सकुको नाम फेरि सूचीमा आयो- ‘ट्रान्सफर टु सिइसिओटी।’
उनी न त रोइन्, न चिच्याइन्। बस् सास फेर्न केही गाह्रो महसुस भयो।
एल साल्भाडोरको भीषण गर्मी, जेलका बाक्ला पर्खाल र क्यामेराले भरिएको प्रत्येक कुनाले उसमा एउटा नयाँ भय रोपिरहेको थियो। सिइसिओटी— सेन्ट्रो दि कनफाइनामिन्टो पारा टेरोरिस्टस नाम मात्र सुन्दा पनि नसा चिसो हुन्थ्यो। यो जेल कुनै आम कैदखाना थिएन। यो सरकारको ‘प्रदर्शन’ थियो कडा कानुनको, नियन्त्रणको र पीडाको।
जेलको खरानी रङ युनिफर्म लगाएकी उनी चुपचाप उभिएकी थिइन्। छेउमै केही कैदीहरू आपसमा स्पेनिसमा कुरा गरिरहेका थिए। हावामा घमन्ड र डर मिसिएको थियो।
त्यत्तिकैमा छेउको कक्षबाट आवाज आयो, ‘ए, बहिनी! तपाईं नेपाली हो?’
सकुले झसङ्ग भइन्। त्यो आवाज परिचित जस्तो लाग्यो।
घुमेर हेर्दा एक जना गोरो अनुहारमा धुलो टाँसेको, झिनो दाह्री भएको युवक। उसले फेरि भन्यो, ‘म प्रेम! बागलुङ। तपाईं त अमेरिकाबाट होइन होला नि?’
‘म युरोपबाट… तर तपाईं ?’ सकुका आँखा अचम्मले ठुला भए।
‘हामी तिनीहरू हौँ, डिपोर्टेड् नेपालीहरू,’ उसले गम्भीर स्वरमा भन्यो, ‘तीन जना छौँ यहाँ। म, गणेश र रुबिन। अमेरिका पुगेका थियौँ। कागजात नभएको दोष। अनि गयो सबै सपना।’
सिइसिओटीमा जीवन भनेको पीडा अनि अनुशासनको संयोग थियो। खाना थोरै, निद्रा सधैँ सतर्क। तर नेपालीहरूबिच केही समयपछि एउटा अनौपचारिक 'भोजन समूह' बन्दै गयो।
सकु, प्रेम, गणेश र रुबिन जेलको कठोरता भित्र पनि एउटै भाषाको शरणमा बाँधिए।
एक साँझ गणेशले सकुलाई भन्यो, ‘हामी यहाँ आतंककारी होइनौँ। तर हाम्रो उपस्थिति यहाँ आतंकको लज्जासँग जोडिएको छ। के यो हाम्रो नियति हो?’
सकु मौन रहिन्। किनभने उनलाई थाहा थियो, यो प्रश्नको जवाफ कुनै देशको कानुनसँग थिएन। यो मानवताको मौन अपराध थियो।
सिइसिओटी जेलकको बाक्लो गन्ध, साँच्चै त्यो गन्ध केवल कैदीहरूको पसिनाको मात्र थिएन। त्यो गन्ध थियो हराएका सपना, थिचिएका चिच्याहट र नपुगेका आशाहरूको। चारैतिर शान्ति थियो तर त्यो शान्ति मृत भावनाहरूको सन्नाटा थियो। सकु, गणेश र रुबिन ती तीन जना नेपालीहरू कोठाको एक कुनामा चुप लागेर बसेका थिए। बोल्ने आँट कसैमा थिएन तर सासको धकधक अझै बाँकी थियो।
यति बेला प्रेम उठे, एकैछिन आँखाहरू बन्द गरे अनि बोल्न थाले। उनको स्वर कठोर थिएन तर थामिएको, तिक्त र सत्यले खारिएको थियो। त्यो आवाज जीवनका चोटहरूको दस्ताबेज बनिसकेको थियो।
‘म प्रेम,’ उनले भने, ‘बागलुङको एउटा सानो डाँडाको गाउँबाट आएको। विद्यालयको शिक्षक थिएँ म। बिहान स्कुल पुग्ने, बेलुकी खेतमा काम गर्ने फर्किने मेरो दिनचर्या थियो। मेरा हातहरूमा कलम र कोदालो दुवै थियो। जीवन कठिन थियो, तर सरल पनि।’
