नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चीन जनसरोकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ।
पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान-प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनको प्रचार लगायतका विषयमा सम्झौता भएको हो।
संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो सम्झौता हो।
संघका अध्यक्ष निमा निरू शेर्पाका अनुसार पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ। हाल पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगै पदयात्रा तथा आरोहणका लागि जाने कतिपय पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था छ।
यसका लागि 'हाइ अल्टिच्युड म्याउन्टेन रेस्क्यू सेन्टर' स्थापना गर्ने र हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपतकालीन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ। यसका लागि 'हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम' स्थापना गर्ने सहमति भएको उनले बताए।
त्यस्तै, दुबै निकाय मिलेर संयुक्त रूपमा 'हिमालयन माउन्टेरिङ कल्चर सेन्टर'को निर्माण गर्ने सहमति भएको छ।
जसमा दुबै निकायले दुबै पक्षको आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धनका लागि मद्दत गर्ने सहमति भएको अध्यक्ष शेर्पाले बताए।
त्यसैगरी पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने सहमति भएको छ।
उनका अनुसार विशेषगरी दुबै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने सहमति भएको हो। साथै, अन्य हिमाल चढ्न जानेहरूलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणको काम गरिनेछ।
आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिने विषयमा पनि सहमति भएको उनले बताए। यसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि आरोहीलाई नेपाल पठाउनेछ।
यी सम्झौताहरू कार्यान्वयनका लागि संघले सबै निकायका प्रतिनिधि रहने गरी प्रस्ताव अघि सारेको छ।
अध्यक्ष शेर्पाका अनुसार प्रस्तावमा चीनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वातारोहण संघको प्रतिनिधि रहनेछन्।