नेपाल पर्यटन बोर्डले २५ महिला गाइडहरूलाई 'रेस्क्यू' सम्बन्धी तालिम प्रदान गरेको छ।
सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै बोर्डले पासाङ ल्हामु
पर्वतारोहण प्रतिष्ठानसँगको सहकार्यमा सात दिने रेस्क्यू तालिम प्रदान गरेको हो। तालिम यही चैत ७ गतेदेखि १३ गतेसम्म दिइएको हो।
माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको थियो।
नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको यस तालिम काठमाडौंको जगडोल जंगलमा गराइएको थियो।
उद्धारसम्बन्धी व्यहारिक तालिम आवश्यक रहेको हुँदा नेपाल पर्यटन बोर्डले यस तालिमको आयोजना गरेको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए।
उनका अनुसार पर्यटन जनशक्ति सुदृढ बनाउन बोर्डले रेस्क्यू, बारिस्ता, मौलिक बाजाहरूको प्रशिक्षण, पर्यटनमैत्री व्यवस्थापनका लागि तालिमको आयोजना गरिरहेको छ।
सरकारले राखेको पर्यटन दशक सन् २०२३–२०३३ को उद्देश्य पूरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने उनले बताए।
तालिमका क्रममा भीर र खोँचमा फसेका, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रूपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्याउन सक्ने गरी तालिममा अभ्यास गराइएको थियो।