उनको स्वर अझै सुस्केराझैँ बग्दै थियो।
‘मेरो श्रीमती एक सज्जन महिला जसले कहिल्यै बडो सपना देखिनन् तर मेरो सानो प्रगति देखेर खुसी हुन्थिन्। छोरी अहिलेसम्म स्कुल जान्थी, बुवाको मुख हेरिरहन्थी। बुबा थलिएका, रोगले थिचिएका। आमा जंगल जान्थिन्, डोको बोकेर घाँस काट्थिन्। हामीसँग सम्पत्ति थिएन तर हाँसो थियो, परिवार थियो, एक आपसप्रतिको भरोसा थियो।’
सकुले गहिरो सास फेरिन्। ती शब्दहरू उनको आफ्नै जीवनसँग मिसिन थालेका थिए। उनले प्रेमका आँखामा त्यो गाउँ देखिन् जहाँ पहाडहरू थेग्न नखोजी बाँचिरहेका थुप्रै 'प्रेम' हरू थिए।
त्यसैबिच, प्रेमले भनिरहे, ‘गाउँमा आयो विक्रम। पहिरो जस्तै आएर सबैको मन बगाउने शब्द बोल्ने। भन्यो अमेरिका जान पर्छ। तीन महिनामा डलर बर्सिन्छ। तिमीले आमा अस्पताल लैजान सक्छौ, छोरीलाई निजी स्कुलमा पढाउन सक्छौ। म पनि बहकिन्छ किनकि आशा कहिल्यै विरोध गर्दैन।
मैले खेतको टुक्रा बेचेँ, ऋण लिएँ, तागाधारीसँग पैसा बुझाएँ। गाउँका सबै हेरिरहेका थिए, मानौँ अब म भगवान् बन्ने थिएँ। म काठमाडौँ झरेँ, दुबई जानको लागि, भ्रमण भिसामा जान लागिएको हो भनेर भन्नू तर त्यो दिन त्रिभुवन विमानस्थलको अध्यागमनले मलाई उड्न दिएन। टिकटदेखि होटेल बुकिङसम्म सबै रद्द भयो। केही दिनपछि म फेरि प्रयास गर्न बाध्य भएँ। यसपालि एजेन्ट र सरकारी कर्मचारीलाई करिब दुई लाख रुपैयाँ थप घुस दिनुपर्यो। त्यसपछि मात्र मलाई उड्न अनुमति दिइयो। केही महिनापछि यो खाले भ्रष्टाचार बाहिर आयो र नेपालमा 'भिजिट भिसा काण्ड' भनेर चिनियो। म त्यो काण्डको प्रत्यक्ष साक्षी बनेँ।’
‘दुबईमा,’ उनले भन्न थाले, ‘सुरुमा लागेको थियो एउटा ट्रान्जिट हो। दुई हप्ता, सायद एक महिनापछि अमेरिका पुगिन्छ भन्ने थियो। नेपाली एजेन्टले भनेका थिए- दुबईमा तिमीलाई अलिक समय राखिन्छ अनि दक्षिण अमेरिकाको टिकट मिलाइन्छ।
तर त्यो समय अलिकति लामो खिचियो। मलाई एक जना ‘भीरेन्द्र’ भन्ने नेपाली एजेन्टले एयरपोर्टमै एक जना अरबीजस्तो देखिने व्यक्तिलाई बुझाए भने- अब तिमीलाई यिनले हेर्छन्।
त्यसपछि म एक ‘बेड स्पेस’ भएको कोठामा पुर्याइएँ जहाँ अफ्रिकी, बङ्गलादेशी, पाकिस्तानी मजदुरहरू थिए। त्यो कोठामा हावा थिएन, समयको गणना थिएन।’
सकुको निधारमा चिसो पसिना देखा पर्न थाल्यो। प्रेमको शब्दहरू केवल वर्णन थिएनन्, ती पीडाको प्रत्यक्ष गन्ध बोकेका थिए।
‘त्यहाँ मलाई केही समय टेम्पोररी काममा खटाइयो निर्माण साइटमा। कहिले गोदाममा बक्स उठाउने, कहिले सडक किनारमा ढुंगा थुपार्ने। मेरो पासपोर्ट खोसिएको थियो। खानाको लागि लाइन लाग्नुपर्थ्यो र सुस्तरी भन्छु, त्यो खाना कुनै पशुले पनि राम्ररी नखान सक्छ।’
