नेपाल पर्यटन बोर्डले साेलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको छ।
दक्षिण कोरियाको ग्वाङ्जुमा मंगलबार (असार ११)बिटुबी बैठकसहित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै साोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुबै देशबीचको पर्यटन प्रवर्द्धन हुने धारणा राखे।
नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि दुबै देशको अपरेटर दुवै मिलेर काम गर्न आग्रह गरे।
नेपाल र कोरियाबीचको द्विपक्षीय पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीच छिट्टै नियमित उडान हुनेमा आफू आशावादी रहेको जानकारी दिए।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको बताए।
कार्यक्रमले दुई देशलाई पर्यटन प्रवर्द्धनको सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताए।
सो अवसरमा उनले 'डेस्टिनेसन नेपाल' र 'नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर' विषयका दुईवटा प्रस्तुति समेत दिए।
समापनका अवसरमा बोल्दै कोटानका अध्यक्ष अमरबहादुर शाहीले सबै कोरियाली टुर अपरेटरहरूलाई नेपालको सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्य अनुभव गर्न नेपाल भ्रमणका लागि आग्रह गरे।
कार्यक्रममा नेपाली ट्राभल एण्ड टुर कम्पनी लगायत ६५ भन्दा बढीको सहभागिता रहेको थियो।
यस कार्यक्रम अघि, नेपाल सेल्स मिसन मे २०२३ मा साेल र बुसानमा आयोजना गरिएको थियो। आगामी २७ जुन २०२४ मा यस्तै बिटुबी कार्यक्रम सोलमा आयोजना समेत हुनेछ |