अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सले लगातार २२ घन्टासम्म उडान भर्ने यात्रुवाहक विमान सञ्चालनमा ल्याउने भएको छ।
एयरलाइन्सले शुक्रबार इतिहासमै लामो उडान भर्ने जहाज सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानको पहिलो तस्बिर सार्वजनिक गरेको हो।
एयरलाइन्सले उक्त विमान सञ्चालनमा ल्याएपछि अब सिड्नीबाट लण्डन र न्यूयोर्क सिधा उडान हुनेछ।
यो विमान सञ्चालनमा आएपछि नरोकिई २२ घन्टा उडान समय र २० हजार किलोमिटर दुरी यात्रा गर्ने पहिलो विमान हुने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
एयरबस ए३५०-१००० यूआरएलको उक्त विमानमा २० हजार लिटर क्षमताको इन्धन ट्यांक जडान गरिएको छ।
क्वान्टसले यो योजनालाई ‘प्रोजेक्ट सनराइज’ नाम दिएको छ। यात्राकै क्रममा यात्रुहरूले दुई पटक सूर्य उदाएको देख्ने भएकाले यसको नाम प्रोजेक्ट सनराइज राखिएको हो।
सन् २०२७ को सुरूवातदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
त्यसपछि लन्डन वा न्युयोर्कबाट अस्ट्रेलियाको पूर्वी तटसम्म पुग्न अहिलेभन्दा करिब चार घन्टा कम समय लाग्ने सिएनएनले लेखेको छ।
हाल बोइङ ७८७-९ ड्रिमलायनरले लगातार १७ घन्टासम्म पर्थसम्म उडान भर्दै आएको छ। तर सिड्नी वा मेलबर्नसम्म पुग्ने लामो दूरीलाई क्वान्टसले ‘उड्डयनको अन्तिम चुनौती’ भनेको छ।
यो परियोजना क्वान्टसले सन् २०१७ मा सुरु गरेको थियो तर कोभिड–१९ महामारीका कारण केही वर्ष ढिलो भएको थियो।
सन् २०२२ मा क्वान्टसले १२ वटा ए३५०-१००० युआरएल विमान अर्डर गरेको थियो। जसको पहिलो विमान अर्को वर्ष अक्टोबरमा हात पर्ने भनिएको छ।
क्वान्टसले शुक्रबार सार्वजनिक गरेको नयाँ भिडियो र तस्बिरमा विमानको निर्माण प्रक्रिया भइरहेको देखाइएको छ।
फ्रान्सको टुलुजस्थित एयरबस मुख्यालयमा विमानका भागहरू जोडिँदै छन्।
पहिलो चरणमा विमानको मुख्य भाग ‘बेलुगा’ नामक कार्गो विमानबाट निकालिएको थियो। जसको आकार बेलुगा ह्वेलसँग मिल्दोजुल्दो छ।
पछि त्यसलाई ह्याङ्गरमा पुर्याई अन्य भागहरू जोडिएका छन्।
अहिले सबै मुख्य भाग तयार भइसकेका छन्। अब इञ्जिन र उडान परीक्षण उपकरणहरू जडान गर्न अर्को ह्याङ्गरमा लैजाने तयारीमा छ।
क्वान्टसकी प्रमुख कार्यकारी भानेसा हडसन का अनुसार यो विमानले लामो दूरीको यात्राको अनुभवलाई पनि पूर्ण रूपमा बदल्नेछ। ‘विज्ञानका आधारमा तयार गरिएको डिजाइनले यात्रामा हुने थकान र जेटलाग घटाउनेछ,’ उनले भनेकी छन्।
यो विमानमा केवल २३८ सिट हुनेछन्। यो भनेको सामान्य ए३५०-१००० भन्दा करिब आधा हो।
यसमा पहिलो श्रेणीका सुइट, प्रिमियम इकनोमी र बीचमा यात्रुहरूका लागि विशेष ‘वेलबिइङ जोन’ (आराम र स्ट्रेच गर्ने क्षेत्र) राखिनेछ।
यस परियोजनाले हवाई यात्रालाई अझ सहज, आरामदायी र इतिहासकै सबैभन्दा लामो दूरी छोट्याउने दिशामा नयाँ युग सुरु गर्ने क्वान्टसको दाबी छ।