तनहुँको बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।
वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालनमा रहेको बन्दीपुर केबलकार बिहीबार (आज) देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
बिहीबार एक हजार ५८१ यात्रुले केबलकारमा यात्रा गरेको कम्पनीले जनाएको छ।
कम्पनीलाई 'कमर्सियल अपरेसन टियुभी प्रमाणपत्र' प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।
टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो।
केबलकारका ३१ डब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन्। एक घन्टामा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको यो केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ।
केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा डब्बामा 'रेस्ट्रो क्याबिन' चलाउने छ। रेस्टुरेन्टसँगै आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी रहेको शर्माले बताए। यो सेवा भने हाल सुरू भइसकेको छैन।