त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको खुलेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन्।
‘हामीले बाइक, गाडीको रेगुलर सर्भिसिङ गर्छौं नि, त्यस्तै सौर्य एयरको जहाज पनि रूटिन चेकअपका लागि आजदेखि एक महिना पोखरा एयरपोर्टको ह्याङ्गरमा राख्न निवेदन दिएको थियो,’ उनले सेतोपाटीलाई भनिन्।
उनकाअनुसार जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्य एयरको ९ एन–एएमई/सीआरजे २०० कलसाइन जहाज बुधबार बिहान ११ः११ मा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
जहाज रनवे ०२ बाट पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। जहाजमा २ जना चालक दलसहित १९ जना थिए।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।