स्पार्क कारले शुक्रबार 'ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी' विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा पर्यापर्यटनमा विश्वको अवस्था, पर्यापर्यटन तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतमा छलफल हुने स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्टराईले बताए।
नेपाल विश्वमा कार्बन कम उत्सर्जन गर्ने मुलुकमध्ये पर्छ। भट्टराईका अनुसार उत्सर्जन अझै कम गर्नका लागि नवीकरणीय ऊर्जा र यसको सम्भावनाबारे बृहत अन्तर्क्रिया गर्न लागिएको हो।
अन्तर्क्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, गभर्नर महाप्रसाद अधिकारी, साइमेक्स इंक प्रालिका सिइओ साहिल श्रेष्ठ र वातावरणविद् भुषण तुलाधरबीच छलफल हुनेछ। कार्यक्रमको संयोजन पत्रकार जगदिश खरेलले गर्नेछन्।
कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैर-सरकारी, कुटनीतिक नियोग, बहु-राष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधिसहित दुई सय जना सहभागी हुने आयोजकको भनाइ छ।
अन्तर्क्रिया कार्यक्रममा नवीकरणीय ऊर्जाको पूर्वाधार विकासको अवस्था, सामाजिक अवस्था र चुनौतीलाई पार लगाउन निजी क्षेत्र, सरकार, विज्ञ वा सरोकारवालाहरूको भूमिका कस्तो र कसरी आवश्यक हुन्छ भन्नेबारे छलफल हुने बताइएको छ।
स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा कम्पनीको सबै सेवाका लागि विद्युतीय सवारी मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ।
पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गर्न लागेको यस कार्यक्रमलाई विवाइडी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ।