खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा काठमाडौंमा 'मुन्दुम' अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन हुने भएको छ।
यहि फागुन ५ गतेदेखि १७ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा चित्रकला प्रदर्शन गर्न लागिएको हो।
चित्रकला प्रदर्शनी कार्यक्रम फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन्। यो कार्यक्रममा ग्रिस, अस्ट्रेलिया, बंगलादेश, बेलारूस लगायत विभिन्न ४८ मुलुकका चित्रकारले तयार गरेका चित्रकला प्रदर्शन गरिनेछ।
त्यस्तै खोटाङ जिल्लाका राई, तामाङ, शेर्पा, गुरूङ, मगर, नेवार तथा ब्राम्हण, क्षेत्री लगायत जातजाति विशेष सांस्कृतिक महत्वको झाँकी समेत प्रस्तुत गरिनेछ। चित्रकारलाई सम्मान गरिने कार्यक्रम पनि छ।
प्रदर्शनीमा राखिएका चित्रहरू नगरपालिकाले संग्रहालय बनाएर राख्ने जनाएको छ।
यसअघि नगरपालिकाले जिल्लाको सदरमुकाम दिक्तेलमा बंगलादेश, अस्ट्रेलिया, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका चित्रकारहरू समेत बोलाएर मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला २०८० सञ्चालन गरेको थियो।
उक्त कार्यशालाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, जीवनशैली तथा रहनसहन झल्किने गरी चित्रकला तयार गरिएको छ। यो कार्यशालाबाट तयार गरिएका करिब १७० तथा अन्य विभिन्न क्यानभासको प्रदर्शनी काठमाडौंमा गरिने भएको हो।
नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मुन्दुम चित्रकलाले समग्र खोटाङ जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउने तथा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
यो कार्यक्रम विद्यार्थी तथा चित्रकलामा रूचि राख्नेहरूका लागि थप आकर्षित बनाउने उद्देश्यले आयोजना गरिएको उनको भनाइ छ।
खोटाङ जिल्लाले प्रचुर पर्यटकीय संभावना बोकेको छ। जिल्लाका दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, वेसीका साथसाथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नगरपालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम तथा प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको हो। रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा रहेको नगरपालिका हो। यो पालिकामा १५ वटा वडा छन्। यो नगरपालिका सामुद्रिक सतहबाट ७०० देखि २८०० मिटरसम्मको उचाइमा छ।
यस नगरपालिकाभित्र मझुवागढी, देविस्थान, कालिका भगवती, रुपाकोट, भुलभुले, महुरेगढी, साप्सुढाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन्।
खोटाङ जिल्लामा हलेसी महादेव मन्दिर, लामिडाँडा, लगायत थुप्रै पर्यटकीय स्थल छन्।
किराती संस्कृतिबाट चित्रकलाको नाम मुन्दुम राखिएको नगरपालिकाले जनाएको छ। मुन्दुम किरातीहरूमा प्रचलित मौखिक ज्ञान हो। यो किराती धामीहरूको मन्त्र हो। मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुने हुँदा यसलाई सामाजिक संविधान पनि भन्न सकिने नगर प्रमुख भट्टराई बताउँछन्।
'मुन्दुम समग्र किरातहरूको आस्था एवम् विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत र आधार पनि हो,' उनले भने।