सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपी हिमालको प्रवर्द्धनको लागि अपी हिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र निर्माण गरेको छ।
नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरूत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)र अपी हिमाल गाउँपालिका दार्चुलाको सहकार्यमा अपी हिमाल ४ मकरीगार्डमा सूचना केन्द्र निर्माण गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, एसिटएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागितामा हालै अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सो सूचना केन्द्र तथा कोशेली घरको उद्घाटन गरेका हुन्।
सो अवसरमा अपी हिमालको म्याप समेत विमोचन गरिएको थियो। यो सूचना केन्द्रले अपी हिमाल आधार शिविरसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदान-प्रदान गर्ने तथा कोशेली घरले स्थानीय उत्पादनलाई बिक्री वितरण गर्न सहयोग पुग्ने छ।
सो अवसरमा बोल्दै पालिका अध्यक्ष बोहराले सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल अपी हिमाल आधार शिविरसम्म जान विभिन्न पूर्वाधार बनिरहेको जानकारी दिए।
सूचना केन्द्र निर्माण तथा कोशेली घर निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रदान गर्न तथा सो क्षेत्रको उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।
अपी हिमाल गाउँपालिकामा अपीसँगै नाम्पा, कापाचुली, जेठी बहुरानी लगायतका थुप्रै हिमालहरू रहेकाले यस क्षेत्रमा पर्यतीय पर्यटनको व्यापक सम्भावना रहेको समेत अध्यक्ष बोहराले बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपी हिमाल प्रवर्द्धन गर्न सक्दा यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने बताए।
नेपाल पर्यटन बोर्डका अधिृकत प्रदीप बस्नेतले सूचना केन्द्र स्थापनासँगै अपी हिमाल ट्रेकिङ सुरू हुँदा यस क्षेत्रमा पर्यटक आगमन बढ्ने उल्लेख गर्दै पर्यटन बोर्ड यस क्षेत्रको प्रवर्द्धनमा लाग्ने बताए।
एसटिएलआरपी परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोसेली घर निर्माण मकरीगाडदेखि अपी हिमाल वेसक्याम्पसम्म विभिन्न स्थानमा काठेपुल निर्माण, पर्यटक सूचना बोर्ड, फोहोरमैला व्यवस्थापन लगायतका कार्य गरेको बताए।
नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूरपश्चिममा पर्यटनको व्यापक सम्भावना रहेकोमा अपी हिमाल ट्रेकिङले नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताउँदै व्यवसायीहरू यसको प्रवर्द्धनमा लाग्ने बताए।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले यो ट्रेकिङ रूट आकर्षक रहेकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने पर्याप्त सम्भावना रहेको बताए।
कैलालीको धनगढीबाट डोटी, डडेलधुरा, बैतडीहुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाढसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडसम्म नौपाटा, सिटी होमस्टे, धौली ओडार हुँदै पाँचौ दिनमा अपी हिमाल आधार शिविर पुगिन्छ। त्यहाँबाट तीन दिनमा पुनः धनगढी फर्कन सकिन्छ।
चमेलीया नदीको मुहान समेत रहेको अपीको आधार शिविरसम्म जान काठमाडौंबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपी हिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किलोमिटर मोटरबाटोको यात्रा गर्न सकिन्छ।
मकरीमाडदेखि आधार शिविरसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ। मकरीगाडदेखि अपी हिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ।
बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ। आधार शिविर जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ।