आजभन्दा करिब १८ वर्ष अघि घरमा डाइनिङ टेबल भित्रियो। बडेमानको, गजबको। चिटिक्क परेको, सानदार, बबाल। कुनै खाइलाग्दो रुखको देहबाट सज्जित थियो। कलाकारिता र मेहनतको उत्तम नमुना। घरको प्रतीक र परिवारको चौतारी। बिहानको पधेरोदेखि बेलुकीको भलाकुसारी, सबैको थलो, डाइनिङ टेबल।
गोलोभन्दा गोलो पनि होइन, चार पाटे भन्दा चार पाटे पनि होइन। चार पाटे र गोलो बिचको कुनै आकार थियो। अङ्ग्रेजीमा ‘ओभल’ भन्छन् क्यारे। जस्तो पनि थियो, भान्सा कोठासँग ठ्याकै मिलेको थियो। परिवारसँग मेल खाएको थियो।
बाल्यकालदेखि आज सम्मको हुर्काइको ऐना हो यो। बाल्यकालको लुकामारीको गुफा हो यो, जीवनयापनको संसद् हो यो। यही संसदबाट जीवनको बजेट पारित भयो। कुन स्कुल पढ्नेदेखि के विषय पढ्नेसम्म, अब के गर्नेदेखि अब कहाँ जानेसम्म। सबैको साझा यही डाइनिङ टेबल भयो। यो त परिवारको बिम्ब नै भयो।
बिहानीको चियादेखि बेलुकाको खानासम्म। स्कुलको होमवर्कदेखि पाहुनाले ल्याएको फलफूल सम्मको थलो थियो डाइनिङ टेबल। परिवारको मैदान थियो यो। भलाकुसारी गर्ने माध्यम थियो यो। जीवनलाई यहाँसम्म पुर्याउने पञ्चायत थियो यो।
यसले समयको घडी रोकिदिन्थ्यो। खाएको खाना पचाई दिन्थ्यो, जुठो हातलाई करकर सुकाइ दिन्थ्यो। यसैले परिवारलाई परिवार बनाइदिन्थ्यो। बडो गजबको थियो यो, मौन रहे पनि, परिवारलाई वार पार राखे पनि साथमै बनाइदिन्थ्यो।
यसले परिवारको सुख देखेको छ, रोदन देखेको छ। परिवारको सपना देखेको छ। परिवारको प्रतिबिम्ब भएर पनि यो मैन छ। यसले पूजा कोठाले नसुनेको प्रार्थनाहरू, ईश्वरसँग नमागेका कामनाहरू सुनेको छ। यो एक प्रकारले सँगसँगै बस्ने, मौन भई हाँसी खेल्ने देवता नै रहेको छ। यसले मात्र परिवारको इतिहास लेख्ने सामर्थ्य बोकेको छ किनकि यसबाटै परिवारको इतिहास लेखिएको छ।
तर आज यो इतिहासकारसँग लेख्ने इतिहास केही छन्। उसले लेखे पनि रित्तोपन, एकान्त र शून्यता बाहेक केही लेख्ने सामर्थ्य राख्दैन। जे देख्यो त्यही लेख्न हो। केही नदेख के लेख्ने? हिजो लुकामारी गर्न केटाकेटी अन्य कतै लुकामारी खेले भने, कतै पर भागे भने, कसरी देखोस् अनि लेखोस् त्यो डाइनिङ टेबलले?
न चिया गफ सुन्न पाएको छ, न रात्रिकालीन हाँसो मजाक। हिजोआज यो एकान्तको सिकार भएको छ। यसका वरपर खेल्ने पात्र ऊबाट धेरै पर भागेको छ। उसले हात कक्रक्क हुने गरी गफ सुन्न नपाएको धेरै भएको छ। आजकाल ऊ सामु रमझम गर्न खाना पस्किँदैन, जीवन गुजार्नका निम्ति, पेट भर्नका निम्ति, औषधीका लागि खाना पस्किन्छ। वरपर पाहुनाले ल्याएको फलफूल होइन, अस्पतालका औषधीको गुञ्जायमान हुन्छ।
ऊ आफैलाई कता कता लाग्छ, म यो कोठासँग मेल खाएको छैन भनी। आकार नमलिको ऊ, आफैलाई बेकार ठानिराखेको छ। ४ वटा कुर्सी बोकेको उसले, एकैसाथ ४ वटै कुर्सीमा आफ्नो पात्रलाई पर्खिरहेको छ। त्यही सपना बोकिरहेको छ।
उसका सपना ऊभन्दा धेरै पर छन्। भिन्नै देशमा छन्। कहिलेकाहीँ मोबाइलबाट उसले आफ्नो पात्रको ध्वनि सुन्छ र आफैलाई भ्रममा परेको अनुभूत गर्छ। उसलाई मेरा पात्रहरू आए है भन्ने भान हुन्छ। तर त्यो भान फोन काटिएसँगै भानमै सीमित भई जान्छ।
ऊ टोलाउँछ। बहिर्गमन भएको ठान्छ। आफैले आफैलाई ईश्वर ठानी अठोट लिन्छ। अन्तर्मन मै बोल्छ, ‘म परदेशी भएका मेरा पात्रलाई बोलाई, मेरो शिरमाथि अनावश्यक रूपमा विराजमान भएका यी औषधीलाई सधा सदाका लागि फालिदिन्छु। फेरि मेरा बाहिरिएका पात्रलाई ममाथि विराजमान बनाउँछु।’
दिन बित्छ, रात बित्छ। केही समयपछि ती पात्रहरू फेरि त्यही डाइनिङ टेबलमा फेला पर्छन्। औषधीको पोको पर फाल्छन्। मुर्छा परी रुन्छन्, आमा... आमा! भनी कराउँछन्। हिजो ४ वटा कुर्सी मध्य, ३ वटा खाली थियो। आज ३ वटा खाली छ तर सदा गुज्जिने आवाज बिलाएको छ।
घरमा मलामीको आगमन भएको छ, शङ्खको धुनीले डाइनिङ टेबल, स्वयम खरानी भएको छ।
डाइनिङ टेबलको सपना डाइनिङ टेबलको थिएन। परिवारको थियो। घर छाड्नेहरूको थियो। घर छाड्नेहरूको सपना पूरा भए पनि, घर बनाउनको सपना आधा रह्यो, अधुरो रह्यो। आधा-अधुरो रही पूर्ण जस्तै रह्यो। डाइनिङ टेबल सदा सदा मौन रह्यो।