नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुइटा न्यारोबडी जहाज वेट लिजमा लिन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
निगमले मंगलबार सार्वजनिक खरिद ऐन, नियमबमोजिम अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। निगमसँग अहिले वाइडबडी र दुइटा न्यारोबडी जहाज छन्। जसमध्ये एउटा न्यारोबडी गत मंसिर १४ गतेदेखि ग्राउन्डेड छ।
वाइडबडी जहाज जापान, सिड्नी र कोरिया लगायत उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा हाल भएका न्यारोबडी जहाजले उडान चाप धान्न नसकेकाले जहाज थप्न लागेको बताएको छ।
जहाज थपेर दिल्ली, दुबई, दोहा, मलेसिया लगायत क्षेत्रमा उडान थप गरी भैरहवामा समेत उडान गर्ने योजना रहेको जनाएको छ।
निगमले १० वर्षे व्यवसायिक योजनाअनुसार बजार विस्तार गर्नका लागि जहाज थप्न लागेको प्रवक्ता रमेश पौडेलले बताए। उनका अनुसार यी जहाजहरू आगामी जुलाई २०२४ सम्म निगमको उडानमा आइसक्ने छन्।