प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भैरहवाको गौतमबुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गरेका हुन्। विमानस्थल पूर्ण क्षमतामा ल्याउन हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाइ इन्धनमा केही सहुलियत दिन प्रस्ताव समेत गरेका छन्। यसका लागि निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेज दिनुपर्ने उनको भनाइ छ।
छलफलमा प्रधानमन्त्रीले दुबै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए।
'पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी भएको छ,' प्रधानमन्त्री दाहालले भने, 'निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन।'
प्रधानमन्त्री दाहालले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई गम्भीरतापूर्वक तयारी गर्न र सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन अनुरोध गरेका छन्।
केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन उनले निर्देशन दिएका हुन्।
'काठमाडौं एयरपोर्टमा एयर ट्राफिकको समस्या छ। यसको उचित समाधान दिनुपर्ने हुन्छ। अर्कोतर्फ काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम भइरहेको छ,' प्रधानमन्त्रीले भने, 'यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ।'
त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्ने उनले बताए। सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कूटनीतिक पहल पनि गर्ने उनले बताए।
'पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले आवश्यक गृहकार्य गर्नुस्। अरू मन्त्रालय र निकायसँग पनि समन्वय गर्नुस्,' उनले भने, 'छिट्टै हामी एउटा निष्कर्षमा पुग्छौं।'
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए।
पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी कम्पनीहरूसँग पनि छलफल भइरहेको बताए।