मर्मतका लागि इसराइल लगिएको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज मंगलबार काठमाडौं फर्कने भएको छ।
इन्जिनमा समस्या आएपछि एक सय ५८ सिट क्षमताको न्यारोबडी 'नाइनएन-एकेएक्स' मंसिर १३ देखि ग्राउन्डेड गरिएको थियो। इन्जिन बनाउन पुस २६ मा निगमले उक्त जहाज इसराइल पठाएको थियो।
उक्त जहाज इसराइल लगेको तीन महिनापछि मंगलबार (पर्सि)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने निगमका प्रवक्ता तथा प्राविधिक देवेन्द्र पुनले बताए।
'पाइलटहरू इसराइल पुगिसक्नुभएको छ। मंगलबार एरोस्पेस इन्डस्ट्रिज (आइएआई)ले जहाज हस्तान्तरण गर्ने कार्यक्रम छ,' उनले भने, 'मंगलबारदेखि नियमित उडान गर्ने गरी दुबइबाट यात्रु लिएर काठमाडौं उडान तालिका छ।'
निगमसँग न्यारोबडी र वाइडबडी दुवैको जगेडा इञ्जिन छैन। यस कारण जहाजको इञ्जिनमा समस्या आउँदा महिनौंसम्म ग्राउन्डेड हुने गरेका छन्।