होटल संघ नेपालले फागुन २० देखि २३ सम्म (मार्च ३ देखि ६)सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ।
भारतीय पर्यटकको आगमन बढाउन तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि संघले तीनसम्म प्रवर्द्धनको कार्यक्रम गर्न लागेको हो।
भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा पश्चात विश्वको ध्यान त्यसतर्फ आकृष्ट भएको र यसबाट नेपालको खासगरी जनकपुर लगायत नेपालका अन्य हिन्दू पीठहरूको समेत अयोध्यासँग सानिध्यता कायम गरी वृहत प्रवर्द्धन र प्रचारप्रसार गरी बढीभन्दा बढी भारतीय पर्यटक नेपाल भित्र्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको संघले जनाएको छ।
कार्यक्रममा भारतीय टूर अपरेटर तथा विशिष्ट व्यक्तित्वहरूका लागि धार्मिक महत्त्वका पशुपतिनाथ, मुक्तिनाथ, डोलेश्वर महादेव, हलेसी महादेवलगायत मन्दिर र पिठहरूबाट संकलित पवित्र जल प्रसादको अभिषेकले स्वागत गरिनेछ। साथै रुद्राक्षको मालासहितको अभिनन्दन र पशुपतिनाथको चन्दन तथा जनकपुरको प्रसाद वितरण गरिने संघले बताएको छ।
प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि होटल तथा पर्यटन व्यवसायीसहितको समूहले राम मन्दिरमा पूजा गर्नेछन्। जसले सीताको जन्मभूमी जनकपुर र अयोध्याको सदियौंदेखि रही आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
आगामी पर्यटकीय सिजनमा भारतीय पर्यटकहरूलाई विभिन्न धार्मिक पीठहरू र पर्यटकीय गन्तव्यहरूमा आकर्षित गर्ने उद्देश्यले सीमावर्ती भारतीय सहरहरू लगायत त्यस क्षेत्रका अन्य प्रतिष्ठित टुर अपरेटरहरूसँग लखनउमा बिटुबी तथा नेपाल प्रवर्द्धनका कार्यक्रम हुनेछन्।
साथै नेपाल प्रवर्द्धनमा साँझ भारतीय पर्यटक आकर्षित गर्ने प्याकेजसहितको कार्यक्रम पश्चात नेपाली रैथाने परिकार सहितको रात्रीभोज गरिनेछ।
यस कार्यक्रमबाट पोखराले गर्दै आएको 'चलिए पोखरा' र सौराहा चितवनले गर्दै आएको 'घुमौं सौराहा' जस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई समेत टेवा पुग्ने संघको विश्वास छ।