‘ती दिनहरूमा,’ प्रेम अगाडि बोले, ‘म जहिल्यै सोध्थेँ कहिले जाने? एजेन्ट जो कहिल्यै सोझो आँखाले हेर्दैनथे भन्थे- अबको हप्ता। तर त्यो हप्ता कहिल्यै आउँदैन थ्यो। अनि एक दिन एक गडबड बोली भएको कालो छालाको व्यक्ति आयो। नेपाली एजेन्टले हात मिलाउँदै भने- अबदेखि यो तिम्रो मान्छे हो। यो अफ्रिकन एजेन्टले तिमीलाई पुर्याउँछ अमेरिकासम्म।
म अवाक् भएँ। त्यो क्षण बुझेँ, म त बेचिएको रहेछु। मानौँ जीवनको नियन्त्रण अब मेरो हातमा थिएन, त्यो त अर्को मान्छेको ‘डिल’ बनिसकेको थियो।
त्यो अफ्रिकन एजेन्टले मलाई चुपचाप एयरपोर्ट नजिकको एउटा ‘सेफ हाउस’ मा लग्यो। त्यहाँ अफ्रिकी, दक्षिण एसियाली, केही दक्षिण अमेरिकी युवाहरू थिए सबै एउटै सपना बोकेर तर आ-आफ्नै दुःस्वप्न बोक्दै। हामीलाई भनिन्थ्यो- अर्को हप्ता यात्रा सुरु हुन्छ। तर त्यो 'अर्को हप्ता' पनि लगातार झुट थियो।’
उनको स्वर झन् गहिरो भयो।
‘मैले धेरै पटक सोचेँ, त्यो बेला फर्किए हुन्थ्यो। तर फर्किनु भनेको आफूलाई ‘असफल’ घोषणा गर्नु थियो। समाज, परिवार, छोरीको भविष्य... ती सबैले मलाई पछाडि फर्किन दिएनन्। अनि सुरु भयो त्यो यात्रा त्यो यात्रा यात्राजस्तो थिएन, त्यो त एउटा मनोवैज्ञानिक जल्लाद थियो जसले मेरो आत्मालाई दिनहुँ चिरफार गरिरह्यो।’
उनको आवाज बिस्तारै कठोर हुँदै गयो जस्तै जीवनले आफूलाई बनाएको थियो, कडा, नबोल्ने, भावनालाई काँडाले बेरेको जस्तै।
‘म टर्की हुँदै ब्राजिल, कोलम्बिया अनि पनामा। त्यसपछि सुरु भयो जंगल दारियन ग्याप। त्यो जंगल… त्यहाँ मान्छे मात्र होइन, आत्मा पनि हराउँछ,’ प्रेमले एक गहिरो सास फेर्यो। त्यो सास भित्र पीडा थिएन, केवल रिक्तता थियो। आँखा सुक्खा देखिन्थे सायद आँसु कतै बाटोमै हराइसकेका थिए, जस्तै सपना र शरीरका क्षमताहरू जो एक एक गर्दै हिँड्दै गर्दा हावासँगै बगिसकेका थिए।
संसारले जुन यात्रालाई ‘अवसरको बाटो’ भनेर पुज्छ, प्रेमका लागि त्यो केवल एउटा आत्माको क्रूर परीक्षा थियो जसमा उसले अपराध गरेको थिएन तर सजाय पाइरहेको थियो।
टर्कीको इस्तानबुलमा प्रेमले पहिलो पटक अन्तर्राष्ट्रिय विमानस्थलको धड्कन महसुस गर्यो; चम्किला बत्तीहरू, अनुहारमा आइसकेको लोभ र डरको मिश्रण अनि उही एजेन्टको स्वर, ‘अब सजिलो छ, यहाँबाट ब्राजिल त्यसपछि त अमेरिका नजिक।’
