बालबालिकाहरुलाई उनीहरुकै अनुकूलतमा समायोजन हुन दिने कि शिक्षक/अभिभावकीय अपेक्षामा कैद गर्ने? शिक्षक/अभिभावकले बनाएको बाटोमा निर्वाद हिँड्न लगाउने कि आफैले आफ्नो लागि जीवनमार्ग पहिल्याउन विद्यार्थीलाई उत्साहित गर्ने? पाठ्यपुस्तक/पाठ्यक्रमका निर्धारित विषयवस्तुहरुमात्र सिकाउने कि परिवेशसँग आवद्ध गराउँदै खोजमूलक, सहकार्यात्मक तथा सिर्जनात्मक तरिकाले सिक्न अभिप्रेरित गर्ने?
वर्तमान शैक्षिक रुपान्तरणको सन्दर्भमा यी पहेलीहरु माथि निर्मम समीक्षा गर्दै उपयुक्त निकास निकाल्न आवश्यक देखिन्छ। समयको बदलिँदो स्वरुप, बालबालिका र अभिभावक तथा शिक्षकबीचको चिन्तनमा देखिएको पूस्तौनी खाडल, जीवन जिउने काइदाको आ-आफ्नै बुझाइ तथा जीवन र जगतलाई बुझ्ने फरक दृष्टिकोणको चौघेरोमा रुमलिएका अहिलेका विद्यार्थीहरु आफैमा अलमलमा देखिन्छन्।
तर, हामीले बुझ्नुपर्ने कुरा त के हो भने हरेक बालबालिकाहरु फरक परिवेश र परिस्थितिसँगै जन्मिएका हुन्छन्। परिवेश सापेक्ष चिन्तनको विकास गर्ने प्रयत्न हरेक बालबालिकाहरुमा रहेको हुन्छ। आजको बालक त्यही बन्न खोज्छ जो उसको रोजाइ र पहुँचमा हुन्छ। यसो भन्दै गर्दा बालबालिकाहरुलाई जीवन जिउने कला सिकाउन भने अभिभावकहरुको उपयुक्त सल्लाह र निर्देशनको महत्वपूर्ण भूमिका रहन्छ।
शिक्षकको मार्गदर्शन झन् महत्वपूर्ण हुन्छ। अग्रज, अनुभवी तथा मेन्टरको सल्लाह कामयावी हुन्छ। शिक्षक तथा अभिभावकले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा भनेको फरक क्षमता, सम्भावना र अवसरसँगै बालबालिकाले आफूलाई समायोजित गर्ने प्रयत्न गरेको हुन्छ। अहिलेको बदलिँदो सामाजिक, सांस्कृतिक परिवेश तथा परिवर्तनशील वातावरणमा बालबालिका स्थिर रहन सक्दैन। उनीहरुको रुचि, चाहना र आवश्यकता पनि अस्थिर नै हुन्छ।
विद्युतीय सञ्चार माध्यम तथा सूचना र प्रविधिको बेलगाम प्रयोगले हाम्रा बालबालिकाहरुलाई प्राकृतिक वातावरणभन्दा अझ टाढा धकेल्ने हो कि भन्ने अभिभावकीय चिन्ता पनि मुखरित भइरहेको छ। समाजिक सञ्जालको गलत प्रयोग या भनौँ कुलतमा फसेर सामाजिक जीवनबाट टाढिने उपक्रमले सामाजिकता, हार्दिकता, व्यवहारिकता जस्ता गुणहरुको पनि अभाव देखिन्छ।
मानवता, अनुशासन, शान्ति, प्रेम, सहीष्णुता, समन्वय, सहकार्य, सामूहिकताजस्ता संस्कारित गुणहरुको अभावमा दिइने शिक्षाले सभ्य समाजको आधार तयार गर्न सक्दैन। हो, यिनै संस्कारित तथा जीवनोपयोगी सीपको माध्यमले सही मार्गदर्शन गर्न सक्दामात्र सिकारुको रुचि र अभिभावकीय अपेक्षाबीच सन्तुलन कायम गर्न सकिन्छ।
आफ्नै क्षमता र सम्भावनाको जगमा सिकारुले जान्न चाहेको, बुझ्न खोजेको तथा आवश्यकता मानेको विषयवस्तुमा आवश्यक जानकारी प्रदान गर्ने पद्धति मार्गदर्शन हो। आफ्नो क्षमता र कौशलताको वस्तुगत विश्लेषण नगरी देखासिकी एवम् बजारी तडकभडकले निराशा, नकारात्मकता, दिग्दारी, अलमलजस्ता समस्याहरु पनि अहिलेका बालबालिकाहरुमा देखिएको छ।
यस्तो अवस्थामा क्षमता, हैसियत र सम्भावनाभन्दा माथि पुग्न खोज्दा कहीँ पनि पुग्न सकिँदैन भन्ने कुराको बोध सिकारुमा गराउन आवश्यक हुन्छ। उच्च महत्वकांक्षाको गुलाबी कल्पनामा डुबुल्की मारेर गन्तव्य पहिल्याउन नसकेकाहरुका लागि जीवनको वास्तविकता बुझाउन शिक्षक तथा अभिभावकले विशेष ध्यान दिनुपर्ने हुन्छ। विद्यार्थीहरुमा देखिएका यी र यस्तै समस्याहरु हटाउन उपयुक्त शैक्षिक मार्गदर्शनले पक्कै पनि सहयोग गर्दछ।
यहाँ उपयुक्त मार्गदर्शन भनेको विद्यार्थीको कौशलताको पहिचान गरी सोही क्षेत्रमा अघि बढ्न अभिप्रेरित गर्नु हो। सिकारुको आंकाक्षा र विद्यमान परिस्थितिबीच अन्तरसम्बन्ध पहिचान गर्ने प्रक्रिया हो। ठूलो सपना देख्ने तर सपनालाई यथार्थतामा प्राप्त गर्न नसक्ने समस्याबाट बालबालिकाहरुलाई मुक्त गर्ने प्रयत्न हो। सिकारुको क्षमता र उनीहरुले आंकाक्षाबीचको दूरी घटाउने प्रयास हो।
यसो हो भने शिक्षक तथा अभिभावकले पनि आफू र आफ्ना बालबालिकाहरुबीचको पुस्तौनी अन्तरको वास्तविकता पहिचान गर्नुपर्ने हुन्छ। सिकारुको स्वभाविक चाहनालाई आफ्नो अनुकूलतामा मात्र अर्थ्याउने परिपाटीको विकल्प खोज्नु पर्दछ। यसो गर्न सकियो भने शैक्षिक मार्गदर्शनले सिकारुलाई शिक्षण-सिकाइ क्रियाकलापमा आइपरेका समस्याहरूको निराकरण गर्न सहयोग गर्दछ।
यसको साथसाथै आफूले कुन विषय क्षेत्रमा शैक्षिक उपलब्धि हासिल गर्ने, कस्ता विषयहरू अध्ययन गर्ने, उच्च शिक्षालाई कसरी अगाडि बढाउने भन्ने जस्ता कुराहरूका विद्यार्थी, शिक्षक र अभिभावकबीच सार्थक छलफल हुन आवश्यक हुन्छ। जीवनमा विभिन्न ज्ञान, सीप, अनुभवहरूको आर्जन गरेर आफ्नो व्यक्तित्वको उच्चतम विकास गर्ने अभिलाषा हरेक व्यक्तिको हुन्छ।
व्यक्तित्व विकासका लागि शैक्षिक, सामाजिक, शारीरिक, मानसिक, बौद्धिक एवं पेसागत क्षेत्रमा उपलब्ध अवसरहरूलाई सही ढङ्गले उपयोग गनुपर्ने हुन्छ। यस्ता अवसरहरूलाई समुचित उपयोग गरी आफ्नो योग्यता, क्षमता एवं दक्षता अभिवृद्धि गर्न केवल व्यक्ति स्वयम्को प्रयास मात्र पर्याप्त नहुन सक्छ। यस्तो बेलामा विद्यार्थीलाई समस्या समाधान गर्न आवश्यक पर्ने राय, सल्लाह, सुझाव एवं जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ।
मार्गदर्शनले विद्यार्थीको समग्र अवस्थाको पहिचान गरी समस्या समाधान गर्न सहयोग पुर्याउँछ। उचित मार्गदर्शनबाट विद्यार्थीले आफूलाई सही बाटोमा हिँडाउन सक्छ र गलत एवं अनावश्यक झन्झटबाट आफूलाई मुक्त्त गरी निर्वादरूपमा अगाडि बढ्ने मौका पाउँछ। मार्गदर्शन एक किसिमको उचित सल्लाह हो जसबाट सिकारुले आफू अघि बढ्ने बाटो पहिचान गर्न सक्छ।
