेका। आ-आफ्नो लय र मेलोमा फर्किहालेका।
गाउँको एउटा घरको एउटा बिच्छ्यौना घट्यो। गाउँको साँझ अबेरसम्म खुल्ने भट्टीको जमघटको एउटा गज्जवको पात्र घट्यो। साँझ गिलास उठाउने एउटा हात घट्यो। रक्सीको नसामा अनेकथरी बोल्ने, नेताहरूलाई औंला ठड्याँउदै गाली गर्ने व्यक्ति निष्प्राण भयो र ढल्यो।
गाउँका घरझगडा र साँध सिमानामा किचलो मिलाउन हुने छलफलको एउटा कुर्सी घट्यो। एउटा सिन्दुर पुछियो। छोराछोरीलाई ओत दिइरहेको अभिभावक रुपको छानो हट्यो।
अब गाउँको बुद्धिमान दर्जीले उनका लागि खाँडीका खौरा सुरुवाल सिँउनु पर्दैन। भर्खर रक्सी पिएको ओठमा च्यापिएको चुरोट सल्काउन मसँग सलाई माग्दैनन् अब उनले। उनलाई पनि मलाई जस्तै खसीको मासु स्वादिलो लाग्थ्योहोला।
अस्ति वैशाखमा टंक चापागाईंको आँगन मासु भाग लगाउँदा टाठो स्वरमा ‘बुढो मान्छे हुँ, हाड छाला नपरेको हाल्दे है’ भनेका थिए। मासु विलो लगाएको गाउँको कुनै आँगनमा अब उनी पुग्ने छैनन्।
एक पाउ मासुमा बिहान लेखिएको उनको नाम अर्को बिहान मेटाइयो। चिया दोकान चोकको यही चिया पसलमा हिजो बिहान र दिँउसो चिया पिउने मध्येको एकको चिताको लागि आज दाउरा खरिद गर्न सल्लाह हुँदैछ।
***
हाम्रा पनि थोरै जिरे खुर्सानी र मरमसला सिलौटोमा पिनेर हाली थोरै तेल र मरमसलासाथ भड्डु भाँडोमा पकाएको खसीको मासुको झोलसँग भात नखाएको तीन महिना बितिसकेका थिए। यसपछि अब एकैचोटि दसैँको अष्टमीमा मात्र मासु खान पाइन्थ्यो। अर्थात् पर्सिपछि अर्को तीन महिना कुर्नै पर्दथ्यो हाम्रो भान्सा उज्यालो हुनका लागि।
एकातिर गाउँका बुढाको शोक त अर्कातिर पल्लो गाउँका काकाकहाँ काटिने खसीको मासु भागका लागि नाम चढिसकेको अवस्था। घर मास्तिरको चिया पसलमा भोलिपल्ट बिहान आएका खसीघरे काकाले गमेर निधो सुनाए- जे जस्तो भए पनि भोलि खसी ढाल्ने नै भइयो।
यो उनको निर्णय तम्तम्याइलो मान्दै त्यहाँ बजिरहेको रेडियो सुनिरहेका अरुले पनि स्विकारे। तिज र कुशे औँसी आसपासको हिलाम्य बिहानको यो खबर मासुका लागि नाम टिपाइएको र बुढापाकाहरूका गफ सुनिरहेको मैले पनि सुनेँ।
अबको तेस्रो छाकमा त स्टिलको थालमा भातसँगै गुन्द्रुकको धमिलो झोल मात्र पक्कै आउँदैन। घरमा अरुले थाहै नपाई मैले एउटा पोलिथिन झोला लुकाइसकेको थिएँ।
साँझको भातसँग लट्टेको झोल तरकारीले टर्यो। गोरसमा उत्ति मन नभिजेको मलाई यो लट्टेको तरकारी सानोतिनो सजाय नै लाग्छ। आफूलाई मन नपरेर होला, भान्सामा धेरै दिनदेखि एकनासले पाकिरहेको लट्टेको एकपाराको मन नपर्दो गन्ध नाकले परैबाट थाहा पाउँछ। आज पनि त्यस्तै भयो।
जसोतसो खाएर किताव पल्टाएँ। अंग्रेजी, गणित र विज्ञान शिक्षकले दिएका गृहकार्य सकुन्जेलसम्ममा लालटिनको आगो पनि बलुँ कि नबलुँको भाकामा ओर्लिसकेको थियो। मट्टितेल पिँधमा पुगेको अवस्थामा त्यो यस्तै गर्छ।
एकछिनअघिसम्म कृष्ण चरित्रका श्लोक भट्याइरहनुभएकी आमा अघि नै मलाई ‘राम्रो पढ है’ भन्दै झुलभित्र पसिसक्नु भएको थियो।
घरमुनिको एक पाखोमा बाँधिएको गाई र त्यसको कथुरी बाच्छोलाई बिहान तातो कुँडो पकाएर दिएपछिको करिब एक घण्टा म किताब समाउन पुग्थेँ। बहिनीहरूले गृहकार्य गरे कि गरेनन् भनेर जाँच्थेँ। त्यतिन्जेलसम्ममा भात पाकिसकेको हुन्थ्यो।
हतारमा गाँस निलेर स्कुल जाँदा भरे साँझको भान्साको स्वाद सम्झिँदै थिएँ। सम्झिँदा वा कल्पना गर्दा पनि पनि मजा आउने!
