देशभर फैलिरहेको आगो निभाउन सरकारले हेलिकप्टर माग गरे सहयोग गर्न तयार रहेको सिम्रिक एयरले जनाएको छ।
एयरले सोमबार पत्रकार सम्मेलन गर्दै आगो नियन्त्रणका लागि तयार रहेको बताएको हो।
हालसालैको तथ्यांक अनुसार मुलुकभर ५२ जिल्ला र पाँच सयभन्दा बढी स्थानहरूमा आगलागी भइरहेको छ।
त्यसबाट ५० जनाले मृत्युवरण गर्नु परेको एक सय ४० बढी घाइते र एक हजार बढी घर पूर्ण रूपले नष्ट भएको छ।
यस्तो अवस्थामा एयरलाइन्सलाई विभिन्न ठाउँबाट औपचारिक माध्यमबाट आगलागीका खबर आएता पनि सो सम्बन्धी एथेष्ट जानकारी र निर्देशन नआएकाले आगलागी नियन्त्रण गर्न नसकेको सिम्रिकले विज्ञप्तीमार्फत् बताएको छ।
विगत पाँच वर्ष अगाडि आगलागी तथा डढेलो व्यवस्थापनमा सिम्रिक एयरले काम गर्दै आइरहेको छ।
सिम्रिकले हेलिकप्टरमार्फत् 'बम्बी बकेट' प्रणालीअनुसार जंगलमा लागेको आगो निभाउँदै आइरहेको छ।
यसअघि पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाएको थियो।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले हेलिकोप्टरबाट आगो निभाउने नेपालमा सिम्रिक मात्र रहेको बताए।
जसकारण सरकारको निर्देशन पाए आगलागी नियन्त्रणमा कम्पनी अघि बढ्न सक्ने उनको भनाइ छ।
'हामीलाई आगलागी नियन्त्रणका लागि समन्वय र सम्पर्क हुनसके नियन्त्रण प्रभावकारी र सुरक्षित हुनेमा विश्वस्त छौं,' उनले भने।