पछिल्लो समय पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ।
ट्रेकिङ, माउन्टेनियरिङ, रिभर गाइड, हस्पिटालिटी, एयरलाइन्स हुँदै अन्य एडभेन्चरमा महिलाको सहभागिता बढेको सम्बन्धित निकायहरूले बताएका छन्।
यी विभिन्न क्षेत्रलाई लिएर हेर्ने हो भने करिब २० प्रतिशत महिलाको सहभागिता पर्यटनमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बिहीबार बोर्डमा आयोजित परामर्श कार्याशालामा बोल्दै सम्बन्धित संघ संस्थाहरूका अधिकारीहरूले यस्तो बताएका हुन्। अन्तर्रााष्ट्रिय महिला दिवसको अवसरलाई मध्यनजर गर्दै बिहीबार बोर्डमा 'पर्यटनमा महिला सहभागिता: अवस्था, चुनौती र सम्भावना' विषयमा परामर्श कार्याशाला गरिएको थियो।
उक्त कार्यशालामा विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो। कार्यशालामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)का विज्ञ धर्म दवाडीले कोभिडपछि हालसम्म पर्यटन क्षेत्रमा गरेका कामहरूका बारेमा बताए।
नेपाल पर्यटन बोर्ड र युएनडिपीले पर्यटन क्षेत्रको पुनरूत्थानका लागि 'जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन' नामको परियोजना ल्याएको थियो।
परियोजनाले सहरसँगै विभिन्न ग्रामीण वस्तीका महिलाहरूलाई पर्यटन क्षेत्रमा ल्याउन विभिन्न तालिम सञ्चालन गरेको थियो। यस अवधिमा विभिन्न जिल्लाका नौ हजार सात जनाले तालिम लिएको दवाडीले बताए। दवाडीका अनुसार तालिम लिनेहरूमा करिब दुई हजार पाँच सय जना महिलाहरू छन्।
'परियोजना सुरू हुँदै गर्दा महिलाको सहभागिता न्यून थियो। महिलालाई मात्र लक्षित गरिएको विभिन्न तालिममा संख्या पुर्याउन गाह्रो थियो,' उनले भने, 'तर अहिले जुनसुकै तालिममा पनि महिलाहरू सक्रिय भएर आउनुहुन्छ।'
उनका अनुसार पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि परियोजनाले रिभर गाइड तालिम दिएको थियो। जसमा सिन्धुपाल्चोकको भोटेकोशी र त्रिशुली नदीमा तालिम सञ्चालन गरिएको थियो। त्यस्तै ट्रेकिङमा महिलाको सहभागिता बढाउनका लागि विभिन्न चरण बनाएर तालिम सञ्चालन गरिएको थियो।
'महिलाहरूलाई जुन क्षेत्रमा इच्छा छ त्यही क्षेत्रमा हामीले तालिम दिएका थियौं,' उनले थप भने, 'तालिम लिनेहरूमध्ये धेरैजना अहिले स्वरोजगार भइसक्नु भएको छ। कतिपय यहाँको सीपले विदेशका नदीमा र्याफटिङ गाइड बनेर जानुभएको छ।'
दवाडीका अनुसार परियोजनाले दिएको तालिम लिएर लाइन्सेस पाएका करिब तीन सय महिला अहिले ट्रेकिङ गाइड बनिसकेका छन्। त्यस्तै साढे दुई सयजना होमस्टेतिर लागेका छन्।
परियोजनाले लौङ्गिक तथा अल्पसंख्यक समुदायका महिलाहरूलाई पनि तालिम दिएको थियो। सोही समुदायका विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा सहज बनाउने उद्देश्यले उक्त समुदायलाई पनि समेटेको दवाडी बताउँछन्।
तालिमपछि लाइसेन्स लिएका महिलाहरूले पनि नि:शुल्क यस्तो अवसर दिएको र रोजगारीको बाटोसम्म पुर्याएकोमा परियोजनालाई धन्यवाद व्यक्त गरे।
साथै उपस्थित कतिपयले यस्ता कार्यक्रमहरू गरिरहनु बताए। उनीहरूले आगामी दिनमा हस्पिटालिटी र माउन्टेनियरिङ गाइडका लागि तालिम माग गरेका छन्।