स्कुलबाट फर्किंदा घाम चिया बगानको ठूलो गुलमोहरको रुखको टुप्पोमा पुगिसकेको थियो। सोझै घर पुगेर कपडा खोल्ने र तीन दिनअघि लुकाएको पोलिथिनको झोला बोकेर मासुको एक भाग लिन पल्लो गाउँ जाने। मन र खुट्टा एउटै गति र ठेगानामा उठे, उचालिए र दौडिए।
त्यो दिन म बाटोमा हिँडिनँ। बाली लगाएको खेतै खेत दौडिएँ। धानका गाँज हरियो फिरिसकेका खेतका गह्राहरूको हिलोमा कहीँकहीँ खुट्टा भासिएको मतलब पनि गरिनँ। अघि नै भाग लागिसकेका मासुका थुप्रामध्ये एउटा मेरो झोलामा पर्छ भन्नेमा ढुक्क थिएँ।
बाँसको मुडामा बसेका घरधनी काकाले पालैपालो नाम बोलाउँदै मासुका भाग उठाएर दिँदै गए। अग्ला र ठूलाहरूका चेपबाट मासुका भाग देख्थें। ती एक एक गर्दै उठ्दै गए। म पालो पर्खिरहको थिएँ। कान थापेर बुबाको नाम सुनिरहेको थिएँ। अहँ! बुबाको नाम उच्चारण भएन।
मान्छेहरू हातहातमा मासुका भाग पसेका झोला उचाल्दै घरतिर लाग्दै गए। अन्तिममा खसीको आन्द्राभुडी, रगत र एकभाग मासु बोकेर काका पनि घरभित्र पसे। उनको आँखामा म त्यो अपरान्ह पर्न सकिनँ। कसो-कसो उनी घरको मूलढोकाबाट छिर्नै लाग्दा म देखिएछु।
‘ए तिमी पनि आएका थियौ?’ डुब्न लागेका घामका किरण उनका पहेँला दाँतमा पर्दा थप पहेँला देखिए। दाहिने हातको बुढी औँलो टोक्दै उनको आँगनमा उभिएको मलाई केही बेरपछि बाहिर निस्किएका उनले सान्त्वनामा यति चाहिँ भने, ‘अब अर्को पटक खसी काट्दा चाहिँ छुटाउदिनँ है।’
मलाई उनीबाट केही सुन्नु थिएन। उल्टा पाइला हिलो खेत र खोल्सा छिचाल्दै घर फिरेँ। रित्तै फर्किएको मलाई परैबाट देख्नु भएकी आमा बारीमा पसेर लट्टेका पात चुँड्न थालिसक्नु भएको थियो। हारेको सिपाहीझैं थकित म घर पुग्दा घाम पनि थाकेर बास बस्न लागेको थियो।
मिठो नमिठो कस्तो थियो नभनौं, तर त्यो साँझको लट्टेको झोलको स्वाद भने आजसम्म पनि सम्झनामा छ। मासुको एउटा भाग बोक्न नपाएको मजस्तै रित्तै फर्किएको त्यो पोलिथिनको आकाशे रंगको झोला धेरै दिन पछिसम्म मेरा किताब कपिको चाङ भएको टेबलकै एक कुनामा थियो।