जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामको पुस्तक (गाइडबुक)तयार पारिएको छ।
जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौ संस्करणको अवसरमा उक्त पुस्तकको विमोचन गरिएको हो।
पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसँगै यस आसपासका अन्य पर्यटकीयस्थलहरूको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ।
उक्त पुस्तकमा जनकपुरधामको समग्र परिचय, एतिहासिक तथा धार्मिक महत्व, जनकपुर वरिपरिका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिनुका साथै मिथिला कला तथा खानाको बारेमा समेत उल्लेख गरिएको छ।
बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा सञ्चालित जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)को पहल तथा जनकपुर उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, होटल संघ नेपाल (हान) मधेश प्रदेश, नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्रभल एजेन्टस् (नाटा) मधेश प्रदेशको समन्वय तथा सहकार्यमा सो गाइडबुक तयार पारिएको हो।
विमोचन कार्यक्रममा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जनकपुर अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल भएको बताउँदै भनिन्, 'पछिल्लो समय भारतको अयोध्यामा राम मन्दिर निर्माणसँगै जनकपुरको महत्व थप विस्तार हुँदै गएको सन्दर्भमा गाइडबुकको प्रकाशनले जनकपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ।'
परियोजनाले क्रमशः नेपाली, मैथिली र हिन्दी गरी थप तीन भाषामा पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।
जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहले पुस्तकले जनकपुरको समग्र परिचयलाई एकै ठाउँमा समेटेको र यसले जनकपुरलाई बुझ्न चाहनेलाई तथ सहयोग पुग्ने बताए।
परियोजनाले जनकपुर उपमहानगरपालिकासँगको सहकार्यमा जनकपुरमा यसअघि अल्पकालीन रोजगारीको काम तथा फोहोर व्यवस्थापन, साइनेज जडान लगायतका कार्य सम्पन्न गरेका थियो।
जस अन्तर्गत जनकपुरको नोचा पोखरी पुनः निर्माण, जनकपुर मन्दिर परिसर, विमानस्थल लगायतका विभिन्न स्थानहरूमा सरसफाई जस्ता कार्यक्रम गरिएको थियो।
कोभिड-१९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको थियो।