सुन्दा अचम्म लाग्न सक्छ। स–साना चरा ठोकिँदा पनि जहाज ग्राउन्डेड हुन्छ र? तर जहाज उडान र अवतरणका क्रममा चरा ठोकिँदा जनधनको क्षति हुने गरेको छ।
आन्तरिकतर्फका केही विमानस्थलभित्र समयमै झाडी एवं घाँस नउखेल्दा, नसम्याउँदा यस्ता समस्या बढ्दै गएको छ।
चराको गतिविधि बढ्दा जहाज विमानस्थलमै ग्राउन्डेड राख्नुपर्ने अवस्था रहेको वायुसेवा कम्पनीहरू बताउँछन्।
जनकपुर विमानस्थलमा विगत दुई दिन यता रात्रि उडानमा चरा ठोक्किएको बुद्ध एयरलाइन्सले जनाएको छ। यसले जहाजको उडान अवतरणलाई निकै जोखिममय बनाएको छ। यति मात्र होइन, केही महिनायता नियमितजसो 'बर्ड स्ट्राइक, रनवेमा स्यालसँग ठोकिने' लगायतका घटना बढेको एयरलाइन्सले बताएको छ।
चरा ठोक्किएपछि जहाजको सम्पूर्ण परीक्षण गरी मर्मत गर्नुपर्छ। यसले उडान तालिका प्रभावित पार्नुका साथै यात्रुहरूलाई सास्ती भएको छ। प्राविधिक परीक्षण तथा मर्मतका लागि समय लाग्दा उडान रद्द वा विलम्ब हुन पुगेका छन्।
यस्तो अवस्थामा बिमान कम्पनीको आर्थिक व्ययभार पनि बढिरहेको छ।
बुद्ध एयरले चराको गतिविधि तथा अन्य जनावरजन्य अवरोध रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तत्परता जनाएको छ।
कम्पनीले विमानस्थल वरपर सडेगलेका खाद्यपदार्थ र सिनो नफाल्न जनचेतनामूलक अभियान आवश्यक रहेको बताएको छ।