सशस्त्र प्रहरी बलको 'सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम'का प्रशिक्षार्थी अधिकृतहरूले कुस्मामा रहेको 'द क्लिफ'मा बञ्जी गरेका छन्।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरूको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए।
विगतमा पनि अधिकृतस्तरका प्रशिक्षार्थीहरूलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनले बताए।
क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए।
उनकै परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालनमा छ।
पछिल्लो समय एडभेञ्चर हबको रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन्।
यसअघि नेपाल प्रहरीका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बञ्जी गरेको थियो।