यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस)को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ।
नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले बताए। यो अफर फागुन ८(फेब्रुअरी २०) सम्म रहनेछ।
आधा घन्टा उडानको नेपाली पर्यटकले नौ हजार ५०० सय रूपैयाँ प्रति व्यक्ति तिर्नुपर्छ।
जसमा अहिले १४ प्रतिशत छुट पाउँदा नौ हजार १७० रूपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए। छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ। यो अफर फागुन ८(फेब्रुअरी २०) सम्म रहनेछ।
तातो हावाले भरिएको बेलुनमा बसेर मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन।
जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृंखला हेर्न सकिन्छ। यस्तै फिसटेल, अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ।
बेलुन आकारमा देखिने यसको 'इनेभेलप' भित्र पङ्खाले हावा भरिन्छ।
बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ। तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन्। २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ। बास्केटमा आठ जनाले एकै पटक यात्रा गर्न सक्छन्।
बेलुनमा उड्नका लागि सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको।
दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ।
उचाइको उडान हुने भएकोले पन्जा र टोपी सहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ। हिल भएको जुत्ता चप्पलभन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ। टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ।