नागरिक उड्डयन प्राधिकरणले नलिनचोक हेलिपोर्टको समस्याहरू अध्ययन गर्न समिति गठन गरेको छ।
हेलिकप्टर पाइलटहरूले नलिनचोक हेलिपोर्टबाट उडान गर्दा उच्च जोखिम भएकाले न्यूनीकरणका लागि असार १६ गते प्राधिकरणलाई पत्र पठाएका थिए।
यही पत्रमा भनिएका विषयहरूमा अध्ययन गर्नका लागि प्राधिकरणले बुधबार समिति गठन गरेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार समितिले हेलिपोर्टको अध्ययन गरी एक साताभित्र प्राधिकरणमा प्रतिवदेन बुझाउनेछ।
सोही प्रतिवेदनको आधारमा हेलिपोर्टलाई थप सुरक्षित र सुदृढ बनाइने उनले बताए।
'हवाई सुरक्षालाई लिएर प्राधिकरण गम्भीर छ,' उनले भने, 'अब अध्ययन समितिले प्रतिवेदन बुझाएपछि यसमा समस्या के हो र कसरी समाधान गर्ने भन्नेबारे थप निर्णय हुनेछ।'
हेलिकप्टर पाइलटहरूले भने बिहीबार (आज)देखि नलिनचोकबाट उडान नगर्ने घोषणा गरेका छन्।