नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ।
पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताए। साथै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे।
पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरूप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसँग सहकार्य गररै अघि बढ्ने बताए।
'केही नीतिगत कुराहरू रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ। रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन्। अब यी सबै काम छिट्टै टुङ्गिन्छन,' उनले भने।
मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यकता रहेको बताए।
उनले सबैले आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए।
बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानुन र सोही अनुरूपको सहकार्य आवश्यक भएको बताए।
बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एरले नेपालको अवधारणा, भइरहेका गतिविधि तथा भावी कार्यक्रमबारे जानकारी दिँदै विदेशका कार्यक्रम गर्नका लागि कार्यविधि नहुँदा आयोजना गरिने धेरै कार्यक्रम प्रभावित भएको भन्दै सहजीकरण गरिदिन आग्रह गरे।