संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३–२०३२)अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिया आयोजना गरेर सुझाव लिएको छ।
अन्तर्क्रियामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले पर्यटन दशकको अवधारणा राम्रो भए पनि बदलिँदो समय अनुरूप यसलाई परिमार्जन गरेर लैजाँदा उपयुक्त हुने सुझाव दिएका छन्।
उनीहरूले पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भए पनि नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका छन्।
कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रूपमा केही गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै मन्त्रालयले २०७९ मा बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो।
कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी २०७९ पुस ७ गते आफ्नो प्रतिवेदन बुझाएको थियो।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाहरूको सुझाव लिन अन्तर्क्रिया आयोजना गरिएको बताए।
उनले सरकार निजी क्षेत्रको सहकार्यले मात्र पर्यटन चलायमान बनाउन सकिने समेत बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नुपर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमा माथि निजी क्षेत्रको रायले मार्ग प्रशस्त गर्ने बताए।
मन्त्रालय सह–सचिव ईन्दु घिमिरेले निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिइन्।
बोर्डका पूर्व कार्यकारी प्रमुख दीपकराज जोशीले नयाँ सन्दर्भमा कार्यक्रमलाई परिमार्जन गरेर जाँदा उपयुक्त हुने सुझाव दिए।
कार्ययोजनाको खाका प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने बताए।
साथै, पर्यटन क्षेत्रको पुनरूत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्याउने, तत्पश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्ममा संख्या ३५ लाख पुर्याउने कार्ययोजना रहेको बताए।
साथै आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्य योजना निर्माण गरिएको जानकारी दिए।