सरकारले सगरमाथा आरोहीहरूका लागि 'इलेक्ट्रोनिक चिप' अनिवार्य गरेको छ। पर्यटन विभागले यही सिजनबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरेको हो।
आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूकाे खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको विभागका प्रवक्ता राकेश गुरूङले जानकारी दिए।
गुरुङका अनुसार पर्वतारोहीका लागि यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ। यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ।
चिप 'पेन ड्राइभ' आकारको हुनेछ। यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ,' उनले भने, 'सगरमाथा चढेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ। त्यही चिप अर्को सिजनलाई काम लाग्छ।'
उनकाअनुसार आरोहणमा चिप लगाउने यो व्यवस्था विगतमा पनि छलफल चलेको थियो। यसपालिबाट अनिवार्य गरिएको हो। आरोहीको सुरक्षाका लागि पनि इलेक्ट्रोनिक चिप अन्य हिमालहरूमा विस्तारै अनिवार्य गरिँदै जाने उनले बताए।