होटल संघ नेपालले सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।
यही फागुन २० देखि २३ (मार्च ३ देखि ६)सम्म हुने कार्यक्रममा काठमाडौं लगायतका देशभरबाट ७० भन्दा बढी सदस्य होटलहरूले भाग लिने छन्।
नेपालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि परम्पराअनुसार जानकी मन्दिरमा पूजा अर्चना र आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित अयोध्या राम मन्दिरमा चढाइनेछ।
यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौंदेखि रही आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई भारतबाट धार्मिक पर्यटकहरू नेपाल भित्र्याउन मद्दत पुग्ने पनि संघले जनाएको छ।
लखनउमा हुने बिटुबी कार्यक्रममा स्थानीय तथा कानपुर र गोरखपुरका सय जनाभन्दा बढी प्रतिष्ठित टुर अपरेटरका साथै स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहने छ।
सोही अवसरमा आयोजना हुने नेपाल साँझ कार्यक्रममा बर्दिया, नेपालगञ्ज, लुम्बिनी, वीरगञ्ज, विराटनगर, पोखरा, चितवन र काठमाडौंका साथै मुलुकका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतिकरण रहने संघले जनाएको छ।
आउँदो गर्मी बिदामा धेरैभन्दा धेरै परिवारसहितको भारतीय पर्यटकहरूलाई नेपाल घुम्न आकर्षित गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ।
सोही कार्यको प्रचारप्रसारका लागि संघले हिन्दी भाषामा आकर्षक पर्यटन परिचय पुस्तिका पनि प्रकाशित गरी वितरण गर्ने जनाएको छ।
भारतको अयोध्यालाई आध्यात्मिक केन्द्रको रूपमा विकास गरिरहेको परिप्रेक्ष्यमा करोडौं पर्यटकहरू उक्त स्थानमा आउने हुँदा नेपाल सीमाभन्दा २ सय किलोमिटर आसपास मात्र टाढा भएको उक्त स्थानबाट केही प्रतिशत मात्र पर्यटक नेपाल आकर्षित गराउन सके पर्यटन उद्योगमा टेवा पुग्ने लक्ष्य राखिएको छ।
यस कार्यक्रमलाई संघको वार्षिक क्यालेन्डरमा राखी प्रचारप्रसारका कार्यक्रम तय गरिने संघको विज्ञप्तिमा उल्लेख छ।