एयर एसियाले नेपालमा पुन: उडान गर्ने तयारी गरेको छ।
एयरलाइन्सले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रयोग गरेबापतको बक्यौता रकम नतिरी उडान बन्द गरेको थियो।
विगत चार वर्षदेखि नेपालका लागि एयर एसियाको उडान बन्द छ। तर अब भने यो एयरलाइन्सले नियमित उडानको तयारी थालिसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणमा एयर एसियाले २४ करोड रकम बक्यौता तिर्न बाँकी छ।
बैंक ग्यारेन्टी ल्याएको र अहिले मासिक किस्ता बराबर एक करोड १५ लाख रूपैयाँका दरले भुक्तानी गरिरहेको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले बताए। एयर एसियाले पहिलो महिनाको किस्ता बुझाइसकेको छ।
'बक्यौता रकम बुझाउन थालिसकेको छ। यो भनेको उडानका लागि प्रारम्भिक तयारी थालेको हो,' उनले भने, 'अब छिट्टै एयर एसिया कमब्याक हुँदैछ।'
एयर एसियाले २०६९ सालबाट नेपालमा व्यवसायिक उडान थालेको थियो। बन्द हुनुअघि एयरलाइन्सले दैनिक एक उडान गर्थ्यो।