त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आन्तरिकतर्फका सबै उडान–अवतरण बन्द भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
अहिले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ।
अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।
सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सेतोपाटीलाई जानकारी दिए।
‘क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। आँखामा चोट लागेको छ।’
उनकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो।
सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो। अहिलेसम्म दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ। चार जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जहाजमा १९ जना सवार थिए। उनीहरू सबै जना सौर्य एयरकै कर्मचारीहरू रहेको खुलेको छ।