महाशिवरात्रिको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी 'ट्रीप टू टेम्पल्स'सँगको समन्वयमा नेपालगञ्जबाट डेढ सय भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो।
ट्राभल कम्पनीद्वारा श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो।
माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ।
कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रूटबाट मानसरोवर पुग्ने गरेका थिए।
कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रूट सुनसान बनेको छ जसको सिधा असर सो रूटको पर्यटन व्यवसायमा परेको छ।
यस अघि बाँकेको रूपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एक रात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्स सम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे।
मानसरोवरको रूटको चहलपहल कम भएपछि नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा उक्त कम्पनीले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरेको हो।
कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए।
माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगञ्ज आएर होटल सिद्धार्थमा बसेका थिए। उनीहरूलाई श्री एयरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो।
यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एयरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरूवात गरेको थियो।
भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश-मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।