भारतको दिल्लीमा हुन लागेको साउथ एसियन ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मेलामा नेपालले सहभागिता जनाउने भएको छ।
लामो समयदेखि नेपाल पर्यटन बाेर्डको नेतृत्वमा पर्यटन व्यवसायीहरू मेलामा पुग्ने गरेका थिए। तर यसपालि पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा मेलामा पुगेका छन्।
बिहीबार(भोलि) देखि तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आवद्ध ट्रेकिङ कम्पनीसहित विभिन्न होटल, ट्राभल लगायत २८ कम्पनीले सहभागिता जनाउने छन्।
यस वर्ष पर्यटन बाेर्डको आन्तरिक कारणले विश्वका विभिन्न मुलुकमा भएका पर्यटन मेलामा उपस्थिति जनाउन सकेको छैन। यसका बाबजुत नेपालको पर्यटनको मुख्य बजार भारतमा भइरहेका विश्वकै ठूलोमध्ये एक मानिने साट्टेमा नेपालको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेतृत्वसहित दिल्ली पुगेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले बताए।
टानकै नेतृत्वमा गत साता भारतको मुम्बईमा भएको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम)मेलामा पनि नेपालले सहभागिता जनाएको थियो। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आवद्ध छन्।