नयाँ वर्षको अवसरमा यती एयरलाइन्सले दुई वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ।
सामाजिक सञ्जालहरूमार्फत 'साना यात्रुका लागि निःशुल्क यात्रा' योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो।
हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्समार्फत नै सुरूवात गरुन् भन्ने सोचसँगै यतीले यो योजना सार्वजनिक गरेको हो।
हाल एयरलाइन्सहरूले दुई वर्ष उमेर पुगेका बालबालिकाहरूको उडानमा सेवा शुल्क लिँदै आएका छन्।
यात्रुहरूलाई सुखद् उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाइ भाडामा शतप्रतिशत छुट गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उनकाअनुसार हाललाई यो योजना नेपाली र विदेशी सबैका लागि वैशाख १ गतेदेखि सीमित समयको लागि लागू गरिएको छ।
यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरूले यती एयरलाइन्सको चेक-इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रूपमा देखाउनुपर्नेछ।
यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ।
हाल यती एयरलाइन्सले सातवटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी चार हजारभन्दा धेरै यात्रुहरूलाई सेवा दिँदै आएको छ।