भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मी याममा नेपाल आउने भारतीय पर्यटकहरूको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आँकलन गरेका छन्।
भारतीय र नेपाली पर्यटन व्यवसायीहरूबीच लखनउमा भएको एक वृहत नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा यस्तो आँकलन गरिएको हो।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ।
जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी भारतीय पर्यकटकहरूलाई नेपाल भित्र्याउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीहरूको उपस्थिती रहेको थियो।
टुर अपरेटरहरूलाई स्वागत गर्दै संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको जानकारी गराए।
साथै आगामी सिजनमा भारतीय पर्यटकहरूलाई नेपाल घुम्न निम्तो दिए। अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको साथै यसका लागि पर्याप्त संरचनाहरू तयारी अवस्थामा रहेको पनि बताए।
उनले पर्यटकलाई नेपालका मौलिक खानाहरू खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने जानकारी दिए।
अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरूलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका बारेमा चर्चा गर्दै उपस्थित सहभागीहरूलाई पुस्तक वितरण गरे।
कार्यक्रममा भारतीय पर्यटन व्यवसायीहरूको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन युपीका अध्यक्षहरूले दुई देशीय पर्यटन प्रवर्द्धनात्मक यस कार्यक्रमको अझ बढी महत्व रहेको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए।
छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकहरूलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकहरूले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरे।
साथै भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरहरूबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको बताए।
यस सम्बन्धमा दुवै देशका सरकारहरूलाई आफ्नो क्षेत्रबाट सहजिकरण गर्न आग्रह गरेका छन्।