पर्यटन पर्वद्धनका लागि होटल व्यवसायीहरू टोली बंगलादेश पुगेका छन्।
पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आकर्षण बढेसँगै प्रवर्द्धनका लागि बिहीबार संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेका हुन्।
उक्त कार्यक्रम होटल संघले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको हो।
शुक्रबारका लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरूको उपस्थितिमा भव्य पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बिटुबी कार्यक्रम गरी विशेष रात्रि भोजको पनि आयोजना गरिएको संघले जनाएको छ।
बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ।
साथै, उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरूको आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्बद्ध निकायहरूसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको निमन्त्रणा तथा समन्वय ढाकास्थित नेपाली राजदूतावासबाट भएको हो। नेपालको समग्र पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुने संघका महासचिव शाक्यले जानकारी दिए।