भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको हेलिप्याड आज (शुक्रबार)देखि सञ्चालनमा आएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उक्त हेलिप्याडको उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने बताए।
'अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको संख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ,' उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ। यसको बहुआयामिक महत्त्व पनि छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।
उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रूपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिन सक्ने समेत जानकारी दिए।
अहिले त्रिभुवन विमानस्थल विस्तारको काम भइरहेको छ। हाल हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेकाले नलिञ्चोकको यो हेलिप्याडले थप सहज बनाउने उनले बताए।
हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ। प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न सकिन्छ।
सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो।
करिब ११ करोड रूपैयाँ लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन्।