बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ।
बुद्धले कल साइन 'नाइनएन एनाइनजेट' एटिआर- ७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौं भित्र्याएको हो।
यससँगै बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ।
जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेकोब बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ उनले भने।
थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ।
थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने कम्पनीको योजना छ।
बुद्धसँग ३ वटा एटीआर–४२–३२० र १५ वटा एटीआर– ७२–५०० जहाजहरु छन्।
बुद्धलेअन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान पनि भरिरहेको छ।
यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि गरिरहेको छ।