त्यहीँदेखि सुरु भयो ‘अन्तर्राष्ट्रिय अपहरण’ पैसाको। हरेक देशमा प्रवेश गर्नुअघि एजेन्टले कठोर अनुहारमा पाँच हजार डलरको माग गर्थ्यो बिना पूर्व सूचना, बिनासम्मान। ब्राजिल पुग्दा रियोको समुद्र किनाराको तस्बिर सम्झने त कुरा टाढा भयो, उसले सहरको छेउको झुपडीमा साँघुरो कोठामा बाँकी नेपालीहरूसँग रात बितायो जहाँ खानामा चामलको बदबुदिएको गन्ध थियो अनि संवादमा केवल शंका र तर्स।
एजेन्टले फेरि चिच्यायो, ‘पैसा कहाँ छ? अरू त अघि बढे, तिमी मात्रै रोकियौ।’
प्रेमले मोबाइलको झ्याल खोलेर नेपालमा कल गर्यो। त्यसपछि सुरु भयो गाउँमा एउटा आँसुको अभिशप्त यात्रा श्रीमतीले सासूको गहना, देवरको ऋण, माइतीतिरको धानबारी सबै गुमाइन्, टोल-टोल ढोका ढकढक्याउँदै पैसा नभई ‘मानिस बचाउन’ मागिन्।
कोलम्बियामा झन् गहिरो पीडा पर्खिरहेको थियो। बारान्क्विलाको सडकमा हिँड्दा प्रहरी आएर सोध्यो, ‘कहाँ जाँदै छौ?’ जवाफ पुग्दैन थियो, भिसा सकिएको, हिरासतको चार रात जहाँ भित्री थुनुवा आँगनमा ऊ नाम नलिने भाषाहरूको चिच्याहटमा निदाउने कोसिस गर्थ्यो। त्यहाँ उसले पहिलो पटक बुझेको थियो; पृथ्वीमा सबै देशहरूले स्वागत गर्दैनन्, कुनै देशहरूले त तोड्दछन्, च्यात्दछन्।
त्यसपछि ऊ बाँकी जीवनमा त्यो कुरा कहिल्यै भुल्न सकेन। ऊ अब ‘कागजविहीन आत्मा’ भएको थियो।
पानामाको जंगल दारियन ग्याप प्रेमका लागि एउटा यस्तो नरक थियो जहाँ शरीरले भन्दा आत्माले चिच्याएर हार मान्थ्यो। खोला तर्ने क्रममा रमेश चिप्लेर बग्यो। प्रेमले हात लम्कायो, छाती चिच्यायो, ‘पकड रमेश!’ तर त्यत्तिकैमा तस्करले बन्दुक ताक्यो- ‘छोड उसलाई।’ त्यो ‘छोड’ शब्द प्रेमका लागि केवल आदेश थिएन, त्यो जीवनभर बाँकी रहने अपराध बोधको जन्म थियो। रमेशको ‘आमा!’ भन्ने अन्तिम चिच्याहटले आज पनि प्रेमका कानभित्र गुन्जाइरहन्छ। त्यही दिनदेखि उसले बुझेको थियो; ऊ बाँचेको थिएन, ऊ बस बाँकी थिएन।
नेपालमा त्यति बेलासम्म प्रेमको नाम लिने सबै आवाजहरू चिसिँदै गएका थिए। श्रीमती अब मध्यरातमा झसङ्ग ब्युँझिन्थिन्, छोरीले विद्यालय जान छाडेकी थिई। पुरानो फोटो जुन कुनै समय गर्व थियो, अब रङ उडिसकेको कागज मात्र थियो। एजेन्ट भने पटक–पटक एउटै सन्देश पठाउँथ्यो, ‘अब मेक्सिको पुग्न पाँच हजार डलर चाहियो, नत्र तिमी यहीँ अड्किन्छौ।’
प्रेम त्यो स्थानमा थियो जहाँ जीवन बचाउन आत्मा गुमाउनु परेको थियो र आत्मा गुमेपछि पनि यात्रा अझै बाँकी थियो।
पानामाबाट उम्किएपछि प्रेमको यात्रा रोकिने होइन, त्यसपछि त झन् जसरी पनि अमेरिका पुग्नै पर्ने बाध्यता भयो। एक देशबाट अर्को देश, प्रत्येक सीमामा उसले एक चोटि मर्नु पर्यो। एक चोटि नेपाली नागरिक भएर, अर्को चोटि मानव भएर।
उसले सास रोकेको थियो— शरीरले मात्र हैन, आत्माले पनि।
