नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)गोल्ड अबार्ड पाएको छ।
पाटा हेडक्वाटरका अनुसार परियोजनाले कम्युनिटी बेस टुरिजममा सन् २०२४ का लागि पाटा गोल्ड अवार्ड पाएको हो।
परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँ पालिकाहरूसँगको सह लगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो।
यस अघि सन् २०२२ र २०२३ मा पनि एसटिएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड पाएको थियो।
एसटिएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधा अन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो।
परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेको कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको मूल्यांकन स्वरूप अवार्ड प्राप्त भएको र यसले थप कार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बताइन्।
परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरेको छ।
साथै, सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन्।
यो अवधिमा परियोजनाले महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि ट्रेकिङ गाइड, तथा सातै प्रदेशका डेढ सय पालिकाहरूका लागि पर्यटन रणनीति निर्माण गरेको छ।
साथै एक सय ३० वटा विद्यालयहरूमा राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरिएको छ।
त्यस्तै, पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरूसँगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुअलहरू निर्माण गरिएको परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले बताए।