मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ।
वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिष्णु ढकालले बताए।
मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो।
गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ।
वैशाख २ गते उक्त मोटरबोट सेवाको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
सो जलाशयमा तत्काल एक करोड रूपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ।
मोटरबोट सञ्चालनले मर्स्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ।
जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन्।
साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनको भनाइ छ।
कम्पनीले थप ३ करोड रूपैयाँ लगानी गरी जलाशय किनारमा 'बिच रेस्टुरेन्ट', फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना छ।
यस अघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक-फरक शुल्क कायम गरिएको छ। कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न २५० रूपैयाँ प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क लाग्ने जनाएको छ।
मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेशन पुगिन्छ।
सो स्टेशन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ। उक्त रूटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ।