मोटरबोट सेवा प्रदायक कम्पनी 'बोटेबोरा'ले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ।
एक करोड ८ लाख रूपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरू गरेको कम्पनीले आगामी वैशाखमा उद्घाटन गर्ने तयारी गरेको छ।
खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए।
वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।
कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगञ्ज महानगरलाई वार्षिक २५ लाख रूपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।
पर्यटकले मोटरबोट चड्न २५० रूपैयाँ तिर्नुपर्छ। बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दूरी सयर गर्न सक्नेछन्।
सोही पार्कमा जेट-स्की, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने कम्पनीको योजना छ।
यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालको भनाइ छ।