सार्थक शैक्षिक मार्गदर्शनबाट सिकारु आफ्नो क्षमता र सम्भावनाहरूको खोजी गर्न उत्सुक हुन्छ। भविष्यको गन्तव्य पहिल्याउने प्रयत्न गर्दछ। र, चुनौतिहरूबीच सम्भावना र अवसरहरू पहिल्याउने प्रयत्न गर्दछ। हाम्रा बालबालिकाहरुलाई सामाजिक, शैक्षिक, पेसागत तथा अन्य क्षेत्रहरूमा सहजतापूर्वक समायोजन हुन सदैव उत्प्रेरित गर्नुपर्दछ।
आधुनिकीकरण, व्यस्त जीवनशैली, उच्च महत्वकांक्षा, सूचना तथा प्रविधिको व्यापकता, देखासिकी, निराशा, रोग तथा विपद आदि विभिन्न कारणले बालबालिकाहरूमा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू पनि बढ्दै गएको देखिन्छ। व्यस्त जीवनशैली तथा पारिवारिक माया तथा स्नेहको अभावले विभिन्न खालका मानसिक समस्याहरू पनि बढिरहेको छ। यस्तो परिस्थितिले बालबालिकाहरूमा मनोवैज्ञानिक समस्याहरू पनि बढ्ने खतरा देखिन्छ।
बालबालिकाहरूको समस्याको निराकरण गरी उनीहरूलाई ढाडस दिन, सकारात्मक चिन्तनको विकास गराउन तथा आइपर्ने चुनौती सामनाका उपायहरू सुझाउन पनि मार्गदर्शनको आवश्यकता पर्दछ। प्रभावकारी मार्गदर्शनले गलत बाटोमा लाग्न लागेका हाम्रा विद्यार्थीहरुलाई समेत सही बाटोमा हिँड्ने प्रेरणा मिलेको र सार्थक जीवनयापन गरेका पनि प्रशस्त उदाहरणहरू पाइन्छन्।
सही र गलत छुट्याई सही मार्गमा लाग्न अभिप्रेरित गर्न सकियो भने मात्र हाम्रा अपेक्षा र सिकारुको चाहनाबीच तालमेल मिलाउन सकिन्छ। बालबालिकाको स्वभाविक विकास तथा उमेरजन्य परिवर्तनबाट आउने समस्या र असहजता निराकारण गर्न शिक्षक तथा अभिभावकको उचित मार्गदर्शन महत्वपूर्ण हुन्छ। वैयक्तिक भिन्नता, पारिवारिक तथा सामाजिक परिवेश, सांस्कृतिक अवस्था आदिका कारणले पैदा गर्ने विविधताबारे सत्यतथ्य जान्न पनि समुचित मार्गदर्शनको आवश्यकता पर्दछ।
युवा वयमा उत्पन्न हुने स्वैरकल्पना र त्यसले व्यक्तिमा पार्ने नकारात्मक असरको पहिचान गरी जीवनको वास्तविकता पहिचान गराई धरातलीय यथार्थतामा सम्भावनाहरूको खोजी गर्न सिकारुलाई उत्प्रेरित गर्नुपर्दछ। समस्याको पहिचान गरी समस्या समाधानको उपयुक्त विकल्प पहिल्याउन व्यक्तिलाई सहयोग गर्ने माध्यम पनि मार्गदर्शन भएकाले उचित मार्गदर्शनले व्यक्तिलाई सफल जीवनयापनमा पनि सहयोग गर्दछ।
तर, हामीले बालबालिकाहरुलाई प्रदान गर्ने मार्गदर्शनले सिकारुको कौशल पहिचानमा सहयोग पुग्न सकेमा मात्र यसबाट अपेक्षित लाभ लिन सिकारु सक्षम हुन सक्छन्। परिवेश र सन्दर्भको सही आकलन गर्न भने शिक्षक तथा अभिभावकले पनि विशेष ध्यान दिनुपर्दछ। सिकारुको अपेक्षा, चाहना, आवश्यकता र अभिक्षमताको पृष्ठभूमिमा उचित मार्गदर्शन गर्नतर्फ शिक्षक तथा अभिभावक क्रियाशील हुनसक्दा मात्र यसले सार्थकता पाउन सक्छ।