थाइ एयरवेजले नेपालमा नियमित उडान थालेको आधिकारिक रूपमा जानकारी दिएको छ।
करिब सात महिनादेखि नियमित उडान गरिसकेको थाइले बिहीबार भने आधिकारिक जानकारी दिएको हो।
एयरवेजले हाल बैंकक–नेपाल दैनिक दुई वटा उडान गरिरहेको छ।
थाइले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत् नेपालमा उडान सुरू गरेको थियो। कोभिडका कारण थाइले तीन वर्ष उडान बन्द गरेको थियो।
गत कात्तिकबाट थाइले न्यारोबडी ३२० मार्फत् नियमित उडान थालेको हो। नेपालका लागि सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ।
थाइका डिरेक्टर अफ सेल्स खुन विन किचाथोर्नले थाइको यो यात्राले नेपाललाई थाइल्यान्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बताए।
'सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरू गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने माध्यम बनेको छ,' उनले भने, 'यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरू गर्न पाउँदा खुसी छौं।'
त्यस्तै सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका कार्यकारी अध्यक्ष रवि चन्द्र सिंहले सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य रहेको बताए।
हाल थाइ एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२०, एयरक्राफ्ट ७७७, ड्रिमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आइरहेको छ।