बर्दिबासमा पाँच तारे होटल बन्ने भएको छ। एक अर्ब १० करोड लगानीमा होटल 'रामिणी' बन्ने भएको हो।
होटलको निर्माण काम सुरू भइसकेको अध्यक्ष शुम्भु घिमिरेले बताए। उनका अनुसार बर्दिबासको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसहित यो पाँच तारे होटल निर्माण गर्न लागिएको हो।
बर्दिबास नगरपालिका वडा नं १ मा होटल 'रामिणी'को बिहीबारदेखि निर्माण काम सुरू भएको हो।
'होटल निर्माणको आज साइत गरिएको छ। अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण काम सक्नेछ,' अध्यक्ष घिमिरेले भने, 'होटल निर्माणपछि व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ।'
उनका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरू गरिएको हो। होटल निर्माणपछि बर्दिबासको मात्रै नभई जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए।
'रामिणी पनि सीता माताको अर्को नाम हो। हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौं। होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गर्नेछौं,' उनले भने।
रामिणी होटल कुल एक बिघा क्षेत्रफलमा निर्माण हुनेछ। निर्माण लागतमा बैंकको ६० प्रतिशत ऋण लगानी रहनेछ। अध्यक्ष घिमिरेका अनुसार सात/साता तलाका दुई वटा भवन बन्ने छन् भने होटलमा ८२ वटा कोठा हुनेछन्। डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रूम (कोठा) हुनेछन्।
यो पाँच तारे होटलमा क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन्।
होटलकी प्रबन्धक श्रेया पाँडेले बर्दिबासमा सुविधा सम्पन्न होटलको सुविधा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण सुरू गरेको बताइन्। उनले बर्दिबासदेखि भारतका दरबन्दा र सीतामाडीलगायत मुख्य बजारहरूलाई समेत लक्षित गरिएको उल्लेख गरिन्।
'हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो। त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र छिमकी मुलुक भारतीय बजारलाई पनि लक्षित गरेका छौं,' उनले भनिन्।
पाँडेका अनुसार होटलमा एक सय १० भन्दा बढीले रोजगार पाउँनेछन्। जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइनेछ।
हाल नेपालमा २२ वटा पाँच तारे र ३४ वटा चार तारे होटल सञ्चालनमा छन्। होटल संघका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन्।
कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै छ। पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ।