२०५९ सालको कुरा हो। सुर्खेतको वीरेन्द्रनगरमा नेपाल जेसिसले एउटा गोष्ठी गर्न लागेको थियो। देशभरका करिब दुई सय प्रतिनिधि भेला हुनेवाला थिए।
गोष्ठी गर्नुमा जेसिसको आफ्नै उद्देश्य थियो। तर वीरेन्द्रनगरमा सामान्य होटल सम्हालिरहेका तर्क शाही त्यही मौकामा गोष्ठीका प्रतिनिधिलाई खाना-खाजा खुवाएर नाफा कमाउने तयारीमा लागे।
त्यति बेला होटलमा उनको आफ्नै लगानी थिएन। दाइले खोलिदिएको होटल चलाएका मात्र थिए।
जेसिसको कार्यक्रम हुने थाहा पाएपछि उनले नाफातिर दिमाग दौडाए र आफ्नो प्रस्ताव दाइलाई सुनाए।
दाइले भने, 'अहिले सामान छैन, सकिँदैन होला।'
त्यसको दुई-तीन दिनपछि जिल्ला विकास समितिको हलमा कार्यक्रम हुनेवाला थियो। आफ्नो प्रस्तावबाट दाइ पन्छिएपछि तर्क रातभर निदाउन सकेनन्।
उनले सोचे – कि त मैले यो अवसर गुमाउनु हुँदैन, नत्र होटल व्यवसाय नै गर्नु हुँदैन!
भोलिपल्ट उनी चिनेजानेका पसलमा गएर जेसिसका पाहुनालाई खुवाउन पुग्ने सामान उधारोमा ल्याए।
गोष्ठी सुरू भयो। उनले आफूले चलाएको 'पञ्चकोशी होटल' बाट तीन छाक खाना र खाजा खुवाए।
उनको त्यो आँटबाट सबै खर्च कटाएर डेढ लाख रूपैयाँ नाफा भयो। त्यो बेला दुई दिनको डेढ लाख नाफा कमाउनु धेरै ठूलो कुरा थियो।
त्यसपछि तर्कले सोचे – होटलको भान्सामा मात्र होइन, अब संरचनामा पनि लगानी गर्नुपर्छ!
त्यो समय सुर्खेतमा सभा-गोष्ठी गर्न हल सुविधा भएका होटल खासै थिएनन्। भएका एक-दुइटाले पनि सबैलाई समेट्न सकेका थिएनन्। सरकारी, गैरसरकारी, निजी क्षेत्रका कार्यक्रम सरकारी कार्यालयका साँघुरा हलमा हुन्थे। तर्कले आफूले चलाइरहेको होटललाई त्यस्तै सुविधासहितको बनाउन चाहे।
दैलेखको दुर्गम गाउँमा जन्मिएका तर्क शाही २०५१ सालमा आफ्ना बुबा र दाजुसँग सुर्खेत झरेका थिए। उनको परिवार गाउँको सम्पन्नमध्ये एक थियो।
२०५१ सालमा उनका जेठा दाजुले एसएलसी पास गरेपछि सुर्खेत झरेर केही काम गर्दै पढ्ने योजना बनाए। बाबा र तर्क पनि सँगसँगै सुर्खेत झरे।
सुर्खेत झरेपछि उनका दाइले व्यवसायको सोच बनाउँदै थिए। तर्क भने भारतमा भएकी आफ्नी फुपूसँग बस्ने गरी गए।
त्यो समय फुपूका छोराछोरी थिएनन्। फुपूले सानो उमेरको माइलो भतिजलाई आफैंसँग राख्ने इच्छा गरिन्। बुबा र दाजुले मानेनन्, तैपनि उनी भारत गएर पाँच वर्षजति बसे। चार कक्षासम्म उतै पढे।
२०५५ को अन्त्यतिर उनी सुर्खेत फर्किए। परिवारबाट टाढा भएको महसुस भएपछि फेरि भारत जान मन गरेनन्। त्यसपछि फुपू पनि नेपालै फर्किइन्।
त्यति बेलै उनका दाजुले सुर्खेतमा पञ्चकोशी होटल चलाउन थालेका थिए। तर्क पाँच कक्षाबाट वीरेन्द्रनगरको एउटा सामुदायिक विद्यालयमा भर्ना भए। भारतमा पढेकाले उनलाई सुरू सुरूमा नेपाली भाषा पढ्न गाह्रो भयो। उनी दाइले सञ्चालन गरेको होटलमा काम गर्दै पढ्न थाले।
उनी सुर्खेतमा पढ्दै गर्दा बिहान, बेलुका होटलका अधिकांश काम गर्थे। होटल सानो थियो। भनेजस्तो कामदार पाइन्थेन। उनीसहित दाजु, भाउजू र साइँला भाइले नै होटल सम्हालेका थिए। दाइले समग्र व्यापार हेर्थे, आन्तरिक व्यवस्थापन तर्क र अरू सदस्यले गर्थे।
तर्कका दाजुभाइले लामो समय संयुक्त रूपमा होटल व्यवसाय गरे। विद्यालयबाहेकको समय होटलमा काम गर्दा तर्कले धेरै सिक्ने मौका पाए। केही समयपछि उनका जेठा दाइले फरक व्यवसाय सुरू गरे। होटलको नेतृत्व तर्क आफैंले गर्नुपर्ने भयो।
२०५९ सालमा जब उनले जेसिसका प्रतिनिधिलाई खाजा-खाना खुवाएर नाफा कमाए, उनको मनोबल बढ्यो।
सुर्खेतमा होटल व्यवसायको सम्भावना राम्रो छ र यसमा गरेको लगानी खेर जाँदैन भन्ने उनलाई लाग्यो।
उनले दाइकै स्वामित्वको होटलमा सुविधा थप्ने निधो गरे।
'मैले दाइसँग सल्लाह गरेर हलको सुविधा दिन मिल्ने खालको घरमा होटल सार्ने कुरा गरेँ। मैले लिन खोजेको घर त्यो समयको एक मात्र ठूलो होटलले लिन खोजेको रहेछ,' तर्कले भने, 'तत्कालीन सशस्त्र द्वन्द्वको प्रभावले त्यो होटल पुरानो ठाउँबाट त्यहाँ सर्न खोजेको रहेछ। उसले त्यो घरलाई १६ हजार मासिक भाडा बुझाउने गरी सम्झौता गरेको थियो। मैले घर मालिकलाई भेटेर २४ हजार मासिक भाडा दिने र एक लाख रूपैयाँ पेस्की दिने सम्झौता गरेँ।'
उनका अनुसार त्यो घरमा हल बनाउन मिल्ने जग्गा र अट्याच बाथरूमसहितका कोठा थिए। घर भाडामा लिएपछि उनले दुइटा कोठामा एसी जोडे। घर पछाडिको जग्गामा जस्ता र कार्पेट थपे र भुइँमा चकटी ओछ्याएर बस्न मिल्ने हलको व्यवस्थापन गरे।
लगानी प्रतिस्पर्धामा अर्का व्यवसायीलाई उछिनेका तर्कलाई त्यसले कुनै पछुतो भएन।
सशस्त्र द्वन्द्वका कारण बैंक तथा वित्तीय संस्थाले समेत व्यवसायमा गरिने लगानी असुरक्षित ठान्ने त्यो समय तर्कले सरसापट गरेर भए पनि पञ्चकोशीलाई सुर्खेतकै सबभन्दा चल्ने होटल बनाए।
'हाम्रो हलमा कार्यक्रम गर्न आयोजकले पालो कुर्नुपर्थ्यो। कहिलेकाहीँ त दिनमै चारवटासम्म कार्यक्रम चल्थे,' उनले भने, 'सुर्खेतमा भएका गैरसरकारी संस्थाजति जम्मै मेरै होटलमा आउन थाले।'
बिस्तारै उनलाई होटल चलाउन त्यो घर पनि सानो लाग्न थाल्यो। अझै लगानी बढाउने हुटहुटी जाग्न थाल्यो।
२०६५ सालको कुरा हो। सुर्खेतमा त्यो समयको ठूलोमध्येकै एउटा घर खाली हुँदै थियो। उनले आफैं गएर घर हेरे र दाइलाई लगानी गर्न प्रस्ताव राखे। सुरूमा त दाइले त्यति इच्छा गरेनन्। बुझ्दै गएपछि लगानी गर्न तयार भए।
तर्कले त्यो घर मालिकसँग मासिक ६४ हजार रूपैयाँ भाडा तिर्ने गरी होटल चलाउन सम्झौता गरे। सम्भवतः सुर्खेत जिल्लामा घरको त्यति धेरै भाडा तिर्ने उनी पहिलो व्यवसायी थिए।
जब उनीहरूले त्यो घरमा होटल सारे, पञ्चकोशी त्यो समय सुर्खेतकै ठूलो होटलमा दर्ज भयो।
यसबीच तर्कका चार दाजुभाइले आ-आफ्नो तरिकाले अघि बढ्ने निधो गरे। एक किसिमले पारिवारिक खटपट भयो। होटलमा ठूलो लगानी गरेकै साल अब 'सगोलमा नभएर अलग अलग व्यवसाय चलाउने' सल्लाह परिवारबीच भयो। सुर्खेतकै ठूलो होटलमा गनिएको 'पञ्चकोशी' साइँलो र कान्छो भाइको भागमा पर्यो।
उनीहरूले सगोलमै व्यवसाय गर्दा बीच बजारको होटल 'भ्याली भ्यू' साढे पाँच लाख रूपैयाँमा किनेका थिए। त्यसलाई सुरूमा उनका साइँला र कान्छा भाइले चलाए। पछि पारिवारिक सल्लाहअनुरूप भ्याली भ्यू तर्कको भागमा पर्यो। उनका जेठा दाजुको पनि आफ्नै व्यवसाय छँदै थियो।
'त्यति ठूलो होटल चलाएको मान्छेलाई सानो लगानीको, थोरै पूर्वाधार भएको होटल भाग परेपछि मेरो जाँगर हरायो, मलाई काम गर्न मन पनि लागेन,' उनले भने, 'दुई वर्षजति परिवारको खर्च चल्ने गरी मात्र होटल चलाएँ। म खासै होटलको काम गर्दिनँ थिएँ।'
दुई वर्ष यसैगरी बिताएपछि तर्कलाई व्यवसाय बढाउनुपर्छ भन्ने लाग्यो। तर उनीसँग लगानी गर्ने पैसा थिएन।
त्यति बेला सुर्खेतमा जग्गाको कारोबार बढ्दै थियो। मूल्य पनि दिनप्रतिदिन बढ्दै थियो। उनका एक जना नातेदारले ६ कट्ठा जग्गा बेच्न खोजेका थिए। त्यो कुरा तर्कले पनि सुनेका थिए। तर्कले त्यसलाई अवसरका रूपमा लिए। उनले ती नातेदारकहाँ गएर प्रतिकट्ठा ९० हजार रूपैयाँमा बैना गराए। पास गर्ने बेला पैसा दिने सहमति भयो।
यसबीच जग्गाको मूल्य एक्कासि बढ्यो। बैनामा उल्लेख गरिएको समय नसकिँदै अर्को मान्छेलाई प्रतिकट्ठा ३ लाख ६० हजारमा त्यो जग्गा बेचिदिए। यसले तर्कलाई चिठ्ठा परेजस्तो भयो। यो २०६७ सालको कुरा हो।
'मबाट जग्गा किन्ने मान्छेले कुरा मिल्नेबित्तिकै नगद दिए। मेरो हातमा २० लाख रूपैयाँभन्दा बढी पर्यो। त्यो मेरो लागि ठूलो रकम थियो। त्यति पैसा हातमा परेपछि मैले पहिलो फोन होटल भएको घरबेटीलाई गरेँ,' तर्कले आफ्नो व्यक्तिगत लगानीको सुरूआती दिनबारे हामीलाई सुनाए।
उनले फोनमा घरबेटीलाई भने, 'म होटल बढाउँदै छु, तपाईं कि घर बढाइदिनुस्, कि मलाई बेच्नुस्।'
काठमाडौं बसिरहेका घरबेटीले त्यसै वर्ष दसैंमा आएर घरको तला थप्न सुरू गरिदिए। घरबेटीले आफूले खर्च गर्ने गरी तर्कलाई नै तला थप्न जिम्मा दिए। यसले सुर्खेतका सुविधासम्पन्न ठूला होटलमध्ये भ्याली भ्यू पनि पर्यो।
'होटल बढाएकै वर्ष घरबेटीकी छोरीको विवाहमा मैले हजार जनालाई खाना खुवाएँ। त्यसबाट मलाई ६-७ महिना ढुक्क हुने गरी नाफा भयो,' तर्कले भने, 'त्यसपछि बदलिँदो समयअनुसार होटलमा माग हुने सुविधा थप्न पेस्की दिँदै सामान ल्याउँदै गरेँ।'
जब भ्याली भ्यू होटलको व्यवस्थापन राम्रो बन्यो, ग्राहकहरू पहिले नै फोनमा बुकिङ गरेर आउन थाले। विभिन्न संस्थाले आफ्नो कार्यक्रम गर्न थाले। होटललाई भ्याइनभ्याई भयो। प्रतिस्पर्धा धेरै नहुँदा भ्याली भ्यूमा दैनिक ४-५ लाख रूपैयाँसम्म कारोबार हुने गरेको उनले सुनाए।
उनी २०७४ सालमा होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष बने। केही समयपछि प्रदेश अध्यक्ष पनि भए।
त्यसै क्रममा उनले सुर्खेतबाहिर पनि होटल स्थापना गर्ने योजना बनाए। उनले सबै होटल व्यवसायीलाई बोलाएर यसबारे सुझाव मागे। सबैले सकारात्मक प्रतिक्रिया दिए।
त्यसपछि वीरेन्द्रनगरभन्दा १५ किलोमिटर माथिको डाँडामा एक बिघा जग्गा लिएर होटल 'स्टे भ्याली भ्यू' स्थापनाको काममा उनी अघि बढे।
२०७६ सालमा सानो संरचनामा थोरै कोठा बनाएर स्टे भ्याली भ्यू स्थापना भयो। अहिले यसमा २१ करोड रूपैयाँ लगानी छ। ३४ वटा कोठा छन्। तीनतारे होटलको सेवा-सुविधा दिन थालिएको छ।
'स्टे भ्याली भ्यू स्थापना गर्न खोज्दा वित्तीय संस्था तथा बैंकहरूले लगानी गर्न मानेका थिएनन्। उनीहरूले त्यस्तो डाँडामा कसरी लगानी उठाउन सकिन्छ भनेर उल्टै प्रश्न गर्थे,' उनले भने, 'मैले थुप्रै बैंकमा गएर त्यहाँ लगानी गर्नु उचित छ भनेर सम्झाएँ, केही बैंकलाई चुनौती पनि दिएँ।'
उनका अनुसार बिस्तारै सुर्खेतमा भएका धेरै बैंकहरू लगानी गर्न इच्छुक भए। त्यति बेला त्यहाँको जग्गालाई धितोका रूपमा नमान्ने बैंकहरू अहिले आफैं आएर लगानी गर्ने चाहना राखिरहेको उनी बताउँछन्।
पोखराको लेकसाइडजस्तै भूगोल भएको स्थानमा तर्कले गरेको लगानीको प्रतिफल भने आइसकेको छैन।
'अहिले म लगानीकै क्रममा छु, त्यसले एकदिन प्रतिफल दिन्छ भन्नेमा ढुक्क छु,' उनले भने।
अहिले तीनतारे होटल बराबर सुविधा दिइरहेको स्टे भ्याली भ्यूबाट संरचना थपेर चारतारे सुविधा दिने योजना रहेको उनले सुनाए।
यी दुइटा मात्र होइन, अहिले तर्क भ्याली भ्यूकै नाममा 'चेन होटल' खोल्ने धुनमा छन्। स्टे भ्याली भ्यू सञ्चालन हुँदाहुँदै जुम्लामा भ्याली भ्यूकै अर्को शाखा खोलिएको छ। त्यहाँ लिलाममा गएको जग्गा किनेर होटल संरचना बनाउन लागिएको छ। यसअघि सुरू भएको काम बीचमा कोभिड लगायत समस्याले रोकिएको थियो। अहिले जुम्ला बजारमै घर भाडामा लिएर होटल सञ्चालन गरिरहेको उनले बताए।
उनले रारामा पनि भ्याली भ्यूको अर्को शाखा खोल्ने लक्ष्य राखेका छन्। यसका लागि लगानी जुटाउने काम भइरहेको उनले बताए।
तर्कले यति धेरै लगानी गर्दा बैंकको ऋणबाहेक अरू अचल सम्पत्ति बेच्नुपरेको छ। उनले स्टे भ्याली भ्यू स्थापना गर्दा लगानी जुटाउन नसकेर वीरेन्द्रनगर उपत्यकाको १६ कट्ठा जग्गा बेचेका थिए। होटल व्यवसायबाटै कमाएर किनेको बजारको घर पनि बेचेका छन्।
'मैले धेरै सम्पत्ति बेचेर, केही कमाइ र केही ऋण थपेर होटलमा लगानी बढाइरहेको छु,' उनले भने, 'मैले संघर्ष गरेको क्षेत्रमै लगानी गर्न पाउँदा खुसी पनि छु। यहीँबाट म स्थापित भएकाले अहिलेको लगानीलाई म सम्पत्तिभन्दा सन्ततिका रूपमा लिन्छु।'
आफू कर्णालीकै बासिन्दा भएको र यहीँबाट व्यवसायमा सफल भएकाले कर्णालीमै लगानी गरिरहेको उनले बताए।
'यति धेरै लगानी गरेर पर्यटकको घुइँचो हुने पोखरा, काठमाडौंजस्ता ठाउँमै होटल सञ्चालन गर्न सक्थेँ, तर म कर्णालीमा लगानी गरेर यहीँ पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्छ भनेर लागेको छु,' तर्कले भने, 'यहाँ मैले मात्र होइन, सबै होटल व्यवसायीले लगानी बढाउन आवश्यक देख्छु।'
उनी कर्णालीका होटल व्यवसायीलाई हाल सञ्चालन भइरहेका आफ्ना होटलमा लगानी बढाउन सुझाव दिन्छन्। कर्णालीमा आउने ग्राहकलाई आधुनिक सुविधासहितको होटल सेवा प्रदान गर्न सबै व्यवसायी लाग्नुपर्ने उनको भनाइ छ।