संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्।
गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।
'यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो। सन् २०२३ मा १० लाख पर्यटक मात्र आएका थिए,' मन्त्री तामाङले भने, 'सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य साथ काम भइरहेको छ।'
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्मावलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए।
पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ।
'कतिपय तस्विरहरू आफैँले भोगेका तस्वीर राखिएका छन्। कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखेँ, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ,' उनले अगाडि भने, 'गोरखापत्रको यो काम प्रशंसनीय छ। पुर्खाका पालाका तस्वीर देख्न पाउँदा खुसी लाग्यो।'
मन्त्री तामाङले प्रदर्शनमा राखिएका तस्विरको अवलोकन गरेका थिए।