सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको औपचारिक शुभारम्भ गरिएको छ।
गत वैशाख १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन्।
मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
'प्रदेशको विकासका लागि कृषि क्षेत्रको व्यावसायिकरण, घरेलु उद्योग र पर्यटन नै हो। बोटेबोरा कम्पनीले यहाँ मोटरबोट सञ्चालन गरेपछि पर्यटकीय गतिविधि पनि बढेको छ,' उनले भने, 'प्रदेश सरकारले आगामी दिनमा सक्दो सहयोग गर्नेछ।'
उनले प्रदेशमा निजी क्षेत्रको लगानी अझ बढ्नु पर्नेमा पनि जोड दिए।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल)ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताए।
उनले विगतमा दैनिक मुस्किलले दुई हजार रूपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रूपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिए।
बुलबुले ताल क्षेत्रमा प्रवेशका लागि नगरपालिकाले प्रति व्यक्ति २५ रुपैयाँ लिँदै आएको छ। प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरपालिकाले वार्षिक ५० लाख रूपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरे।
मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए।
'मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ। मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक आएका छन्', उनले भने, 'वैशाखयता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन्।'
बोटेबोरा कम्पनीले एक करोड ५० लाख रूपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो।
मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ।
कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन्। कम्पनीले यसका लागि मात्रै २५ लाख रूपैयाँ लगानी भइसकेको ढकाल बताउँछन्।
तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ। तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ।
हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार मोटरबोट चढ्न प्रति व्यक्ति दुई सय रूपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रूपैयाँ शुल्क लिँदै आएको छ।