‘कोस्टा रिका... त्यहाँ पुग्न मैले तीन दिन भोकै हिँडेँ, खोला तरेँ, पहाड चढेँ। त्यो देश सुन्दर थिएन, कम्तीमा मेरो लागि होइन। त्यो देश 'पशुजस्तो' हिँड्न सिकाउने देश थियो। एजेन्टले भनेको थियो— सास पनि ननिकाली हिँड्नु पर्छ, झुकिएर, डराएर, हराएर।
मैले सास रोकेको थिएँ, शरीरले मात्र होइन, आत्माले पनि।
निकारागुआमा त झन् अरू थोकै भयो। एक रातको जेल, दुई दिन जंगल। कुनै आरोप थिएन तर हामी ‘अपराधी’ जस्तै थियौँ। सैनिकहरूले समातेर गोठमा हाले, बिहान जंगलतिर फर्काएर छाडे। फेरि नयाँ बाटो—नयाँ डर, नयाँ चोट।
होन्डुरास पुगेपछि म एघार दिनसम्म नुहाएको थिइनँ। खुट्टा सुनिएको थियो, छालाले रङ फेरेको थियो। एउटा रात, हामी एक हिउँजस्तो चिसो खोला तर्दै थियौँ— शान्त जंगलभित्र। त्यही बेला मैले एउटा सानी केटी देखेँ जो आमाको हात तान्दै रुँदै थिई तर आमा उठिनन्। म चिच्याउन चाहन्थेँ तर स्वरै निस्केन।
ग्वाटेमालामा त झन् नरक देखेँ। पैसा ढिलो भयो भनेर एजेन्टले धम्कायो— छाडिदिन्छु भनेर। मैले श्रीमतीलाई कल गरेँ। उनले भनिन्, 'अब केही बाँकी छैन, घडेरी पनि बेचिसकेँ।'
त्यो रात मलाई एक गोठमा थुनेर राखियो, एक महिला र अन्य चार जनासँग। हामी ‘मानव सामान’ थियौँ, पैसा नआएसम्म थुनिएको।’
ग्वाटेमालाबाट मेक्सिको पस्ने क्रममा प्रेमले नयाँ नक्सा सम्झनु पर्यो। ती नक्साहरू कागजमा थिएनन्— तिनीहरू शरीरमा कुँदिएका घाउजस्ता थिए।
तपशुला हुँदै टेना, अनि चिआपास पुग्दा ऊ पहिलेभन्दा आधा मानिसजस्तो देखिन्थ्यो। त्यहाँ उसले ‘ला बेस’ नामक एउटा सस्तो ‘क्याम्प’ मा पाँच दिन बितायो। मानिसहरू थुप्रिएका थिए—जसको अनुहारमा थकान मात्रै थिएन, मृत्युको प्रतीक्षा पनि थियो।
एजेन्टले भने, ‘अब अन्तिम चुनौती बाँकी छ—जंगल।’
अमेरिकाको सीमावर्ती सहर—सान लुइस, एरिजोना नजिकको मेक्सिकन भूमिमा। रातको ११ बजेको थियो, तिनका टोलीले यात्रा सुरु गरे। क्याक्टसका बोट, बालुवाको डाँडा अनि आकाश भरिएको तारा। तर ती ताराले दिशा दिँदैन थिए, केवल साक्षी बनेर टुलुटुलु हेर्थे।
उनीहरू तीन दिन हिँडे। एक जनाको पिठ्यूँमा बच्चा थियो, अर्कोको खुट्टा सुन्निएको। प्रेमको शरीर भोक र तिर्खाले गलेको थियो तर चेतना अझै बाँचिरहेको थियो— केवल ‘अब पुग्नै पर्छ’ भन्ने वाक्यको भरमा।
‘अन्ततः जब म अमेरिकी भूमिमा उभिएँ, तस्करले भन्यो- अब तिमी आफैँ जिम्मेवार। त्यो माटो मेरो लागि नयाँ सासजस्तै थियो। तर मन? त्यो अझै ग्वाटेमालाको त्यो सानी केटीसँगै अड्किएको थियो। आत्मा? त्यो त रमेशको ‘आमा!’ भन्ने चिच्याहटसँगै दारियन ग्यापमै हराएको थियो।’
(लेखकको प्रकाशनार्थ उपन्यास 'रमिला' को एक अंश।)