विश्वमै पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरिएको छ।
विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रमुख लगायतको सहभागिता पदयात्रा गरिएको हो।
पदयात्राका क्रममा कूटनीतिज्ञको टोलीलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए।
विश्वमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सका आरोही मौरिस हर्जोग र लुई लाशनालले ८ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। भारतको बाटो भएर कालीगण्डकी किनारै किनार म्याग्दी पुगेर हर्जोगको टोलीले अन्नपूर्ण हिमाल चढेको थियो।
आरोहण सफल भएपछि फ्रान्समा खुसियाली मनाउँदै तीन दिन सार्वजनिक बिदा दिइएको थियो।
अन्नपूर्ण हिमाल आरोहणका विषयमा हर्जोगले 'अन्नपूर्ण' पुस्तक लेखेका थिए। फ्रान्सेली भाषामा लेखिएको उक्त पुस्तक अंग्रेजीमा अनुवाद भएपछि संसारभर नै चर्चा कमाएको थियो।
विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् जसमध्ये ८ वटा नेपालमा छन्।
पदयात्रापश्चात् नेपालका लागि बेलायतका राजदूत रोब फेनले नेपालको गाउँबाट जंगलको बाटो हुँदै पदयात्रा गर्न पाउँदा रोमाञ्चक अनुभूति भएको बताए। आफू पदयात्राप्रेमी भएको बताउँदै उनले पदयात्राका लागि नेपाल आउने बेलायती पदयात्री अन्नपूर्ण फेरोमा पदयात्रा गर्न रूचाउने गरेको बताए।
'मैले गएको महिना लाङटाङ पदयात्रा गरेको थिएँ। त्यो निकै रोमाञ्चक थियो,' उनले भने, 'अन्नपूर्ण फेरो पदयात्रा गर्ने मेरो रूचि छ तर छुट्टी कम छ।'
नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले पदयात्रा क्रममा सुन्दर पहाड, जलविद्युत आयोजनाका जलाशय र चारैतिरको हरियाली रोचक देखिएको बताए।
यस्तै, नेपालका लागि इसराइलका राजदूत हनान गोडेर गोल्डबेरगरले धेरै वर्षअघि आफू नेपाल आएर पदयात्रा गरेको बताए। त्यति बेला अन्नपूर्ण आधार शिविर, मर्दी लगायत पदयात्रा गरेको बताउँदै उनले अहिले राजदूतका रूपमा आएर फेरि पदयात्रा गर्न पाउँदा खुसी लागेको बताए।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) की नेपालस्थित आवासीय प्रतिनिधि आइसानी मेदागङ्गोडा लाबेले २ वर्षअघि पनि पोखरामा यसरी नै हाइकिङ गरेको बताइन्। कोभिड महामारीपश्चात् सुस्ताएको पर्यटन उकास्न आफूहरूले पर्यटन बोर्डमार्फत सहयोग गरेको बताइन्।
पर्यटनमार्फत रोजगारी सिर्जना गर्न सकिने भन्दै उनले युवालाई पर्यटन व्यवसायमा आकर्षित गर्नुपर्ने बताइन्।
'युवालाई पर्यटन व्यवसायमा आकर्षण गर्नुपर्छ। यहाँ कृषि पर्यटनको राम्रो सम्भावना देखिन्छ,' उनले भनिन्, 'प्रकृति, पर्यटन र स्थानीयवासी सँगसँगै अघि बढ्न सक्छन्।'
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा विदेशी कूटनीतिज्ञका साथै नेपाली पर्यटन व्यवसायीक संघसंस्थाका प्रमुखहरू, व्यवसायी लगायत पदयात्रामा गएका थिए।
कूटनीतिज्ञको पदयात्राले ओझलमा परेको धम्पुस पदयात्रा ब्युँताउन सहयोग मिल्ने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए। उक्त पदमार्गबाट अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल पदयात्रा जान सकिने भन्दै उनले स्थानीयवासीले पनि पदमार्ग ब्युँताउन पहल गर्नुपर्ने बताए।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले हिमाल आरोहणको इतिहासमा सबभन्दा पुरानो हिमालको स्मरणले आरोहीलाई अन्नपूर्ण प्रथमतर्फ आकर्षित गर्ने विश्वास लिए। पोखरा र आसपासका पर्यटकीय क्षेत्रको पर्यटन विकासमा कूटनीतिज्ञको पदयात्राले नेपाल र विदेशमा पनि प्रवर्द्धन गर्ने उनको भनाइ छ।
'पोखरा पर्यटनको हब हो। अन्नपूर्ण क्षेत्रमा रहेका सबै पदमार्ग र हिमाल चढ्न पोखरा भएर जानुपर्छ,' उनले भने, 'आजको पदयात्राले नेपालमा मात्र होइन, विदेशमा पनि प्रवर्द्धन हुने हाम्रो विश्वास छ।'